आइपीएलमा दिल्ली क्यापिटल्सविरुद्ध बेंग्लुरुलाई ४७ रनको जित

Share this news:

वैशाख ३१, २०८१ । इन्डियन प्रिमियर लिग आइपीएलमा रोयल च्यालेन्जर्स बेंग्लुरु विजयी भएको छ । आइतबार राति भएको खेलमा बेंग्लुरुले दिल्ली क्यापिटल्सलाई ४७ रनले पराजित गर्दै प्लेअफ होडमा आफूलाई कायमै राखेको हो ।
आइपीएलको यो सिजनमा सुरुआत खास नरहे पनि पछिल्लो समय लगातार पाँच खेलमा जित निकाल्दै बेंग्लुरु प्लेअफ होडको सम्भावनालाई जीवितै राखेको छ । पहिले खेल्दै बेंग्लुरुले २० ओभरमा ९ विकेट गुमाएर १८७ रन बनाएको थियो । जवाफमा दिल्ली १९.१ ओभरमा १४० रन बनाएर अलआउट भएको छ ।

१३ खेलमा डिसीको यो सातौं हार थियो र यसको प्लेअफको आशालाई ठूलो धक्का लागेको छ । तर, टोली अझै शीर्ष ४ को दौडबाट बाहिरिएको छैन। टस हारेर पहिले ब्याटिङ गरेको रोयल च्यालेन्जर्स बेंग्लुरुले राम्रो सुरुवात गर्न सकेन । कप्तान फाफ डु प्लेसिसले ७ बलमा ६ रन बनाएर तेस्रो ओभरमा नै मुकेश कुमारको शिकार बने ।

उनका ओपनिङ पार्टनर विराट कोहलीले आक्रामक मनोवृत्ति देखाए र आफ्नो २५० औं खेलमा तीब्र रन बनाउने प्रयास गर्दा चौथो ओभरमा टिमको ३६ रनको स्कोरमा आउट भए । कोहलीले १३ बलमा एक चौका र तीन छक्का सहित २७ रन बनाए ।

रजत पाटीदार र विल ज्याक मिलेर स्कोरलाई १०० भन्दा माथि पुर्याए । तेस्रो विकेटका लागि ८८ रन जोडे । पाटीदारले १३ औं ओभरमा आउट हुनुअघि २९ बलमा अर्धशतक र ३२ बलमा ५२ रन बनाएका थिए । ज्याक पनि २९ बलमा ४१ रन बनाएर १५ औं ओभरमा पभेलियन फर्किए । योसँगै बेंग्लुरुले १७ औं ओभरमा १५० रन पुरा गरेको थियो ।

क्यामरन ग्रीन र महिपाल लोमररले ३७ रनको साझेदारी गरे पनि १८ औं ओभरमा १७४ रनको स्कोरमा १३ रन बनाएर लोमरोर आउट भए । दिनेश कार्तिक र स्वप्निल सिंहले खाता नै खोल्न सकेनन् । कर्ण शर्माले ६ रनको योगदान दिए भने मोहम्मद सिराजले खाता पनि खोल्न सकेनन् । क्यामरन ग्रीनले २४ बलमा अविजित ३२ रन बनाए । दिल्ली क्यापिटल्सका खलिल अहमद र रसिक सलाम दारले समान २–२ विकेट लिए ।

लक्ष्य पछ्याएको दिल्ली क्यापिटल्सलाई पहिलो ओभरमा नै झट्का लाग्यो । डेभिड वार्नर १ रन बनाएर आउट भए । तेस्रो ओभरमा अभिषेक पोरेल पनि २ रन बनाएर पभेलियन फर्किए । जेक फ्रेजर–म्याकगर्क सोही ओभरमा रनआउट भए र उनको ८ बलमा २१ रनको इनिङ्सको दुर्भाग्यपूर्ण अन्त्य भयो । विकेटको क्रम यसरी जारी रह्यो र दिल्लीको स्कोर ११ ओभरमा ९०÷६ बन्यो । यस क्रममा साई होपले २९ रन बनाए ।

कप्तान अक्षर पटेल र रसिक सलामले स्कोर १०० भन्दा माथि पुर्याए । दुवैले ३७ रन जोडे तर १५ औं ओभरमा १० रन बनाएर रसिख आउट भए । योसँगै अक्षरले उत्कृष्ट अर्धशतक बनाए । तर, उनले आफ्नो इनिङलाई खासै ठूलो बनाउन सकेनन् र ३९ बलमा ५७ रन बनाएर बाहिरिए । अन्तिम ब्याट्सम्यानले खासै योगदान गर्न सकेनन् र दिल्लीको इनिङ्स पाँच बल बाँकी रहँदै समाप्त भयो। रोयल च्यालेन्जर्स बैंगलोरका लागि यश दयालले सर्वाधिक ३ विकेट लिए ।

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *