संयुक्त राष्ट्र संघको कार्यालयमा बुद्धको मूर्ति स्थापना गर्नुपर्ने

Sharing is caring!

वैशाख १७, २०७५ । गौतम बुद्धले देखाएको बाटोलाई विश्वभर फैलाउन संयुक्त राष्ट्र संघको नेपालस्थित कार्यालयमा बुद्धको मूर्ति स्थापना गर्नुपर्नेमा जोड दिइएको छ ।

पच्चीस सय ६२औँ बुद्ध जयन्तीका अवसरमा बुद्ध जयन्ती समारोह समिति, संयुक्त राष्ट्र संघ काठमाडौँ र नेपाल बौद्ध परिषद्ले आज यहाँ संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बुद्ध धर्मसँग सम्बन्धित पुरातात्विक सम्पदालाई महानगरले संरक्षण तथा संवद्र्धन गर्ने बताउनुभयो ।

“गौतमबुद्धको जन्मभूमि रहेको नेपालस्थित संयुक्त राष्ट्र संघको कार्यालयमा बुद्धको मूर्ति स्थापनाका लागि महानगरपालिका सहयोग गर्न तयार छ”, उहाँले भन्नुभयो ।

नेपालका लागि म्यानमारका राजदूत तिरी प्याची यु थान मे लियोनले गौतमबुद्धको जन्मस्थल नेपालमा आएर बुद्धजयन्ती मनाउन पाएकामा खुशी व्यक्त गर्नुभयो । “आजको दिन महत्वपूर्ण दिन हो, म्यानमारका ८० प्रतिशत बुद्धधर्म मान्ने जनताले बुद्धजयन्तीलाई विशेष दिनका रुपमा लिएका छन्”, उहाँले भन्नुभयो ।

संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक संगठन (युनेस्को)का देशीय निर्देशक क्रिष्टियन म्यानहार्टले विश्वभर बुद्धको सन्देश फैलाउन उक्त कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

बुद्ध जयन्ती समारोह समितिका अध्यक्ष धर्म मूर्ति, महासचिव शंकररत्न शाक्य, नेपाल बौद्ध परिषद्का अध्यक्ष महिश्वरराज बज्राचार्यलगायतले बुद्धको जन्म नेपालमा भएको भन्दै बुद्ध जयन्तीलाई एक दिनमात्र मनाएर नपुग्ने बताउनुभयो ।

सन् १९९९ मा संयुक्त राष्ट्रसंघले हरेक वर्ष विश्वभर बुद्धजयन्ती मनाउने निर्णय गरेसँगै युएनको नेपालस्थित कार्यालयमा पनि सन् २००२ देखि बुद्ध जयन्ती मनाउन शुरु गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *