सिक्किमका कवि अमर बानियाँ ‘लोहोरो’ को एकल काव्य वाचन सम्पन्न

Sharing is caring!

फागुन १४, २०७५ । बानेश्वर सर्जक समाज र बानेश्वर बहुमुखी क्याम्पसको संयुक्त आयोजनामा सिक्किमका कवि अमर बानियाँ ‘लोहोरो’ को एकल काव्य वाचन सम्पन्न भएको छ ।

मंगलबार रिपोर्टर्स क्लब नेपालमा विशेष कार्यक्रम आयोजना गर्दै उक्त काव्य वाचन सम्पन्न भएको हो । कार्यक्रममा भारतीय नेपाली कवि बानियाँले दश वटा कविता वाचन गरेका थिए । समाजका अध्यक्ष महेश प्रसाईको सभापतित्वमा आयोजित उक्त ‘एकल काव्य वाचन’ भएको थियो ।

कार्यक्रममा नेपाल सांस्कृतिक संघका सभापति तिर्थ बहादुर थापाले अबको साहित्य परिवर्तनबाट माथि उठेर आउनुपर्नेमा जोड दिए । उनले भने,‘साहित्यलाई सबैलै रुचाउने सिर्जनाको रुपमा लिुपर्छ ।’ राजनीतिसँग आवद्ध भएरपनि साहित्यिक श्रष्टा बन्नसक्नुपर्ने पनि उनले धारणा राखे ।

थापाले नेपाली साहित्यलाई प्रवासमा बसेर पनि संरक्षण एवम् प्रर्वद्धन गरेको भन्दै कवि बानियाँलाई उनले बधाई एवम् आभार प्रकट गरे ।
समाजका अध्यक्ष महेश प्रसाईले देशबाहिर रहेका कविको पनि आफूहरुले आज स्वाद लिन पाएको भन्दै खुशी व्यक्त गरे । उनले भने,‘कविको विश्वविद्यालय कविता नै हो, कविता लेख्न सजिलो छ, तर कवितामा साहित्यको गन्ध आउनुपर्छ ।’ मान्छेभन्दा माठि उठेर लेख्ने कवि देवातासरह हुनेपनि उनको भनाई छ ।

भारतीय कवि डा. अ. किर्तिवहर्दनले भारत–नेपालबीच दाजुभाईजस्तो प्रगाढ सम्बन्ध रहेको प्रकाश पारे । सामाजिक, सांस्कृतिक, धार्मिक र साहित्यिक सिर्जनामा पनि दुई देशबीच समानता पाउने उनको भनाई थियो ।

उनले भने,‘साहित्य र संस्कृतिलाई दुई देशको बीचमा रहेका सिमाले पनि छेक्दैन् । भारत र नेपाल दुवै देशको मातृभाषा संस्कृत हो । त्यसैले हामीले मातृभाषाको सम्मान गर्नुपर्छ ।’

कार्यक्रममा पुष्कर लोहनीले कवि बानियाँको साहित्यिक योगदानको बारेमा प्रकाश पार्दै प्रवासीहरुले देशको लागि चालेका साहित्यिक कदमको सम्मान गर्नुपर्नेमा जोड दिए । उनले अबको साहित्यमा यौनभन्दा विद्रोहलाई महत्व दिनुपर्ने धारणा राखे ।

कार्यक्रममा सर्जक तथा प्राज्ञहरु प्रा.डा. केदार न्यौपाने, प्रा.डा. घमानसिंह खड्का, लव गाउँले, प्राज्ञ मातृका पोखरेल, प्राज्ञ श्रवण मुकारुङ, डा. विष्णु विभु घिमिरे, किशोर पहाडीलगायतले साहित्य सिर्जनाबारे प्रकाश पारेका थिए ।

कार्यक्रममा कवि बानियाँसहित भारतीय कवि किर्ति वहर्दन र नेपाल सांस्कृतिक संघका सभापति तिर्थ बहादुर थापालाई सम्मान गरिएको थियो । कवि बानियाँलाई मायाको चिनोसमेत प्रदान गरिएको थियो । कार्यक्रमको सञ्चालन भने मधु लामिछानेले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *