संविधानको व्यवहारिक कार्यान्वयनमा अझै चुनौती छ : पूर्व राष्ट्रपति भण्डारी

Share this news:

जेठ १६, २०८१ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान र कानूनले दिएको अधिकारहरु व्यवहारिक रुपमा कार्यान्वयनमा अझै चुनौतीहरु रहेको बताएकी छन् ।

काठमाडौंमा बुधबार आयोजित एमालेको राष्ट्रिय महिला भेलामा उनले ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित भए पनि समाजमा विद्यामान पितृसत्तात्मक सोचले व्यवहारिक रुपमा कार्यान्वयनमा अझै नभएको बताइन् ।

उनले भनिन्, ‘समाजमा आधा हिस्सा ओगटेका महिलाहरुका लागि एक तिहाइ सहभागिताको पूर्ण उपलब्धी भने भएन त्यसकारण प्राप्त उपलब्धीहरुको रक्षा गर्दै थप उपलब्धीहरुका लागि हामीले हाम्रा प्रयासहरुलाई जारी राख्नु पर्छ ।

महिलाको ३३ प्रतिशत सहभागिता सुनिश्चित भएपनि हाम्रो समाजमा विद्यामान पितृसत्तात्मक सोच, गरिबी, अशिक्षा, अन्धविश्वासर कुप्रथाका कारण संविधान र कानुनले दिएको अधिकारहरुको व्यवहारिक कार्यान्वयनमा अझै चुनौतीहरु बाँकी नै रहेका छन् ।’

उनले सकारात्मक परिवर्तन, सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने दिशातर्फ मुलुकलाई अघि बढाउने दायित्व सबैको काँधमा रहेको बताइन् ।

उनले भनिन्, ‘वर्तमान नेपालको संविधानले जनताका आधारभूत अधिकारहरुलाई मौलिक हकको रुपमा सुनिश्चित गरेको सन्दर्भमा अब संविधानमा आधारित मौलिक हकको व्यवहारिक कार्यान्वयन मार्फत जनताको जीवनमा सार्थक र सकारात्मक परिवर्तन, सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने दिशा तर्फ मुलुकलाई अघि बढाउने दायित्व रहेको छ ।’

मुलुकको व्यापार घाटालाई कम गर्नुपर्ने भन्दै त्यसको लागि कृषि, वन पैदावार र जडिबुटिमा आधारित उत्पादनको वृद्धि, निर्यात प्रवद्र्धन, पर्यटन प्रवर्धन र जलविद्युतको स्वदेशी खपतमा जोड दिनुपर्ने उनको भनाइ छ ।


Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *