लेखापालको कमाई ५ करोड ९८ लाख, वैध ८८ लाख मात्रै

Sharing is caring!

बैशाख २४, २०७६ । यातायात व्यवस्था कार्यालय सवारी कोसीका लेखापाल सुरेश अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा चलाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैद सजाय र जरिवाना माग गर्दै सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले ५ करोड १० लाख ३३ हजार रुपैयाँ बिगो दाबी गरेको छ । अधिकारीको सम्पत्ति मूल्यांकनबाट १६ वर्षे जागिरे जीवनमा ५ करोड ९८ लाख आर्जन गरेको देखिएको छ । यसमध्ये ८८ लाख रुपैयाँ मात्र वैध छ ।

उनले २०५९ मा जागिर सुरु गरेका थिए । उनले वैधानिक रुपमा ८८ लाख ३४ हजार ८ सय ८५ रुपैयाँ आय आर्जन गरेको र बाँकी रकम अवैध देखिएको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

२०५९ देखि २०६० सम्म एक वर्ष रोल्पाको तेवाङमा गाविस सचिव रहेका अधिकारी २०६० देखि २०६५ सम्म नेपाल टेलिकमको सहायकस्तर तह ४ को पदमा कार्यरत थिए । निजामती सेवाको लेखापाल पदमा २०६५ चैतमा नियुक्त भई उनले कोष तथा लेखा नियन्त्रक कार्यालय भोजपुरमा दुई वर्ष काम गरे । उनी २०६७ देखि २०७४ वैशाखसम्म यातायात व्यवस्था कार्यालय कोसी इटहरीमा लेखापाल पदमा कार्यरत रहे । २०७४ वैशाख ६ गते राजस्व हिनामिनामा उनी निलम्बनमा परेका थिए ।

२०५९ असोजदेखि २०७५ वैशाखसम्मको आयव्यय तथा सिर्जित सम्पत्तिउपर विश्लेषण गर्दा निजले तलबभत्ता, प्रोत्साहन भत्ता, जग्गा बिक्री, नगद अंश भर्पाइ, कर्जालगायतबाट ८८ लाख ३४ हजार ८ सय ८५ रुपैयाँ आर्जन गरेको अख्तियारले जनाएको छ । सोही अवधिमा उनले आफू र       श्रीमतीहरू दुर्गा अधिकारी, दीपा       श्रेष्ठ (अधिकारी), सुस्मिता अधिकारी, सोममाया श्रेष्ठसहित सासू पुष्पकुमारी निरौला र मामा नाताका बलराम शर्मासमेतका नाममा खरिद गरी राखेका एवं लगानी गरेको चलअचल सम्पत्ति जग्गा खरिद, घर निर्माण, सवारी साधन खरिद, लगानी तथा खर्च एवं विभिन्न बैंक तथा वित्तीय संस्थामा मौज्दातलगायतमा ५ करोड ९८ लाख ६८ हजार रुपैयाँ खर्च तथा लगानी गरेको अख्तियारको अनुसन्धानले देखाएको छ ।

५ करोड १० लाख ३३ हजार रुपैयाँबराबरको स्रोत नखुलेको अख्तियारले जनाएको छ । भ्रष्टाचार निवारण ऐनअनुसार दुई वर्ष कैद र बिगोबमोजिम जरिवाना गरी गैरकानुनी सम्पत्ति जफत गर्न अख्तियारले अदालतसमक्ष माग गरेको छ । उनका श्रीमतीहरू, सासू र मामालाई प्रतिवादी बनाइएको छ । उनीहरूका नाममा रहेका सम्पत्ति जफत गर्न माग गरिएको छ । तर, त्यस्तो सम्पत्तिको हक हस्तान्तरण गरिसकेको र त्यसरी हस्तान्तरण गर्दा थैली कायम भएको रहेछ भने सो रकम ‘कपाली’सरह हुने व्यवस्था छ । यो खबर अन्नपूर्ण पोस्टबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *