सांसदहरुको नाक जोगाउनको लागि पनि दश करोड दिनुपर्छ: देवेन्द्र पौडेल

Sharing is caring!

जेठ १३, २०७६ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले अब आउने बजेटमा सांसदहरुलाई दश करोड रकम छुट्याउनुपर्ने पक्षमा आफू रहेको स्पष्ट पारेका छन् ।

आज रिपोर्टर्स क्लब नेपालले बजेटको पूर्व सन्ध्यामा आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै नेता पौडेलले स्थानीय पूर्वाधार विकास कार्यक्रमअन्तर्गत नै सांसदहरुलाई दश करोड बजेट दिनुपर्ने माग गरेका हुन् । सांसदहरुले पैसा मागेको भनेर बाहिर बद्नाम गराउने काम भएको भन्दै उनले त्यसमा गुनासो पोखे ।

उनले भने,‘यो कार्यक्रम सांसदहरुले ठग्नको लागि बनाईएको कार्यक्रम होईन, जनताले माग गरेका योजना दिनुपर्छ भन्ने हाम्रो कुरा हो । दश करोड आउने भयो भने स्वागतयोग्य कुरा हो । निर्वाचित र समानुपातिक दुवै सांसद दुवैलाई बराबरी दिनुपर्छ । म सांसदलाई दश करोड दिनुपर्छ भन्ने पक्षमा छु ।’

यद्धपी सांसदले बेईमानी गर्छ भने सम्बन्धित निकायले कडा निगरानी गर्नुपर्ने उनको धारणा छ । उनले भने,‘बरु सरकारले बजेटको निगरानी गरोस्, हामीले एउटा नोटपनि देख्नु नपरोस, तर दश करोड पैसा सांसदहरुलाई दिनुपर्छ ।’ उनले सांसदहरुको नाक जोगाउनको लागि पनि दश करोड बजेट दिनुपर्ने जिकिर गरे ।

यो वर्षको बजेट गत सालकोभन्दा धेरै राम्रो आउने पनि उनले विश्वास दिलाए । नेता पौडेलले भने,‘यो आर्थिक वर्षको बजेट गत सालको भन्दा राम्रो आउँछ भन्नेमा म विश्वस्त छु । किनकी यो वर्ष अर्थमन्त्रीको गृहकार्यपनि अघिल्लो वर्षभन्दा धेरै राम्रो छ । फरक छ । उहाँले सांसदहरुसँग छलफल गर्नुभएको छ। सरोकारवालाहरुसँग सुझाव लिनुभएको छ।’

अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई यो बजेटमा समेट्ने प्रतिवद्धता जनाएको पनि उनले सुनाए । त्यस्तै, चुनावी घोषणापत्रमा भएका अधिकतम कुराहरु बजेटमा समेटिने पनि उनले दाबी गरे । उनले भने,‘बजेट समाजवादउन्मुख नै आउँछ । यो वर्ष लोकप्रिय र जनमुखी बजेट आउँछ ।’

फरक प्रसँगमा उनले काठमाडौंमा हिजो घटेको घट्नाको निन्दा गरे । उनले भने,‘हिजोको घट्ना हेर्दा नेपालको प्रचलित ऐन, कानूनसँग मेल खाने खालको छैन् । अहिले देशलाई हिंसात्मक युगतर्फ लैजाने युग होईन ।’

उनले ‘विप्लव’ समूहलाई संविधानसम्मत् अधिकार प्रयोग गर्न पनि आह्वान गरे । उनले भने,‘वार्ताभन्दा अर्को विकल्प छैन् । यदि वार्तामा नआउने हो भने सरकारले आफ्नो स्टेप चाल्छ ।’ उनले सरकारले देश र जनतालाई आतंकित पार्ने घट्नालाई पूर्ण रुपमा नियन्त्रण गर्नेपनि दाबी गरे । यद्धपी वार्ता, सम्वाद र सहमतिको ढोका भने सधैं खुल्ला रहेको पनि उनले सुनाए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *