सुन तस्करीको लहरो : पहरो गर्जने संकेत

Sharing is caring!

वैशाख १३, २०७५ । संगठित रूपमा सुन तस्करीका घटनामा एकपछि अर्को वरिष्ठ प्रहरी अधिकारी मुछिएपछि प्रश्न उठेको छ– लहरो तान्दा पहरो गर्जने त होइन ?

गत फागुन ९ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बाहिरिएको तस्करीको ३३ केजी सुन ओसारपसारका क्रममा हरायो । त्यही सुन खोज्ने क्रममा मोरङ, उर्लाबारीका सनम शाक्यको हत्या भएपछि यो प्रकरण सार्वजनिक भएको थियो । शाक्यको हत्या अनुसन्धान थालेको महानगरीय प्रहरी अपराध महाशाखाका डीएसपी नेतृत्वको टोलीकै भूमिका शंकास्पद देखिएपछि मन्त्रिपरिषद्ले विशेष अनुसन्धान समिति गठन गर्‍यो । विशेष समितिको अनुसन्धानले घटनाको ‘लहरो’ तान्दै जाँदा नयाँ–नयाँ तथ्य खुल्न थालेको हो ।

गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा गठित ९ सदस्यीय विशेष अनुसन्धान समितिले अहिलेसम्म २० जनालाई पक्राउ गरिसकेको छ । पक्राउ परेकामा प्रहरीका दुई बहालवाला र एक पूर्वअधिकारीसमेत छन् । समितिकै निर्देशनमा प्रहरीले चैत अन्तिम साता तस्करीको सुन कारोबारमा संलग्न भन्दै आरके ज्वेलर्सका सञ्चालक राजेन्द्र शाक्य, जय मातादी गोल्डका सञ्चालक पवन अग्रवाल, थाई एयरका कर्मचारी, राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङ, बालकृष्ण श्रेष्ठ, कपिलराज पुरी, गोपालकुमार श्रेष्ठ, दोराम खत्रीलगायतलाई पक्राउ गरेको थियो । समितिले ११ वैशाखमा मकवानपुरका प्रहरी प्रमुख एसपी विकासराज खनाललाई बयानपछि नियन्त्रणमा लियो भने सोही दिन इटहरीमा कार्यरत डीएसपी सञ्जय राउतको बयान लियो । डीएसपी राउत भने बयान सकिनै लागेका बेला समितिका सदस्यलाई झुक्याएर बेपत्ता भए ।समितिले १० वैशाखमा महानगरीय प्रहरी अपराध महाशाखामा कार्यरत सई गजेन्द्र रावललाई बयानपछि नियन्त्रणमा लियो भने ९ वैशाखमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा काम गरेका पूर्वडीआईजी गोविन्द निरौलालाई समेत बयान पछि नियन्त्रणमा लिएको थियो ।

उच्च स्रोतका अनुसार समितिले तस्करीको सुन ओसारपसारमा प्रत्यक्ष रूपमा संलग्न र सहयोगी भूमिकामा रहेकाहरूको लामो सूची तयार पारेको छ । समितिले तस्करीका मुख्य नाइके गोरे (चूडामणि उप्रेती) सँग सम्पर्कमा रहेकाहरूलाई पहिलो सूचीमा राखेको छ । समितिसँग समन्वयमा रहेका एक प्रहरी अधिकारीले भने, ‘गोरेसँग केही प्रहरी अधिकारीको बाक्लो फोन कनेक्सन देखिन्छ ।’ यो खबर आजको  कान्तिपुरमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *