सरकारले छिट्टै पूर्णता पाउँछ : विश्वकर्मा

Sharing is caring!

भदौ १३, २०७८ ।  प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमनत्री मीन विश्वकर्माले ढिलोमा अबको ४८ घण्टाभित्र सरकारले पूर्णता पाउने दाबी गरेका छन् । मन्त्रिपरिषद् विस्तारबारे गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुबीच सहमति भैसकेको उनको भनाई छ ।

आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता विश्वकर्माले यस्तो बताएका हुन् । उनले माधव नेपालले पनि सरकारमा सहभागी हुने बताएकोले नै पर्खिंदा सरकारलाई पूर्णता दिन केही ढिलाई भएको भएपनि भोलि साँझसम्म मन्त्रिपरिषद् विस्तार भैसक्ने दाबी गरे ।

नेता विश्वकर्माले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश नल्याएको भए संसद् र सरकारको पूर्ण कार्यकाल सुनिश्चित्ता गर्न नसकिने थियो भन्ने धारणा राखे । उनले आफूहरुको कारण एमाले विभाजन नभएको पनि स्पष्ट पारे । लोकतन्त्रमा दल विभाजन हुन दुःखद् भएको उनको टिप्पणी थियो ।

उनले भने,‘अहिले एमाले अप्ठ्यारोमा छ । नेताहरुको अभिव्यक्ति आक्रोशित छ । एमाले नेताहरुको प्रश्नको जवाफ दिन थालियो भने हामी पनि अलमलमा पर्छौं । १६ पुगी १७ लाग्दा यस्तै हुन्छ नि भन्ने गीतजस्तै पार्टी फुट्दा यस्तै हुन्छ । छोडेर जानेहरुलाई सत्तोसराप गर्ने प्रचलन हो । एमाले र माओवादी केन्द्र जोडद ४५ लाख मत थियो । कांग्रेस एक्लैले ३५ लाख प्राप्त गरेको थियो । जनमत कांग्रेसको ठूलो हो । गएको निर्वाचनमा केही ट्याक्टिस, हावादारी कुरा नगर्दा, रेल, तेल र सुरुङको कुरा नगर्दा हामी परीणाममा दोस्रो भयौं ।’

उनले राजनीति दल विभाजनसम्बन्धी अध्यादेश ल्याउनु गलत नभएको पनि स्पष्ट पारे । उनले भने,‘त्यो संसद् नभएको बेला ल्याईन्छ । हिजो केपी ओलीले पुष ५ गते संसद् विघटन गरेर ल्याउनुभयो । अहिले शेरबहादुर देउवाले संसद् पूनःस्थापना गरेर संसद्को अधिवेशन अन्त्य भएको बेलामा ल्याउनुभयो । हिजो दल विभाजन गर्ने मनशाय नै थिएन । तर, अहिले त अवस्था अर्कैै थियो । अध्यादेश अपरिहार्य थियो । सुरक्षित रुपमा ल्याईएको थियो ।’ उनले प्रतिनिधिसभा सभामुख अग्नि प्रसाद सापकोटाको भूमिका ठीक रहेको पनि स्पष्ट पारे ।

उनले भने,‘सांसदलाई कारबाही गरेको कुरा संसदीय दलको निर्णय हुनुपर्छ । त्यतिकै कारबाही गर्न पाईँदैन् । केपी ओलीले संसद्मा विश्वासको मत लिँदा, सांसदहरुलाई ह्वीप जारी भएको थिएन । अनि कसरी कारबाही गर्न मिल्छ ? बास्तवमा भन्ने हो भने एमालेका यो संसद्मा सांसद नै छैनन् । जति सांसद छन् उहाँको कदमविरुद्ध उभिएका सांसद छन् । एमालेले १४ जना सांसदलाई कारबाही गर्न भनेर सभामुखसमक्ष पत्राचार गरेको छ, तर उहाँले १५ दिन विचाराधिन राखिदिनुभयो । यो संविधानसम्मत् छ । अध्यादेश बाध्यात्मक परिस्थितिमा आएको हो । सभामुखले संविधानसम्मत् भूमिका खेल्नुभएको छ ।’

एमाले नेताहरुले कांग्रेसले आफ्नो पार्टी फुटाईदिएको भनेर लगाएको आरोपमा पनि कुनै सत्यता नभएको विश्वकर्माको टिप्पणी थियो । उनले भने,‘नेपाली कांग्रेसले यसो छड्के आँखा हेर्दा फुट्ने पार्टी कस्तो पार्टी हो ? त्यस्तो पार्टी नबनाउनुहोस, धराप र कमजोर पार्टी नबनाउनुहोस । एमाले व्यवस्थित् भएर आओस । तर, एमाले उठ्ने समभावना छैन् । एमाले फुट्दा कांग्रेस खुशी छैन् । एमाले विभाजन हुँदा हामी खुशी छैनौं । हामी दल जुट्दा खुशी हुन्छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *