संघीय संरचना अनुसार कर्मचारी व्यवस्थापनः मन्त्री पण्डित

Sharing is caring!

जेठ १२, २०७५ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संघीयतासहितको संविधान लागू भइसकेको भए पनि प्रशासनिक क्षेत्रको संक्रमणकाल समाप्त भइनसकेको बताउनुभएको छ ।

रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा उहाँले भन्नुभयो, “प्रशासनिक क्षेत्रमा रहेको संक्रमणकाल असार महिनाभित्र टुंगो लगाउने तथा कर्मचारीको व्यवस्थापन संघीय ढाँचाअनुसार गरिने छ ।” उहाँले राष्ट्रसेवक तथा जनप्रतिनिधिबीचको समन्वय गरेर संघीय शासन सफल पार्ने बताउनुभयो ।

मन्त्री पण्डितले आफूले सम्हालेको मन्त्रालयले सय दिनमा गर्नैपर्ने प्रारम्भिक काम ९० प्रतिशत पूरा गरेको दाबी पनि गर्नुभयो । उहाँले नीति तथा कार्यक्रमले सकारात्मक विकासको संकेत गरेको बताउँदै अब प्रस्तुत हुने बजेटले छर्लङ्ग हुने गरी स्पष्ट विकासको खाका आउने र विपक्षीले पनि समर्थन गर्नै अवस्था रहने बताउनुभयो ।

राष्ट्रिय जनता पार्टीका नेता महेन्द्रराय यादवले संविधान संशोधन जस्ता मधेशी जनताको पक्षमा वर्तमान सरकारले काम नगरेको आरोप लगाउँदै सरकारलाई राजपाले दिँदै आएको समर्थन फिर्ता लिनका लागि सोच्नुपर्ने दिन आइसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “मधेशी जनताको काम गर्दैन भने हामीले किन सरकारलाई समर्थन दिइरहने ?”

नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री संजय गौतमले वर्तमान ओली सरकारले जनतालाई सपना बाँड्नेबाहेक ठोस काम नगरेको बताउनुभयो । उहाँले सरकारले ल्याएको नीति तथा कार्यक्रममा विकास निर्माण गर्ने कुनै कार्यक्रम नभएको बताउँदै रेल ल्याउने सपना बाँड्नुभन्दा पूर्व–पश्चिम राजमार्ग, राष्ट्रिय गौरवका योजना पूरा गर्न सरकारलाई सल्लाह दिनुभयो ।

राजनीतिक विश्लेषक डा सुरेन्द्र केसीले जनताले सरकारको व्यवहारलाई नियालिरहेको र परिणाम प्राप्त हुने काम खोजिरहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *