साढे ३३ केजी सुन तस्करीका फरार अभियुक्त दुबईमा पक्राउ

Sharing is caring!

माघ २३, २०७५ । साढे ३३ केजी सुन तस्करी र सनम शाक्य हत्या मुद्दाका फरार एक मुख्य अभियुक्त हरिशरण खड्का दुबईमा पक्राउ परेका छन् । नेपाल प्रहरीको आग्रहमा संयुक्त अरब इमिरेट्स (युएई)को प्रहरीले उनलाई पक्राउ गरेको हो ।  खड्कालाई नेपाल ल्याउन प्रक्रिया अघि बढाइएको नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले बताए । उनलाई पक्राउ गर्न अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)ले रेडकर्नर नोटिस जारी गरेको थियो । सोही नोटिसका आधारमा खड्का दुई साताअघि पक्राउ परेका हुन् ।

गृह मन्त्रालयले गठन गरेको विशेष अनुसन्धान टोलीका अनुसार उनी विगत पाँच वर्षदेखि विमानस्थलबाट सुन तस्करी गर्ने गिरोहका मुख्य लगानीकर्ता हुन् । उनी दुबईमा बसेर सुन नेपाल पठाउने काम गर्दै आएका थिए । १८ फागुन ०७४ मा तस्करीको सुन लुकाएको आरोपमा मोरङ उर्लाबारीका सनम शाक्यको तस्कर समूहले हत्या गरेको थियो । हत्या गर्ने समूहबाटै सूचना पाएपछि महानगरीय अपराध महाशाखाको टोलीले गाडीमा सनमको शव बरामद गरेको थियो । प्रहरीले मुख्य अभियुक्तलाई जोगाउने गरी अनुसन्धान गरेको उजुरी परेपछि प्रधान कार्यालयले तत्कालीन डिआइजी पुष्कलराज रेग्मीको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो ।

प्रारम्भिक अनुसन्धानमै हराएको साढे ३३ किलो सुन विमानस्थलबाट तस्करी भएको र ठूलो समूह संलग्न रहेको देखिएपछि सरकारले संगठित अपराध ऐनअनुसार १८ चैतमा सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा ‘विशेष अनुसन्धान टोली’ गठन गरेको थियो । अनुसन्धानका क्रममा विमानस्थलका कर्मचारी र प्रहरीकै मिलेमतोमा पाँच वर्षदेखि ठूलो मात्रामा सुन तस्करी भइरहेको तथ्य खुलेको थियो । जसमा प्रहरीको समेत मिलेमतो खुलेको थियो । तस्करी र हत्या घटनामा मुख्य अभियुक्तलाई सघाएको खुलेपछि नौ प्रहरीलाई पक्राउ गरी मुद्दा दायर भएको थियो ।यो खबर नयाँ पत्रिकाबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *