रुकुम घट्ना : सोती हत्या काण्ड जातीय विभेदको पराकाष्ठ भएको ठहर

Sharing is caring!

जेठ २९, २०७७ । राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालले रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ मा गत जेठ १० गते भएको घटना जातीयताकै कारण सुनियोजित तरिकाले भएको ठहर गरेको छ । सङ्घको आयोजनामा एक अध्ययन टोलीले गरेको स्थलगत अध्ययन प्रतिवेदन अनुसार घटना सुनियोजित तरिकाले षड्यन्त्रमूलक ढङ्गबाट भएकोले गहन तरिकाले अध्ययन गर्न सरकारलाई सुझाव दिएको छ ।

सदस्यहरु अधिवक्ता बद्रीप्रसाद भुषाल, दलित अधिकारकर्मी गोपाल नेपाली, भीम घिमिरे, चिन्ता परियार र सङ्घका उपाध्यक्ष गोपाल बराइली संयोजक रहेको अध्ययन समितिले बिहीबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतिवेदन सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको प्रतिवेदनमा घटनामा संलग्न व्यक्तिहरुलाई हदैसम्मको कानूनी कारवाही गर्नुपर्ने सुझाव दिएको छ ।

यही जेठ १० गते रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोती निवासी सुश्मा मल्लसँग नवराज विश्वकर्माको अन्तरजातीय प्रेम सम्बन्ध भएको र विवाहका लागि साथीहरु लिएर केटीको घरमा जादैगर्दा स्थानीयले कुटपिट गरी हत्या गरिएको पीडित परिवारको भनाइ छ ।
मृतक नवराजसँगै अन्य पाँच जनाको पनि मृत्यु भएको थियो । प्रतिवेदनमा भनिएको छ,“यो जातीय विभेदकै कारण सामुहिक हत्या भएका कारण मृतक ६ जनालाई सांस्कृतिक सहिद घोषणा गर्नुपर्छ ।” निष्पक्ष रुपमा छानविन गरी दोषीलाई हँदैसम्मको कानूनी कारवाही गर्न माग दलित समुदायले विभिन्न जिल्लामा प्रदर्शनसमेत गर्दै आएको छन् ।

अध्ययन टोलीको बृहत छलफल तथा अन्तरक्रियाका आधारमा सोती हत्या काण्ड जातीय विभेदको पराकाष्ठ भएको ठहर गरेको छ । प्रतिवेदनमा उल्लेख गरिएको निश्कर्षमा भनिएको छ,उक्त घटनाको जड अन्तरजातीय प्रेम रहेको कुरामा कसैले पनि नकार्न सक्दैन । जातका आधारमा घटित उक्त घटना पुर्व योजनाअनुसार चारैतिरबाट घेरेर, जाजरकोट जोड्ने कालेगाँउको पुलमा थुन्नुका साथै केही व्यक्तिहरु फुटबल खेल्ने निहुँमा भेरी पारी पुगेको देखिन्छ ।

घटनाको प्रकृति, घाइतेहरुको भनाई, आफन्तहरुको भनाई, स्थानीय सरकार, नेपाल प्रहरी तथा घटनाको पृष्ठभूमि हेर्दा उक्त घटना नियोजित रुपमा भएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ । उक्त हत्यालाई लकडाउन उलंघन गरेको तथा भागदौडका क्रममा आफैँ भेरीमा हाम फालेको वारदात कायम गराउने परिपञ्च स्वरुप आएको देखिन्छ । घटनाको जरिया (जड) अन्तरजातीय प्रेमसम्बन्ध नै देखिन्छ । जातीय विभेद तथा छुवाछूत कै कारण उक्त प्रेम सम्बन्ध अस्विकार्य भई सामुहिक हत्या भएको देखिन्छ ।

अध्ययन समितिका संयोजक गोपाल बराईलीले प्रतिवेदन सार्वजनिक गर्दै वाचन गरेर सुनाएका थिए । उनले घट्नामा संलग्न दोषीहरुलाई हदैसम्मको कारबाही गर्नुपर्ने आफुहरुको उद्देश्य रहेको सुनाए । त्यस्तै, उनले आफूहरुले कसैको प्रभाव र सहयोग नलिईकन घट्नाको अध्ययन गरेको र प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको स्पष्ट पारे । र, उक्त घट्नामा १८ जना युवाहरुमध्ये एक जनाले पनि प्रतिकार नगरेको बराईलीले स्थलगत अध्ययनबाट थाहा पाएको सुनाए ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले जातीय विभेदकै कारण प्रेम सम्बन्धलाई चूनौति दिईएको र धरापमा पारिएको र त्यही श्रृंखलाको कडीको रुपमा ६ जनाले ज्यान गुमाउनु परेको स्पष्ट तस्विर आफूहरु काठमाडौंमा बस्नेले पनि बुझ्न सकेको सुनाए ।
उनले भने,‘त्यही कारणले सञ्चारमाध्यमहरुले कुनैपनि विषय र तथ्यलाई बंग्याउनुहुँदैन् । हाम्रो धर्म भनेको न्याय नपाएकहरुलाई न्याय दिने हो । आवाजविहीनहरुको आवाजलाई मुखरित गर्ने पेशा भएकोले हामीले जे कुरा हो, स्पष्ट तस्विर राख्नुपर्छ ।’ आफूहरु पत्रकारमात्रै नभएर गलत, शोषण, अत्याचारविरुद्धको अभियन्तापनि भएको उनले सुनाए । उक्त घट्ना मानव सभ्यताकै एउटा कलंककै रुपमा रहिरहने पनि उनले टिप्पणी गरे । घट्नामा संलग्न दोषीहरुलाई कानूनसम्मत रुपमा कडाभन्दा कडा कारबाही गर्नुपर्छ ।

त्यस्तै, अध्ययन टोलीका सदस्य बद्री भुषालले गत बैशाख १७ गते नवराज बिक प्रेमिकाको घर रुकुमपश्चिम चौरजहारी नगरपालिकाको सोती गाउँमा जाँदा त्यही गाउँका स्थानीय युवा विनोद मल्लले नवरालाई झापड हानेको उल्लेख गरे । र, सोही दिन वडाअध्यक्षको एक कल फोनको भरमा नवरालाई २४ घण्टासम्म थुनामा राखिएको पनि उनले सुनाए । भुषालले यो घट्नाको अनुशन्धानमा राजनीतिक हस्तक्षेप गरिएको पनि आरोप लगाए ।
उनले यो घट्नामा नियोजित रुपमा र भौतिक रुपमा प्रत्यक्ष संलग्न दोषीहरुलाई कडाभन्दा कडा सजाय हुनुपर्नेमा जोड दिए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *