‘रेमल’ चक्रवातसँग सतर्क रहन मौसम पूर्वानुमान महाशाखाको आग्रह

Share this news:

जेठ १४, २०८१ । भारतको पश्चिम बंगाल र बंगलादेशमा असर पुर्याउने गरी आएको ‘रेमल’ चक्रवातले नेपालका विभिन्न स्थानमा पनि अप्रत्यक्ष प्रभाव पार्ने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

‘रेमल’ चक्रवातले नेपालमा प्रत्यक्ष प्रभाव नपारे पनि सोमबार र मंगलबार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा मौसम बदलीमा अप्रत्यक्ष प्रभाव पार्ने महाशाखाले जनाएको छ ।

बंगालको खाडीमा विकसित भइ भारततर्फ बढेको न्यून चापीय प्रणाली दुई दिनअघि चक्रवातमा रुपान्तर भएपछि अहिले शक्तिशाली बनेको बताइएको छ । चक्रवातको नाम ‘रेमल’ भनिएको छ । यो चक्रवात भारतको पश्चिम बंगाल र बंगलादेशको तटीय क्षेत्रीयतर्फ अगाडि बढिरहेको मौसमविद्हरु चर्चा गरिरहेका छन् ।

उत्तरी बंगालको खाडीमा रहेको शक्तिशाली ‘रेमल’ चक्रवात सोमबार राति बंगलादेश र पश्चिम बंगाल आसपासको तटीय क्षेत्रमा प्रवेश गर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको भनाइ छ ।

कोशी प्रदेशको केही स्थानमा मेघगर्जन र चट्याङ हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा र केही स्थानमा भारी वर्षा हुने जनाइएको छ । साथै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना पनि महाशाखाले औंल्याएको छ ।

तराईका भू–भागमा हावाहुरीको समेत सम्भावना रहेको हुनाले सतर्क रहन महाशाखाले सूचित गरेको छ । बागमती प्रदेशको केही स्थान मेघगर्जन र चट्याङ हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाका साथै उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यसैगरी गण्डकी प्रदेशको केही स्थान मेघगर्जन र चट्याङ हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा र एक–दुई स्थानमा भारी वर्षाका साथै उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकाले सतर्क रहन महाशखाले सचेत गराएको छ ।

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *