मोदीले ईपीजीको प्रतिवेदन छिट्टै बुझ्नुहुन्छ: सल्लाहकार भट्टराई

Sharing is caring!

कात्तिक २९, २०७५ । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (ईपीजी) ले तयार पारेको संयुक्त प्रतिवेदन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिट्टै बुझ्ने स्पष्ट पारेका छन् । उनले भने,‘यसबारेमा हामी दुवै तर्फका सदस्यहरुबीच कुराकानी भैरहेको छ । हाम्रो तर्फका संयोजकले भारतीय संयोजकसँग कुराकानी गरिरहनुभएको छ । अब मोदीले छिट्टै प्रतिवेदन बुझ्नुहुन्छ। तर अहिले मिति तोक्दैनौं।’

राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै डा. भट्टराईले ईपीजीले नेपाल–भारत द्धिपक्षीय सम्बन्धका सन्धि, सम्झौतादेखि लिएर सबै पक्षको बारेमा पूनरावलोकन गरेको दाबी गरे । उनले थपे,‘ईपीजीको यो दुई वर्षे कार्यकालमा ९ पटकसम्म बैठक बसेर हामीले विभिन्न आयामबारे छलफल गर्यौं । र, हामी दुवै तर्फका बसेर एकल प्रतिवेदन बनायौं । यो प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीलाई पेश गर्ने निर्णय गरेका छौं । पहिले भारतीय प्रधानमन्त्री मोदीलाई बुझाउने भनेका छौं । ईपीजीको सुरु र अन्तिम बैठक नेपालमै बस्यो । यो संयोग नै हो । अब यो रिपोर्ट पहिला मोदीलाई बुझाउने भनेका छौं । दुवै देशका प्रधानमन्त्रीलाई बुझाएर नेपालमा संयुक्त पत्रकार सम्मेलन गर्ने भनेका छौं । हामी अहिले पर्खिएर बसेका छौं । उहाँले बुझ्नुहुन्न जस्तो मलाई लाग्दैन् । मोदीले छिट्टै प्रतिवेदन बुझ्नुहुन्छ ।’

सल्लाहकार भट्टराईले ईपीजीको रिपोर्ट अत्यन्तै राम्रो बनेको र दुवै देशको हितमा रहेको पनि जिकिर गरे । उनले भने,‘रिपोर्ट कसरी अघि बढाउने भन्नेबारे अहिले दुवै तर्फका संयोजकबीच कुराकानी तथा सम्वाद भैरहेको छ ।’

वर्तमान सरकार गठनका बेला मुलुक संक्रमणकालिन अवस्थामा रहेको सुनाउँदै भट्टराईले भने,‘राजनीतिक अस्थिरतापनि हामीले सँगै भोग्नुपर्यो । संविधान बन्ने हो कि होईन भन्ने अनिश्चितताका बीचमा यो सबै कुराले नेपालको अन्तर्राष्ट्रिय छबि, अन्तर्राष्ट्रिय रुपमा नेपालको बारेमा मान्छेहरुको धारणा क्रमिक रुपमा यो मुलुक कतै सँधैभरि अप्ठ्यारो झेलिरहने मुलुक, र अन्तत्वगत्व यो असफल राष्ट्रतर्फ पो उन्मुख हुने हो कि भन्ने आशंकाहरु हुने गरेका थिए । तर, हामीले संविधान जारी गरिसकेपछि र त्यो संविधानअन्तर्गत रहेर तीनै तहका सरकार बनाएपछि र

बहुमतको सरकार बनाईसकेपछि उहाँहरुको चासो अहिले द्वन्द्वबाट शान्ति प्रक्रियामा, त्यसपछि सहमतिमा संविधान जारी गरेको र एकात्मक शासन प्रणालीबाट संघात्मकमा जान कसरी सम्भव भयो भनेर रहेको छ। नेपालमा भएका कुटनीतिक नियोगका प्रमुखहरु र हामीसँग भएको कुराकानीमा यो विषयमा उहाँहरुको चासो रहेको पाईन्छ।’

नेपालबाट अन्य द्धन्द्धग्रस्त देशहरुले पनि सकारात्मक कुरा सिक्न सक्नेछन भनेर कुटनीतिक नियोगका प्रमुखहरुले भन्न गरेको पनि भट्टराईले सुनाए । उनले भने,‘एक किसिमले भन्ने हो भने यो हाम्रो राष्ट्रिय पुँजी हो । हाम्रो सफलताको सन्देशसहित उनीहरुसँग हाम्रो अनुभव आदान–प्रदान गर्नुपर्छ । अहिले पछिल्लो कालमा हाम्रो दुई वटा मुलुकबाट नेपालमा हाई–लेभल भिजिट भएको छ । अफगानिस्तान र म्यानमारबाट नेपालमा उच्चस्तरीय भ्रमण भएका छन् ।’

