राष्ट्रपति पौडेल आज साँझ जेनेभा जाँदै

Share this news:

जेठ २९, २०८१ । राष्ट्रपति रामचन्द्र पौडेल आज (मंगलबार) साँझ स्वीटजरल्याण्डको जेनेभा जाँदैछन् । अन्तर्राष्ट्रिय श्रम संगठनको ११२औँ उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ (ग्लोबल कोलिसन फर सोशल जस्टिस)मा सहभागी हुन उनी त्यसतर्फ जान लागेका हुन् । राष्ट्रपति पौडेलले सो कार्यक्रममा मुख्य वक्ताकारुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

राष्ट्रपति पौडेलले आफू राष्ट्रपति भएपछि पहिलो पटक औपचारिक विदेश भ्रमण गर्न लागेका हुन् । राष्ट्रपति पौडेलसँगै प्रथम महिला सविता पौडेल पनि जेनेभा जानेछिन् भने त्यहाँ पौडेलसँग अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)का महानिर्देशक गिल्बर्ट एफ होग्ङबोले शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै, राष्ट्रपति पौडेलले जेठ ३० गते स्वीस महासंघका राष्ट्रपति भिओला आमहर्डसँग द्विपक्षीय वार्ता गर्ने सचिवालयले जनाएको छ । राष्ट्रपति पौडेल असार १ गते जेनेभाबाट रोयल डच एयरलान्सबाट जर्मनीको बर्लिन प्रस्थान गर्नेछन् । राष्ट्रपति पौडेलले संघीय गणतन्त्र जर्मनीका राष्ट्रपति फ्रैङ्क–वाल्टर स्टाईनमायेरको निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमण गर्न लागेका हुन् । उनले असार ३ गते जर्मनीमा समकक्षीसँग औपचारिक वार्ता गर्नेछन् ।

जर्मनीमा राष्ट्रपति पौडेलले पोष्टडाम इस्टिच्युट फोर क्लाइमेट इम्प्याक्ट रिसर्च इन्टिच्युट, जर्मन रिसर्च फर जीयो– साइन्स, टेलेग्राफफेनवर्ग क्याम्पसको अवलोकन गर्ने कार्यक्रम रहेको छ । साथै सेसिलीयानहोफ एण्ड स्यान्ससोसी प्यालेस गार्डेन र सेसिलीयानहोफ एण्ड स्यान्ससोसी प्यालेस म्युजियमको पनि अवलोकन गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति पौडेल भ्रमण सम्पन्न गरी असार ५ गते स्वदेश फर्किनेछन् ।

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *