संघीयता खारेज नगरे मुलुक द्वन्द्वमा जान्छ: चित्रबहादुर केसी

Sharing is caring!

असोज ३१, २०७५ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता खारेज गर्न माग गरेका छन् । उनले भने,‘यदि संघीयता खारेज नगरे मुलुक द्वन्द्वमा जान्छ र असफल हुन्छ ।’

रिपोर्टस क्लब नेपालले बुधबार आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष केसीले नेपालजस्तो सानो देशमा अर्थतन्त्र पनि कमजोर भएकाले संघीयता धान्न नसक्ने भन्दै खारेजीको माग गरेका हुन् । प्रदेश नम्बर ४ का मूख्यमन्त्री पृथ्वीसुब्बा गुरुङमाथि कटाक्ष गर्दै केसीले ‘रेडलाईट एरिया’ खोलेर कर असुलेर संघीयता नचल्ने पनि बताए ।

केसीले नेपाल जोगाउनकै लागि भएपनि संघीयता खारेज गर्नैपर्ने बताए । केन्द्र सरकार र प्रदेश सरकारबीचको सम्बन्ध राम्रो हुन नसकेको भन्दै उनले प्रदेश नम्बर २ ले केन्द्रको नीतिबाहिर गएर विधेयकहरु बनाउँदा समग्र देश नै धरापमा पर्ने दावी गरे ।

“२ नम्बर प्रदेशले संघीयताको आवरणमा एक मधेश एक प्रदेश बनाउन सक्छ कि सक्दैन ?” केसीले प्रश्न गरे । ६४ सालदेखि नै राष्ट्रिय जनमोर्चाले नेपालमा संघीयता सम्भव छैन भन्दै आए पनि ठूला दलहरुले संघीय प्रणाली ल्याएको भन्दै उनले अहिले जनताले पनि संघीयता नचाहिने बताउन थालेको जिकिर गरे ।

तीन तहको सरकार निर्माण भएपछि जनतामा करको भार थपिएकाले पनि जनता आजित भएको केसीको तर्क थियो । च्याङ्ग्रादेखि साग बेच्नेसम्मलाई करको भार थोपरिएको भन्दै केसीले आपत्ति प्रकट गरे । उनले भने,‘अहिले च्यांग्रा बेच्नेलाई संघीयता के हो भनेर थाहा भैसकेको छ ।’

अनावश्यक करकै कारण संघीयता धरापमा परेको उनको तर्क थियो । एउटा नेपाल चलाउन नै कठीन भएको अवस्थामा सातवटा प्रदेश सातवटा देश जस्तो भएको भन्दै केसीले कुनै पनि हालतमा संघीयता सफल नहुने ठोकुवा गरे ।

सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लगाउँदै केसीले महङ्गी र कालोबजारी रोक्न नसकेको सरकारले रेल र पानी जहाजको सपना बाँडेर अलमल्याएको पनि आरोप लगाए ।

यातायात क्षेत्रको सिन्डिकेट, ३३ किलो सुन, निर्मला पन्त हत्या प्रकरणलगायतका विषयमा सरकार चुकेको केसीले बताए ।

सरकारले राम्रो काम गर्न सक्ने संकेत नदेखिएको भन्दै केसीले भने, “धानका छाँट पराले देखेर चिनिन्छ ।”

केसीले काठमाण्डौ महानगरपालिकाले पनि उल्लेख्य काम गर्न नसकेको आरोप लगाए । उनले महानगरमा जनप्रतिनिधी चुनिएर आएको डेढ वर्षसम्म कुनै पनि काम हुन नसकेको जिकिर गरे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *