मौसमविद् भन्छन्ः धुलो वर्षादेखि सजक रहनुस्

Sharing is caring!

असार २, २०७५ । भारतको राजस्थानलगायत आसपासका क्षेत्रको धूलो आँधीका कणहरु नेपाली वायुमण्डलमा मिसिएपछि धमिलो वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी वायुको प्रभावका कारण उक्त धुलो उच्च वायुमण्डलमा प्रवेश गरेकाले मध्यपहाडी भेग र दक्षिणतिरका भू–भागमा धमिलो वर्षा (धमिलो वा पहेँलो रंगको हिलो मिसिएको पानी) भइरहेको महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो ।

उहाँकाअनुसार गएराति पश्चिमबाट प्रवेश गरेको धुलो वर्षा आज काठमाडौँमा पनि भएको छ । उपत्यकामा विभिन्न क्षेत्रमा बिहान र अहिले पनि धुलो वर्षा भएको हो ।

उच्च वायुमण्डलमा धुलोका कण अझै पनि रहेकाले एक-दुई दिन जारी रहने मौसमविद् अर्यालको भनाइ छ । “धुलोको कण हट्न वर्षा भएर सफा गर्नुपर्ने हुन्छ । यसमा हावाको गति पनि पश्चिमबाट पूर्वतर्फ रहेकाले पूर्वी वायुलाई कमजोर तुल्याएको हुँदा पूर्णरुपमा हट्न केही दिन समय लाग्ने देखिन्छ,”– उहाँले भन्नुभयो ।

मौसमविद्को भाषामा ‘डस्ट स्ट्रोम’ भनिने धमिलो वर्षा भारतको राजस्थान, दिल्ली हुँदै नेपाल प्रवेश गरेको सम्भवतः यो पहिलो घटना हो । धमिलो वर्षाले सामान्य अवस्थामा भन्दा स्वास्थ्यमा समेत असर गर्ने देखिएकाले सजक रहन पनि विज्ञले सुझाएका छन् ।

राजधानीसहित कतिपय स्थानमा आकासे पानी संकलन गरी विभिन्न प्रयोजनमा उपयोग गरिने गरिएको छ । मौसमविद् अर्यालले यदि घरेलु उपयोगका लागि पानी संकलन गरीएको भए एक-दुई दिनको पानी संकलन नगर्न र कुनै पनि प्रयोजनका लागि उपयोग नगर्न सर्वसाधारणमा आग्रह गर्नुभयो ।

धमिलो वर्षामा रसायनिक तत्वको समिश्रण हुनसक्ने खतरा रहेकाले त्यस्तो पानी उपयोग नगर्न उहाँको सुझाव छ । “मनसुनको समयमा यो अनौठो किसिमको वर्षा नेपालमा पहिलो पटक भएकाले हामी मौसमविद् पनि अचम्ममा परेका छाँै, यस्तो वर्षा भएको रेकर्ड हामीसंग छैन्, यहाँ हिउँदको समयमा दुई-तीन दिन तुवालो लागेको बेला वर्षा भएको खण्डमा फाट्टफुट्टै रुपमा देखिने गरेको थियो तर, भारतको राजस्थानमा ‘डस्ट स्ट्रोम’ धुलोको हुरी चलिरहन्छ,”– मौसमविद् अर्यालले भन्नुभयो ।

नेपालमा मनसुन प्रवेश गरेको लामो समयसम्म पनि सक्रिय हुन नसकेको र केही दिनदेखि जारी रहेको पश्चिमी वायुको प्रभावका कारण पूर्व र मध्यका केही क्षेत्रमाबाहेक वर्षा हुन सकेको छैन ।

मौसमविद्को भनाइमा तत्काल मनसुन सक्रिय हुने देखिँदैन किनकी यसका लागि पश्चिमी वायुको प्रभाव पूरै हट्नुपर्छ । मनसुन अहिले कमजोर छ, पूर्वमा मात्र केन्द्रित रहेको छ । मनसुनी हावा पूर्वबाट बग्नुपर्ने हुन्छ, जुन त्यति कडा मात्रमा छैन । मनसुन समयमा वायुमण्डलको माथिल्लो तहसम्म पुग्नुपर्ने हुन्छ । पश्चिमी वायुले पूर्वी हावालाई पुनः पूर्वतिरै धकेलेका कारण पनि मनसुन सक्रिय हुन अवरोध सिर्जना भएको छ ।

मौसमविद् सुवास रिमालले मनसुन सक्रियम हुन अझै केही दिन लाग्ने बताउनुभयो । महाशाखाले आठ दिनअघि (जुन ८, २०१८) बाट मनसुन नेपाल प्रवेश गरेको घोषणा गरेको थियो ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँमा ६, ताप्लेजुङमा १८, पोखरामा ३० र धनगढीमा ७ मिलिमिटर वर्षा भएको छ । तीन दिनअघि काठमाडौँको अधिकतम तापक्रम ३१ दशमलव पाँच पुगेकोमा आज भने अधिकतम तापक्रम २७ र न्यूनतम १९ डिग्री सेल्सियस रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *