सरकारबाटै आचारसंहिता उल्लंघन : कांग्रेस, आयोगलाई कांग्रेसको ध्यानाकर्षण

Sharing is caring!

कात्तिक ३०, २०७६ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपनिर्वाचनका लागि लागू गरिएको निर्वाचन आचारसंहिताको सरकार पक्षबाटै उल्लंघन भइरहेको बताएको छ । कांग्रेस नेता रमेश लेखकको नेतृत्वमा रहेकोे कांग्रेसको निर्वाचन आचारसंहिता अनुगमन समितिले शुक्रबार निर्वाचन आयोगको केन्द्रीय कार्यालय पुगेर सरकार पक्षबाटै आचारसंहिता उल्लंघन भइरहेको भन्दै आयोगको ध्यानाकर्षण गराएको हो ।

समितिले १४ मंसिरमा हुने उपनिर्वाचनका लागि जारी गरिएको आचारसंहिताको पूर्ण पालना गराउनेतर्फ आयोगलाई जिम्मेवार हुन समेत आग्रह गरेको छ । समितिका संयोजक लेखकले सरकार पक्षबाटै आचार संहिताको उल्लंघन भइरहेको र आयोगले समेत स्वतन्त्र रूपमा निगरानी गर्न नसकेको भन्दै सबै पक्षलाई आचार संहिताको पालनामा उत्तिकै जिम्मेवार बनाउन आयोगको बलियो भूमिका आवश्यक रहेको बताए ।

‘सरकार पक्षबाटै आचारसंहिताको उल्लंघन भइरहेको छ, आयोगले आचार संहिताको स्वतन्त्र रूपमा निगरानी गर्न नसके जस्तो देखिँदै छ । सबै पक्षलाई आचारसंहिता पालनामा उत्तिकै जिम्मेवार बनाउन आयोगको बलियो भूमिका आवश्यक छ । हामीले त्यसतर्फ आयोगको ध्यानाकर्षण गराएका छौं,’ नेता लेखकले भने ।

समितिका संयोजक लेखकले निर्वाचन कानुन र निर्वाचन आचारसंहिताविपरीत सांसदहरुको ‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम’ को योजना छनोटका लागि भइरहेका परामर्श बैठकहरु तत्काल स्थगित गराउन पनि आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँग आग्रह गरे ।

समितिले उपनिर्वाचन हुने जिल्लाहरुमा निर्वाचन प्रभावित हुने गरी मतदातालाई प्रलोभनमा पार्ने गरी मन्त्रीहरुले विकास निर्माणका योजना छनोट गरिरहेको भन्दै तत्काल रोक्न माग गरेको हो ।

आयोगका प्रमुख निर्वाचन आयुक्त थपलियाले भने आयोग उपनिर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र पारदर्शी रूपमा सम्पन्न गर्नेतर्फ केन्द्रित भएको र कतै कतै आचारसंहिता उल्लंघनका विषय पनि उठेकाले त्यसतर्फ आयोगको ध्यनाकर्षण भएको जनाए ।

उनले कुनै पक्षबाट पनि आचारसंहिताको उल्लंघन हुन नदिन आयोग प्रतिबद्ध रहेको भन्दै त्यस तर्फ सबै दलको सहयोगका लागि आग्रह समेत गरे ।

आगामी १४ मंसिरमा ३७ जिल्लामा रिक्त रहेका प्रतिनिधिसभा सदस्य १ तथा प्रदेश सभासदस्य तीनसहित विभिन्न ५२ रिक्त पदमा उपनिर्वाचन हुँदै छ । उपनिर्वाचनका लागि सबै तहका उम्मेदवारहरु उम्मेदवारी दर्ता सकेर मतदातासँग मत माग्न घरदैलो अभियानमा लागिसकेका छन् ।यो खबर राजधानीबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *