यस्तो पनि नगरपालिका छ जहाँ कृषकलाई पानी र बीउ निशुल्क दिइन्छ

Sharing is caring!

मंसिर २९, २०७६ । राज्यको नीति छ कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउने तर कृषकलाई सिंचाई, मल र बिउको अभावले सताइरहन्छ । देशको अधिकांश क्षेत्रका किसान खेतीका लागि वर्षाको पानीमा निर्भर हुन्छन् कि त विद्युतीय मोटर पम्पको प्रयोग गरी जमिनको पानी तान्ने गर्दछन ।

विद्युतीय मोटरबाट पानी तान्दा महङ्गो पर्ने गरेको किसानको गुनासो छ । मुलतः तराई मधेश क्षेत्रमा सिंचाई सुविधा अभावको कारण किसानहरु चिन्तित हुने गर्दछन । अन्य क्षेत्रमा परिस्थिति फरक भए पनि रौतहट जिल्लाको मौलापुर नगरपालिकाका किसान भने निश्चिन्त भएर आफ्नो पेसामा रमाउने गर्दछन र मनग्ये उत्पादन गरिरहेका छन् । किनकि यस नगरपालिकाभित्र कृषि मिटरमार्फत विद्युतीय मोटरको प्रयोग गरि सिंचाई गर्ने किसानहरुले मिटर बिल निशुल्क पाउने गरेका छन् ।

‘यस नगर क्षेत्रको ७५ प्रतिशतभन्दा बढी भूभागमा खेती हुने गर्दछ र अधिकतम स्थानीय कृषि पेसामा आधारित छन् । स्थानीयका लागि सिंचाईका लागि विकल्पको रुपमा रहेको कृषि मिटर रहेको छ । यसबापत विद्युत प्राधिकरणलाई तिर्नुपर्ने शुल्क नगरपालिकाले बेहोर्ने गरेको छ । यसले किसानलाई सहज बनाइदिएको छ’ मौलापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्र साहले भने ।

कृषिमा उच्च प्राथमिकतामा राखेको यस नगरपालिकाले सिंचाई मात्र सहज बनाइदिएको छैन उन्नत बीउ र मलको पनि उचित व्यवस्थापन गर्ने गरेको छ । निर्वाचन पश्चात् नै यस क्षेत्रका किसानलाई उन्नत बीउ र मल सहूलियत मूल्यमा उपलब्ध गराउने गरेको छ ।

प्रमुख प्रशासकीय अधिकृत साहका अनुसार नगरपालिका स्वयम ग्यारेन्टी बसेर यस क्षेत्रका किसानलाई मुल बिउ र आवश्यक उन्नत बीउ सामान्य दरमा उपलब्ध गराउने गरेको छ । जसका कारण यहाँका किसानले कृषिबाट मनग्ये आम्दानी गर्ने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *