वर्तमान व्यवस्थाले देशलाई निकास दिन सकेन : अध्यक्ष सीके राउत

Share this news:

जेठ १५, २०८१ । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतले वर्तमान व्यवस्था सडेगलेको व्यवस्था भइसकेको भन्दै स्वीकार गर्न नसकिने टिप्पणी गरेका छन् ।

जनमत पार्टीको आह्वानमा मंगलबार आयोजित ‘नौलो गणतन्त्र आन्दोलन उद्घोष’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान व्यवस्था, राजनीतिक दल र सरकारबाट अपेक्षित काम नभएको उल्लेख गर्दै आफूहरु चुप लागेर नबस्ने बताएका हुन् ।

उनले भने, ‘या त यही व्यवस्थामा बाँच्न सिक्नु पर्‍यो कि त यो व्यवस्था बदल्नका लागि तयार रहनु पर्‍यो । कि सडेगलेको व्यवस्था स्वीकार्नु पर्‍यो कि त यसलाई बदल्नका लागि अगाडि बढ्नु पर्‍यो । यो देशलाई नै विकल्प दिनका लागि जनमत पार्टी यहाँ भेला भएको छ । वर्तमान व्यवस्था, राजनीतिक दल र सरकारले देशलाई निकास दिन सकेन, अब चुप लागेर बस्ने त ?’

आफूसँग भएको बिउलाई देशभर फैलाएर छिट्टै नै नयाँ गणतन्त्रको उद््घोष गर्ने उनको भनाइ थियो । ‘हामीकहाँ संख्या सानो होला तर, यो बिज हो, देशभर फैलाउँछौं । हामी नयाँ गणतन्त्रको उद्घोष यहाँबाट गर्नेछौं,’ उनले भने ।

अध्यक्ष राउतले हल्ला गरेर मात्र देशको विकास गर्न नसकिने उल्लेख गर्दै जनतालाई देखाएका सपनाहरु पुरा गर्न नौलो गणतन्त्र आवश्यक भएको उल्लेख गरे ।

उनले भने, ‘जबसम्म हामी देशलाई निकास दिँदैनौं, जबसम्म हामी जनतालाई देखाएका सपना पुरा गर्दैनौं, तबसम्म तपाईहरुको साथ रहनेछ भन्ने विश्वास लिएको छु । खालि हामी हल्ला गरेर मात्र त अगाडि बढ्न सक्दैनौं ।

राजनीतिक दल, संसद र सरकारबाट उपलब्धि भएन, अब के गर्ने ? चुप लागेर बस्ने त ? कि त देशबाट पलायन हुनु पर्‍यो । नभए यही बेरोजगार व्यवस्थालाई स्वीकार्नु पर्‍यो, भोक र रोग स्वीकार्नु पर्‍यो । तपाईहरु साथ दिनुस् हामी नौलो गणतन्त्र लिएरै छाड्छौं ।’

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *