संविधान संशोधन नभएसम्म राजनीतिक स्थायित्व आउन नसक्ने: अध्यक्ष यादव

Sharing is caring!

वैशाख १४, २०७५ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीय सरकार संघीयता विरोधी गतिविधिमा लागेको आरोप लगाउनुभएको छ ।

मधेशी स्वास्थ्यकर्मी फोरम नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनलाई जनकपुरमा आज सम्बोधन गर्दै अध्यक्ष यादवले आफूहरु संघीयतालाई संस्थागत गर्दै संविधान संशोधनका लागि सरकारलाई समर्थन गरे पनि सरकार ठीक त्यसको विपरीत कार्यमा लागेको आरोप लगाउनुभयो ।

निर्वाचनमा भाग लिएकै भरमा आफूहरुले संविधान स्वीकारिसकेको भ्रम नपाल्न ठूला दललाई सचेत गराउँदै अध्यक्ष यादवले सबैलाई स्वीकार्य हुने गरी संविधान संशोधन नभएसम्म मुलुकमा राजनीतिक स्थायित्व आउन नसक्ने विचार व्यक्त गर्नुभयो ।

शिक्षा र स्वास्थ्य प्रदेश स्तरमा हुनुपर्ने बताउनुहुँदै अध्यक्ष यादवले यसका लागि प्रदेश सरकारलाई पहल गर्न आग्रहसमेत गर्नुभयो ।

कार्यक्रममा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले मुलुकमा संघीयता ल्याउन स्वास्थ्यकर्मीले खेलेको भूमिकाको प्रशंसा गर्दै स्वास्थ्यकर्मीको न्यायोचित मागका साथै पहिचान, सम्मान र अधिकारका लागि प्रदेश सरकार तत्पर रहने बताउनुभयो । उहाँले प्रदेश सरकारलाई कमजोर बनाई स्थानीय सरकारलाई बढी बोझ दिएर संघीयतालाई नै असफल बनाउने षडयन्त्र भई रहे पनि प्रदेश नं २ को सरकार र यहाँका जनताले त्यस्ता षडयन्त्रलाई सफल हुन नदिने बताउनुभयो ।
स्वास्थ्यकर्मी फोरमका राष्ट्रिय अध्यक्ष बालकिशोरप्रसाद यादवको अध्यक्षतामा भएको महाधिवेशनको उद्घाटन सत्रमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विजय यादव, संघीय सांसदहरु प्रदीप यादव, उमाशंकर अरगरिया, डा सुरेन्द्र यादव, प्रदेश सभा सदस्य रामअशिष यादव, बौद्धिक पेशाकर्मी महासंघका उपाध्यक्ष जितेन्द्र यादव सहितका वक्ताले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *