सरकार मात्रै होईन, कांग्रेस पनि असफल भयो: आचार्य

Sharing is caring!

फागुन ८, २०७५ । राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले आगामी चार वर्षसम्म पनि सरकारको गतिविधि यस्तै रहिरहे जनताको आशा र भरोसा समाप्त हुने टिप्पणी गरेका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै आचार्यले मुलुकमा दुई तिहाई बहुमतको सरकार हुँदापनि जनताले सोचेजस्तो काम गर्न नसकेको आरोप लगाए । उनले भने,‘राजनीतिक स्थायित्व भएको, कम्युनिष्ट एकता भएको र दुई तिहाईको सरकार भएकोले जनताले विकास र समृद्धि द्रुत गतिमा होला भनेर आशा गरेका थिए, तर त्यस्तो भएन्।’

उनले भने अहिले विकास खर्च २२ प्रतिशत पनि हुन नसकेको बताए । उनले भने,‘अहिले मुलुकमा भ्रष्टाचार बढेको छ । वाईडबडी काण्ड छ, अरु पनि काण्डै काण्ड छन् । नेपालको भु–राजनीतिक अवस्था बग्रिएको छ, अन्तर्राष्ट्रिय सम्बन्ध बिग्रिएको छ । आगामी चार वर्ष पनि सरकार यही तरिकाले अघि बढ्यो भने जनताको यो सरकारसँग रहेको आशा र भरोसा समाप्त हुन्छ ।’

आचार्यले सरकार विकास र समृद्धि हाँसिल गर्ने काममा केन्द्रित हुन नसकेको गुनासो पोखे । उनले भने,‘सरकारको फोकस विकास र समृद्धिमा भन्दापनि होली वाईनतिर छ, गुड गभर्मेन्समा भन्दा पनि पानीजहाज र मोनोरेलमा छ । सरकार फोकस छैन ।’

उनले सरकारको राम्रो पक्ष भनेको वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई संख्याको चूनौति नभएको सुनाए । आचार्यले थपे,‘सरकार दुई तिहाई बहुमतको छ, प्रधानमन्त्री ओली अनच्यालेन्ज्ड छन् ।’ आचार्यले मुलुकको पछिल्लो आर्थिक वृद्धिद्धर पनि ठीक नभएको सुनाए । उनले भने,‘भ्रष्टाचार बढेको छ । आईसकेको हवाईजहाज थन्किएर बसेका छन् । डेस्टिेशन पाएका छैनन् । मेलम्ची आयोजनालाई तुह्याउन खोजिएको छ ।’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको कारण सरकारले राम्रो काम गर्न नसकेको पनि उनले आरोप लगाए । उनले भने,‘प्रतिपक्ष त अहिले सडक र सदन कहीँपनि छैन् । ७ वटै प्रदेशमा कांग्रेस छैन् । त्यही भएर सरकार निरंकुश बन्न खोजिरहेको छ । पशुपति शर्माको गीत प्रकरण पनि त्यसैको कडी हो । सरकारमात्रै होईन, कांग्रेस पनि असफल भएको छ।’

यद्धपी उनले सरकारसँग अहिले नै आशा नै मारिहाल्नुपर्ने अवस्था भने नआएको स्पष्ट पारे । उनले भने,‘यो सरकारसँग आशा गर्ने ठाउँ अझै छन्, यो सरकारसँग चार वर्ष समय छ, सरकार फिर्छ भने राम्रो गर्न सक्छ । प्रतिपक्षी दल कांग्रेस पनि जुर्मुराउनुपर्छ । प्रतिपक्षी जुर्मुरायो भने धेरै कुरा हुन्छ।’

उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली असफल भए प्रचण्ड प्रधानमन्त्री बन्न सक्ने पनि तर्क गरे । उनले भने,‘ओलीजी असफल हुनुभयो भने नेकपाबाट प्रचण्ड अगाडि आउने सम्भावना छ । तर, यसको लागि माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र ईश्वर पोखरेलले ओलीविरुद्ध च्यालेन्ज गर्छन् । र, उनीहरुले नै प्रचण्डलाई अघि सार्छन् ।’

आचार्यले अहिलेसम्म नेकपाका अर्का अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई च्यालेन्ज नगरेको सुनाए । उनले भने,‘बरु माधव नेपालले संसदमा सरकार कहाँ छ ? भनेर भन्नुभयो, यो एक वर्षमा ओलीजीेले देशको रोग के हो भनेर डाईग्नोसिस गर्नुपर्दथ्यो ।’

उनले नेकपाको एकता प्रक्रिया पनि अहिले सुस्त रहेको भन्दै यसलाई नेकपाको नेतृत्वले गति दिएर टुँगो लगाउन खोजेको सुनाए । उनले भने,‘यो राम्रो कुरा हो । एकता प्रक्रियाले गति लिनुपर्छ ।’

सरकार आगामी पाँच वर्षसम्म टिकेर नर्मल ईलेक्शन भयो भने धेरै कुरा राम्रो हुने उनको तर्क छ । उनले भने,‘त्यतिवेलासम्म धेरै संस्थाहरु बनिसकेका हुन्छन् । मुलुकको हित राजनीतिक स्थायित्वमा छ । अझै स्ट्रोङ हुनुपर्छ । यो सरकारले भ्रष्टाचार रोक्न सके वाहवाह पाउँथ्यो । अन गोईङ प्रोजेक्टहरु समयमै सम्पन्न गर्यो भने पनि धेरै राम्रो हुन्छ । अहिले २३÷२४ वटा राष्ट्रिय गौरवका आयोजनाहरु छन्, यीनीहरुलाई समयमै सम्पन्न गर्न सके धेरै हदसम्म बेरोजगार हट्दथ्यो।’ उनले सरकारले क्लिन गभर्मेन्स गरे र अनगोईङ प्रोजेक्ट सम्पन्न गरे धेरै राम्रो हुने थियो भन्ने धारणा राखे ।

राजनीतिक स्थायित्वलाई अब आर्थिक समृद्धिमा रुपान्तरण गर्नुपर्ने उनको धारणा छ । उनले यो एक वर्षमा सरकारमात्रै नभएर कांग्रेस पनि असफल भएको दाबी गरे । उनले भने,‘कांग्रेस चुकेकै हो । त्यही भएर चुनाव पनि हार्यो । चुनाव हारेलगत्तै सभापति देउवाले राजीनामा दिनुपर्दथ्यो । कांग्रेस अहिले ट्रयापमा छ।’ जनताहरु गतिशिल बनेको अवस्था भएपनि कांग्रेसका नेताहरुलाई ल्यापटपनि चलाउन नआउने उनको आरोप छ ।

उनले भने,‘कांग्रेस सभापति देउवाले केही बोले भने उनले ठीक बोलेनन भनेर सबैभन्दा पहिले उनकै गृहजिल्ला डढेलधुरामा विरोध हुन्छ । कांग्रेसमा धेरै बुढाखाडा छन् । एउटा फाईल बढुवा भएर नेता हुनेछन् । अर्को वंशको आधारमा कांग्रेस हुनेहरु छन् । विपीको छोरो, गणेशमानको छोरा, गिरिजाकी छोरी र महेन्द्रनारायण निधिको छोरोहरु वंशको आधारमा नेता भएका छन् । छाताधारी कांग्रेस त छँदैछन् । गगन थापा, प्रदिप पौडेल र गुरु घिमिरे लगायतका अर्को युवा पुस्ता पनि कांग्रेसमा छ, तर उनीहरुलाई कांग्रेसी नै मान्दैनन्।’

राजनीतिक विश्लेषक प्रा. डा. सुरेन्द्र केसीले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको एक वर्षे कार्यकालमा जनताले कुनै किसिमको नतिजा नपाएको आरोप लगाए ।

उनले भने,‘कुनै पार्टीसँग नजोडिएका पशुपति शर्माले जनताको भावना बोकेको गीत गाउँदो यो सरकार डरायो, पछिल्लो ५६ घण्टा त शर्माको गीतले नेपाल तातेको छ । उनले गाएको गीत धेरै कुरा जनताको भावनाको दर्पण हो ।’ ओली सरकार एउटा गीतको पछाडि लाग्नु भनेको अराजकता देखाउनु भएको पनि उनले टिप्पणी गरे ।

राष्ट्रपति धेरै महँगो भएको कुरा गीतमा समावेश हुँदा के नराम्रो भयो त ? भन्दै उनले प्रश्न तेर्साए । फरक प्रसँगमा उनले नेपालमा राजा आउने वा नआउने भन्ने कुरा त्यसै भन्न नसक्ने बताए । उनले भने,‘आउने कुरालाई म महत्व दिन्न । अहिले भएको विसंगतिको कारणले गर्दा केही नेताहरु राजसंस्थाको कित्तामा पुगेका छन् । तर तिनीहरु असली राजावादी होईनन् । राजाको नाम भजाएर खाने धेरै छन् ।’
नेपालको आन्तरिक कारणले राजसंस्था आउनै नसक्ने उनको ठोकुवा छ । तर, बाहृय कारणले राजसंस्था आयो भने कसैले रोकेर पनि रोक्न नसक्ने उनले दाबी गरे ।

उनले भने,‘हाम्रो देशमा अहिलेपनि राजा छाती फुलाएर हिँडिरहेका छन् । नेपाली जनताको कति उदार मन छ । राजा तथा महाराजाहरुले यो देशमा धेरै गरेका रहेछन् । यो देश जोड्ने तन्तु भनेको नै पहिलो कुरा राजा हो, दोस्रो नेपाली भाषा र तेस्रो हिन्दू धर्म हो ।’

संस्कृतविद् प्रा.डा. रमेश ढुंगेलले सरकार सफल वा असफल भन्नुभन्दापनि व्यवस्था नै असफल भएको दाबी गरे । उनले भने,‘धर्मनिरपेक्षता र संघीयता लागु गर्दा जनताको मत लिइएन् । अहिले लोकतन्त्र र संघीयता दुवै फंक्शनिङ छैन् ।’ सरकारले विभिन्न निकायमा नियुक्ती गर्दा ज्ञाताहरुलाई नियुक्त नगरेको पनि उनले गुनासो पोखे ।

उनले २१ अर्बका ९ सय ६ वटा ठेक्कापट्टामा ६ सय २३ परियोजनाहरु अहिले लथालिंक अवस्थामा रहेको पनि सुनाए । उनले भने,‘यसरी कसरी समृद्धि हुन्छ ?’ अब देश कता जान्छ त ? भनेर पत्रकारले सोधेको प्रश्नमा उनले भने,‘अहिले त सिस्टम नै फेल भैसक्यो । गणतन्त्र फेल भैसक्यो । संघीयता फेल भैसक्यो । लोकतन्त्रले फंक्शनिङ गरिरहेको छैन् ।’

मुलुकमा यस्तो अवस्था सिर्जना भएकोले अन्र्राष्ट्रिय गतिविधि बढ्न थालेको पनि उनले आरोप लगाए । उनले भने,‘राजा आउने वा नआउने भन्ने कुरा भन्न सकिँदैन । तर, म एउटा कुरा भन्न सक्छु की राजा आवश्यकत्ता भन्दा छिटो फालिएको हो । कुनै विचार नपुरयाई फालिएको हो । संघीयता ल्याउँदा पनि कुनै होमवर्क भएको थिएन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *