काठमाडौं महानगरपालिका नीति तथा कार्यक्रम : विद्यार्थीलाई ‘पार्ट टाइम जब’

Share this news:

असार १, २०८१ । काठमाडौं महानगरपालिका विद्यार्थीका लागि पार्टी टाइम जागीर दिने सहितको घोषणा गरेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै महानगरले यस्तो घोषणा गरेको हो ।

शुक्रबार १५ औँ नगरसभामा महानगरपालिका प्रमुख बालेन शाहले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरे । जसमा निजी तथा सामुदायिक विद्यालयको छात्रवृत्तिलाई एकद्वार प्रणालीमा सञ्चालन गर्ने, पढ्दै कमाउँदै अवधारणा अनुसार विद्यार्थीलाई पार्ट टाइमको जागीरको व्यवस्था मिलाउने लगायतका विषय समेटिएको छ ।

काठमाडौं महानगरपालिकाले हाँडीगाँउ र वसन्तपुर क्षेत्रमा होमस्टे पनि सञ्चालन गर्ने भएको छ । स्थानमा होमस्टे सञ्चालनका लागि प्रोत्साहनसहित आवश्यक परामर्श गर्ने नीति लिएको बताए ।

हाँडीगाउँलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लाग आवश्यक परामर्श गर्ने नीति समेत महानगरले लिएको छ ।

विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ र स्वयम्भूनाथलाई महानगरकै मातहतमा सञ्चालन र व्यवस्थाका लागि सम्बन्धित निकायसँग आवश्यक छलफल र परामर्श गर्ने नीति लिएको पनि जनाइएको छ ।

इन्द्र जात्रा, सेतो मच्छिन्दनाथ जात्रा, पचली भैरव जात्रा तथा अन्य पर्व तथा स्थानीय परिकारलाई संरक्षण र सम्बद्र्धन गर्दै सम्भावना भएका थप कला संस्कृतिहरूलाई युनेस्कोमा सूचीकृत गर्न आवश्यक पहल गर्ने नीति लिइने घोषणा गरिएको छ ।

महानगरले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा महानगरभित्र धूम्रपान, मद्यपान र लागू औषध प्रयोगमा पूर्ण बन्देज लगाउने नीति लिने भएको छ ।

साथै खाद्य पदार्थको गुणस्तर र स्वच्छता कायम गर्न आवश्यक प्रबन्ध मिलाइने भनिएको छ । महानगरभित्र सञ्चालित स्वास्थ्य संस्थाको दर्ता प्रक्रियालाई सूचना प्रविधिमा आधारित बनाइने उनको भनाइ थियो । स्थानीय तहले प्रत्येक वर्ष असारभित्र १० गतेभित्र वार्षिक बजेट ल्याउनुपर्ने व्यवस्था छ ।

‘सांस्कृतिक सहर समृद्ध महानगर’को नारा काठमाडौं महानगरको सांस्कृतिक पहिचानलाई दिगो बनाउँदै जीवन्त सहरको रूपमा विकास गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

कम्तीमा २० जना व्यक्तिलाई प्रत्यक्ष रोजगारी दिने गरी नयाँ दर्ता हुने व्यवसायीलाई सुरुको ३ वर्ष व्यवसाय करमा शतप्रतिशत कर छुट दिने घोषणा पनि नीति तथा कार्यक्रममार्फत गरिएको छ ।

महानगर क्षेत्रका सहकारीका कारोबारलाई विद्युतीय प्रणालीमा आबद्ध गर्ने, सहकारी सूचना केन्द्र बनाएर सुशासनलाई प्रभावकारी बनाउने, विद्यार्थीको मानसिक तथा शारीरिक विकासका लागि खेलकुद अनिवार्य गर्ने, विद्यार्थीको क्षमता विकासका लागि शैक्षिक र भौतिक पूर्वाधार निर्माण गर्ने भनिएको छ ।

काठमाडौंलाई अन्तर्राष्ट्रिय शैक्षिक गन्तव्यका रूपमा विकास गरी विदेशी विद्यार्थी आकर्षित गरिने घोषणा छ ।

महानगरभित्र सञ्चालित स्वास्थ्य संस्थाको अनुगमन व्यवस्थित बनाइने, सहरी अति गरिबहरूका लागि एक घर एक रोजगारीको व्यवस्था गरिने, ज्येष्ठ नागरिकको ज्ञानलाई पुस्तान्तरण गर्न विशेष कार्यक्रम सञ्चालन गरिने उल्लेख छ । रैथाने सिपको राष्ट्रिय तथा अन्तर्राष्ट्रियता ब्राण्डिङ गरिने, टुकुचालाई खुला बग्न दिन विशेष परियोजना सञ्चालन गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

निर्माण सामग्रीको गुणस्तरको जाँचका लागि प्रयोगशाला बनाइने, सडक तथा फुटपाथ मर्मतका लागि पूर्वाधार एम्बुलेन्स सञ्चालन गरिने पनि नीति तथा कार्यक्रम सञ्चालन गरिने छ ।

वसन्तपुर गुरुयोजना तयार गर्ने, हाँडीलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्ने, जात्राहरूको संरक्षण गर्नेलगायत विषय पनि नीति तथा कार्यक्रममा उल्लेख छ । यो खबर मध्यान्हबाट लिएका हौ ।

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *