लाभ करको टुंगो लाग्न अझै समय लाग्ने
असार १८, २०७५ । बोनस र हकप्रद सेयरमा पुँजीगत कर लगाउने बारे निर्णय गर्न अझै समय लाग्ने भएको छ । पुँजीगत लाभकरको उयुक्त समाधान खोज्न गठन भएको कार्यदललाई दिएको समय सकिए पनि प्रतिवेदन नबुझाएपछि झनै ढिला हुने भएको हो ।
बोनस र हकप्रद सेयरमा पुँजीगत लाभकर लिँदा आधार मूल्य १ सय रुपैयाँ तोकेपछि लगानीकर्ता आन्दोलित भएका थिए । लगानीकर्ताले सेयर कारोबार नै ठप्प गरेपछि सरकारले पुँजीगत लाभकरका सम्बन्धमा आवश्यक अध्ययन गरी उपयुक्त सुझावसहितको प्रतिवेदन बुझाउन भन्दै गत जेठ २२ गते कार्यदल गठन गरेको थियो । अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा गठित कार्यदलका लागि १५ दिनको मात्र समय दिइएको थियो । तर, कार्यदल गठन भएको लामो समय वित्दासमेत प्रतिवेदन बुझाएको छैन ।
कार्यदलले छलफल गर्दा हकप्रद र बोनस सेयरमा पुँजीगत लाभकर लगाउँदा एक सय रुपैयाँ आधार मूल्य नभई बेटेड एभरेजका आधारमा लाभ कर लिने विषयमा लगभग सहमतिको भएको एक सेयर लगानीकर्ताले बताए । “सरकारले अहिले कारोबार कर लगाउन अवस्था छैन,” ती लगानीकर्ताले भने, “सेयर बजार घट्दो क्रममा रहेकाले कारोबार कर लगाउँदा झन् समस्या बढ्न सक्छ ।” तर, सेयर बजारको कर विवाद सुल्झाउन दीर्घकालीन समाधान हुने गरी उपयुक्त व्यवस्था गर्न आवश्यक रहेको उनले बताए ।
कार्यदलका संयोजकसमेत रहेका अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्री भने काम भइरहेको बताए । “पुँजीगत लाभकरको सन्दर्भमा काम भइरहेको छ,” खत्रीले भने, “प्रतिवेदन तयार गरेर सरकारलाई बुझाउँदा अझै केही समय लाग्न सक्छ ।”
लगानीकर्ता घाटामा भएको अवस्थामा पनि पुँजीगत लाभकर तिर्नुपर्ने भन्दै आन्दोलित भएपछि समाधानका लागि सरकारले अर्थ मन्त्रालय वित्तीय व्यवस्थापन विभागका सहसचिव, आन्तरिक राजस्व विभाग, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज (नेप्से), सिडिएस एन्ड क्लियरिङका प्रतिनिधि, आमन्त्रित सदस्यको रुपमा लगानीकर्तासहित सेयर बजारविज्ञसमेत सहभागी हुने गरी कार्यदल गठन गरेको थियो । कार्यदलले २ पटकसम्म बजारका सम्पूर्ण पक्षहरुसँग छलफल पनि गरिसकेको छ ।
आन्तरिक राजस्व विभागले हकप्रद र बोनस सेयरमा अंकित मूल्यलाई आधार मूल्य मानेर पुँजीगत लाभकर लगाउने निर्णय फिर्ता नभएसम्म आन्दोलन गरेका सेयर लगानीकर्ता संघ संगठन पछिल्लो समयमा भने मौन छन् । सेयर बजार नै बन्द हुने गरी आन्दोलनमा उत्रेका लगानीकर्ता अर्को व्यवस्था नभएसम्म पुरानै पद्धतिमा पुँजीगत लाभकर लिइने निर्णय सरकारले गरेपछि लगानीकर्ताले नियमित सेयर किनबेच सुरु गरेका थिए ।यो खबर आजको कारोबारबाट लिएका हौ।