नेपालले आन्तरिक रुपमा प्राप्त गरेको यी उपलब्धिहरुलाई विदेश नीतिको एउटा एजेण्डा भएको उनको तर्क छ । ‘हामीले द्धिपक्षीय र बहु–आयामिक अन्तर्राष्ट्रिय सेमिनारहरुमा यी विषयहरुलाई पनि उठाउनुपर्छ । यो सरकारले त्यो काम गर्दै आएको छ ।’–भट्टराईले भने । त्यस्तै उनले नेपालले राजनीतिक स्थिरता प्राप्त गरेर अब आर्थिक विकासमा जान्छौं भनेकाले अब त्यसको लागि विकासको साझेदारी खोज्ने बताए । उनले भने,‘विकासको साझेदारीका विभिन्न मोडेलहरु छन् । त्यसमध्ये एउटा सहायता लिने, अनुदान लिने नै हो । त्यसलाई उपयुक्त ढंगले परिचालन गरेर विकासलाई अघि बढाउने । दोस्रो, भनेको ऋण लिने हो ।’

उनले अन्तर्राष्ट्रिय संघ, संस्थाहरुबाट ऋण लिने र त्यसबाट पूर्वाधारका परियोजनाहरु अघि बढाउने सरकारको लक्ष्य रहेको सुनाए । उनले भने,‘तेस्रो मोडालिटी भनेको उनीहरुको प्रत्यक्ष संलग्नतामा विकासका आयोजनाहरु अघि बढाउने हो । उनीहरुले सम्पन्न गरेर हस्तान्तरण गर्ने हो । त्यो ह्याण्डओभरको मोडेल दुईवटै हुन्छ । एउटा–उनीहरुले बनाउने र हामीलाई दिने पनि हुन्छ । अर्को चाही उनीहरुले बनाउने र केही समय चलाएर हामीलाई पछि दिने पनि हुन्छ।’

ज्ञान र प्रविधि हस्तान्तरणको कुरा पनि महत्वपूर्ण रहेको सुनाउँदै उनले भने,‘हामी विकसित प्रविधिहरु नेपाल लिएर आउन चाहन्छौं । यी सबै कुराहरुलाई लिएर वा मोडालिटीलाई लिएर सरकारले नयाँ कानुनहरु बनाउन लागेको छ । हामी छिट्टै नयाँ कानुनहरु ल्याउँछौं । हामीले हाम्रो विदेशमा रहेका मिशनहरुलाई पनि त्यहीअनुसार निर्देशन दिने र परिचालित गराउँछौं ।’

नेपालको अन्तर्राष्ट्रिय सम्बन्धहरुलाई अब धेरैभन्दा धेरै मुलुकहरुसँग द्धिपक्षीय सम्बन्ध बनाउने उनले विश्वास दिलाए । उनले भने,‘नभएका देशसँग द्धिपक्षीय सम्बन्ध बनाउने । र, भएका देशहरुसँग हामीले लिनसक्ने व्यापार र लगानीजस्ता कुराहरुमा अघि बढाउने हो । सामाजिक, सांस्कृतिक, शिक्षा, स्वास्थ्यको क्षेत्रमा आदान–प्रदान गर्नुपर्ने कुरामा बढि केन्द्रित हुन्छौं । हामी यी विषयमा कति सफल छौं भनेर ती कुराहरुमा पूर्नमूल्र्याकन गर्नुपर्ने छ । ती सबैको पूनरावलोकन गरेर त्यसका कमिकमजोरीहरु पत्ता लगाउने र भएका खाल्डाखुल्डीहरु पुर्दै एउटा नयाँ बाटोतर्फ जाने हाम्रो विदेश नीति छ।’

नेपाल–भारत द्धिपक्षीय सम्बन्ध अन्य मुलुकभन्दा घनिष्ठ रहेको उनले बताए । उनले भने,‘नेपाल र भारतबीचको सम्बन्ध बहुआयामिक छ । योसँग जोडिएका धेरै विषयहरु छन् । विगतका खासगरी ऐतिहाँसिक कालदेखि विषयहरु जोडिएका छन् । हामीसित केही विवादित सन्धि तथा सम्झौताहरु पनि भएका छन् । जलस्रोतको विषय होला । व्यापारको विषय होला । हामीले पाउनुपर्ने टा«न्जिट फ्यासिलिटीको विषय होला । यी सबै तमाम विषयहरुलाई पूनरावलोकन गर्नेगरि हामीले ईपीजी गठन गरेर काम गर्यौं ।’

नेपालको सम्बन्धलाई सबै मुलुकसँग उतिकै महत्वका साथ अगाडि बढाउने उनको भनाई छ । उनले भने,‘फलानोसँग हाम्रो विशेष सम्बन्ध हो, अर्कोसँग होईन भन्दैनौं । सबैसँग उतिकै राम्रो सम्बन्ध बनाउँछौं । तर, व्यवहारिक रुपमा हामी भारतसँग बढि नजिक छौं । हाम्रो दुई तिहाई व्यापार भारतसँग हुन्छ । लगानीपनि ठूलो संख्या छ । हामीसँग खुल्ला सिमाना रहिरहेको छ । परम्परागत रुपमा रहेको सम्बन्धका केही आधारहरु छन् । राजनीतिक किसिमका सम्बन्धहरु छन् । शिक्षा, स्वास्थ्यजस्ता जोडिएका कतिपय कुराहरु छन् । कतिपय सांस्कृतिक पक्षसँग जोडिएका सम्बन्ध छ । त्यसो हुँदा हाम्रो सम्बन्ध बढि भारतसँग छ ।’

त्यस्तै चीनसँगपनि नेपालको सम्बन्ध उतिकै प्रगाढ रहेको उनले बताए । भट्टराईले भने,‘चीनसँग हामी हजारौं वर्षदेखि एउटै हिमालको दुई तिर बग्ने पानी पिएर हुर्केका छौं । चीनसँग अब यातायातको सञ्जाल जोडिन सक्ने स्थिति भएको छ । रेलको सञ्जालपनि जोडिन सक्ने अवस्था छ । अब दक्षिणतर्फ मात्रै होईन, उत्तरसँगपनि क्रस बोर्डर टा«न्समिशन लाईन (गल्छी–केरुङ) को लागि छलफल सुरु गरेका छौं । यो भोलि किमाथांका र उत्तरतर्फको भु–भागमा बन्न सक्ने कुरा छ। हामी उत्तरतिर पनि कनेक्टिभीटीको सञ्जाल बढाउन खोज्दैछौं ।’

भारत र चीन दुवै मुलुक सम्पन्न मुलुक भएकोले अब नेपालले दुवै मुलुकसँग आफ्नो सम्बन्ध आर्थिक रुपमा केन्द्रित गर्नेपनि उनले जनाए । उनले भने,‘भारत र चीन दुवै मुलुक आर्थिक र सामरिक हिसाबले पनि विश्वमा उदयीमान मुलुक हुन् । राजनीतिक हिसाबलेपनि उनीहरुको प्रभाव फैलँदो छ । त्यो फैलँदो प्रभावबाट हामीले हाम्रो मुलुकको हितमा, हाम्रो राष्ट्रिय हितलाई केन्द्र भागमा राखेर के–के कुरा लिन सक्छौं । अहिले अत्यन्तै राम्रो अवसर हाम्रो कार्यकालमा आएको छ । आन्तरिक रुपमा पनि हामीले राजनीतिक स्थायित्व प्राप्त गरिरहेको अवस्था छ । बाहृय रुपमा पनि उनीहरुले आफ्नो प्रभाव अन्र्राष्ट्रिय रुपमा विस्तार गरिरहेको अवस्था छ । यो अत्यन्तै अनुकुल अवस्था हो । यो अवसरलाई बास्तवमा हामीले आर्थिक, सामाजिक रुपमा र विकासमा फड्को मार्ने अवसरको रुपमा लिनुपर्छ ।’

ईथोपिया, नाईजेरिया, रुवाण्डाको विकासपनि चीनसँग जोडिएको र ल्याटिन अमेरिकाको व्यापार अहिले सबैभन्दा बढि चीनसँग भएको पनि उनले सुनाए । उनले भने,‘भारतीयहरुले पनि अहिले अफ्रिकामा आफ्नो लगानी र व्यापार विस्तार गरिरहेका छन् । तर, हामीले यस्ता दुवै उदयीमान देशसँग जति फाईदा लिनुपर्ने हो त्यति लिन सकेका छैनौं । त्यसका लागि चाहिनेजति अनुशन्धान, अध्ययन, र बनाउनुपर्ने नीतिलाई हामीले प्राथमिकतामा राख्न सकेका छैनौं ।’

सरकारले युरोप, अमेरिका, नर्थ अमेरिका र एशियन मुलुकसँगपनि उतिकै राम्रो सम्बन्ध बनाउने र प्राथमिकतामा राख्ने भट्टराईले विश्वास दिलाए । उनले भने,‘अहिले दुई वटा छिमेकी भए पुग्छ भन्ने खालको अभिव्यक्ति कता–कता आईरहेको छ । त्यस्तो होईन, हामीले सबैसँग मित्रवत सम्बन्ध राख्नुपर्छ । दुई वटा छिमेकीले मात्र पुग्दैन् । आफ्नो देशको हितमा फाईदा लिनेगरि नीतिहरु बनेका छन् । अब तीनलाई प्रभावकारी रुपमा लागु गर्छौं ।’

प्रधानमन्त्री केपी शर्मा ओली आगामी सन् २०१९ को जनवरी-फेब्रुअरीतिर महत्वपूर्ण भ्रमणमा जाने आफूले सूचना पाएको पनि भट्टराईले जानकारी दिए । उनले भने,‘उहाँ महत्वपूर्ण अन्तर्राष्ट्रिय फोरममा सहभागी हुन विदेश भ्रमणमा जानुहुन्छ । त्यस्तै द्धिपक्षीय भ्रमणमा पनि जाने सूचना छ।’

फरक प्रसँगमा उनले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण नभएको लामो समय भएको सुनाए । भट्टराईले भने,‘हाम्रो तर्फबाट (प्रधानमन्त्री र राष्ट्रपति) दुवैको तर्फबाट चिनीयाँ राष्ट्रपति र उपराष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो गैसकेको छ । उहाँहरु आउनुहुन्छ भन्ने हाम्रो विश्वास छ । र आग्रहपनि छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *