संसद राष्ट्र निर्माण गर्ने महत्वपूर्ण केन्द्र : सभामुख घिमिरे

Share this news:


असार १६, २०८१ । सभामुख देवराज घिमिरेले संसद राष्ट्र निर्माण गर्ने एउटा महत्वपूर्ण केन्द्र भएकाले कानून निर्माण गर्ने थलोको रुपमा मात्र बुझ्न नहुने बताएका छन् । आज काठमाडौंमा ६६ औं संसद दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले निर्माण भएका कानूनहरु किन प्रभावकारी रुपमा कार्यान्वयन हुन सकेन भन्ने कुरामा गम्भीर छलफल आवश्यक रहेको बताए । उनले संसदबाट नै सरकारलाई निर्देशित हुने भएकाले राष्ट्र निर्माण गर्ने एउटा महत्वपूर्ण केन्द्र रुपमा रहेको बताए ।

उनले भने, ‘छलफल गर्न धेरै उत्सुक छौं, चिन्तित छौं । तर हामीले गरेका निर्णयहरू कार्यान्वयन गर्न ध्यान दिइएको छैन् । ७२ सालको संविधानपछि बनेका कानूनहरु र कानूनको कार्यान्वयन कसरी भइरहेको छ । कानून कार्यान्वयन गर्ने सन्दर्भमा के समस्याहरु छन् । प्रभावकारी रुपमा कार्यान्वयन गर्न कसको भूमिका हुन्छ, के कुराको अभावमा हुन सकेन यस्तो कुरा पत्ता लगाउनमा हाम्रो कमजोरी छ । त्यसैले संसद एउटा कानुन निर्माण गर्ने थलो मात्र होइन, राष्ट्र निर्माण गर्ने एउटा महत्वपूर्ण केन्द्र हो । यसैबाट सरकारपनि निर्देशित हुन्छ । ’

उनले जनताको जीवनमा परिवर्तन ल्याउने जस्ता तमाम कामहरु गर्ने जिम्मा इतिहासले आफूहरूलाई दिएको बताए । संसदको गरिमा र इतिहासलाई कायम गर्न सकेमा संसद्का प्रयत्नलाई बिथोल्नका लागि आउने शक्तिहरू पराजित हुने उनको भनाई छ ।

सभामुख घिमिरेले ३५–३६ वर्षको संसदीय अभ्यासमा संसद्लाई प्रभावकारी बनाउने र विश्वव्यापी रुपबाट कूटनीतिक व्यवहार प्रयोग गरेर नेपाललाई अगाडि बढाउने जस्ता धेरै कुराहरु सिक्ने मौका पाएको बताए ।

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *