राष्ट्रपतिद्वारा टीका ग्रहण

Sharing is caring!

कात्तिक २, २०७५ । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीको अवसरमा शुक्रबार बिहान नौ बजेर ५१ मिनेटको शुभसाइतमा वैदिक विधिपूर्वक नवदुर्गा भवानीको टीका ग्रहण गर्नुभयो ।

राष्ट्रपतिले हनुमानढोका दरबारका मूल पुजारी देवराज अर्याल र राष्ट्रपति कार्यालयका पुरोहित हेमचन्द्र ढकालबाट टीका–प्रसाद, तिलक, जमरा र रक्षासूत्र ग्रहण गर्नुभएको हो ।

स्वस्तिवाचनसहित मूल पुरोहित अर्याल र अन्य पुरोहितहरुले आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक माता नवदुर्गा भवानीको आवाहन गरी स्थापना गरिएको पूर्ण कलशको जलले राष्ट्रपतिमा अभिषेक गर्नुभएको थियो ।

शास्त्रोक्त विधिपूर्वक प्रतिपदाका दिनदेखि महानवमीसम्म नवदुर्गा, कुमारी, महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजाअर्चना तथा सप्तशती पाठ गरिएको हनुमानढोका दशैघरबाट पूर्णकलशको जल, जमरा, तिलक र रक्षासूत्र ल्याइएको थियो ।

राष्ट्रपति भण्डारीले मूल पुरोहित, राष्ट्रपति कार्यालयका पुरोहित र अन्य ब्राह्मणलाई टीका, जमरा र दक्षिणा प्रदान गर्नुभयो ।

टीका ग्रहणका बेला नेपाली सेनाको एक टोलीले मन्द तर मधुर ध्वनिमा मङ्गलधुन बजाइएको थियो ।

यस्तै राष्ट्रपतिले आफ्नी आमा मिथिला पाण्डेबाट टीका–जमरा र दक्षिणा ग्रहण गर्नुभयो । साथै उनले काका डेकेन्द्र पाण्डेबाट पनि नवदुर्गा भवानीको प्रसादस्वरुप टीका–जमरा ग्रहण गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *