‘मुलुक द्वन्द्वको खतरामा’

Sharing is caring!

भदौ २७, २०७५ ।  नेपाली सेनाले मुलुक पुनःआन्तरिक द्वन्द्वको खतरामा रहेको संकेत गरेको छ । मुलुक स्थिरता र समृद्धितर्फ उन्मुख भएको अवस्थामा समेत कतिपय बाह्य र आन्तरिक सुरक्षाका कारण द्वन्द्वको संभावना उत्तिकै रहेकोतर्फ सैनिक मुख्यालयले संकेत गरेको हो ।

जातिय, क्षेत्रीय र धार्मिक असहिष्णुताका कारण मुलुकमा पुनः द्वन्द्व निम्तन सक्ने भन्दै नेपाली सेनाले आफ्ना सकलदर्जालाई सचेत गराएको छ । उसले जस्तो सुकै परिस्थिति आए पनि त्यसको सामाना गर्न समेत निर्देशन दिएको छ ।

मुलुकमा संकीर्ण जातिवाद, कट्टर क्षेत्रीयतावाद र धार्मिक असहिष्णुताको माध्यमबाट राष्ट्रिय एकता र अखण्डतामा खलल पुर्‍याउने तत्वहरू अझै सक्रिय रहेको नेपाली सेनाको निष्कर्ष छ । सामाजिक सदभाव र राष्ट्रिय सुरक्षामा खलल पुर्‍याउन खोज्ने केही तत्व सक्रिय रहेको र त्यसले राष्ट्रिय एकतामा आँच पुर्‍याउन सक्ने नेपाली सेनाको ठम्याइ रहेको छ । त्यस्ता संविधान विरोधी तत्वले मुलुकलाई पुनःअस्थिर र असफल बनाउन तयारी गरेको पुर्वसूचकहरू समेत आफूसँग रहेको सेनाले भनेको छ । तर त्यसरी मुलुकलाई असफल बनाउन खोज्ने तत्वहरू र पूर्वसूचकहरूका बारेमा भने नेपाली सेनाले केही खुलाएको छैन ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले पदवहाली गरेपछि पहिलो पटक सकलदर्जालाई सम्बोधन गर्दै यी कुरातर्फ सचेत गराएका हुन् । प्रधानसेनापति थापाले त्यसरी निम्तिने आन्तरिक द्वन्द्वलाई राजनीतिक मध्यमबाट नै समधान खोज्र्नुपर्नेमा जोड दिएका छन् । राजनीतिक माध्यमबाट समस्या समाधान नभए त्यस्ता समस्याको समाधान गर्न राष्ट्रसँग अन्य विकल्पसमेत सुरक्षित रहेको प्रधानसेनापतिको भनाइ थियो ।

राजनीतिक माध्यमबाट त्यस्ता समस्याको हल नभए विखण्डनवादी र संविधान विरोधी तत्वविरुद्ध संविधानले दिएको जिम्मेवारी पूरा गर्न नेपाली सेना तयारी अवस्थामा रहेको प्रधानसेनापति थापाको भनाइ थियो । थापाले भने, ‘राष्ट्रिय स्वाभिमान र भौगोलिक अखण्डतामा आँच पुर्‍याउन खोज्ने कसैलाई छाड्दैनैाँ ।’

प्रधानसेनापति थापाले विश्वव्यापी सञ्जालका रूपमा फैलदैं गएको आतंकवाद र अतिवादका कारण राष्ट्रिय सुरक्षा थप जटिल र संवेदनशील बन्दै गएको बताएका छन् । उनले अन्तर्राष्ट्रिय र क्षेत्रीय सन्तुलनका लागि इन्डो प्यासिफिक क्षेत्रका शक्ति राष्ट्रबीचको चासो र स्वार्थका कारण समेत मुलुकको राष्ट्रिय सुरक्षामा समेत प्रत्यक्ष असर पर्ने संकेत गरेका छन् ।

राष्ट्र निर्माता र नेपाली सेनाका मिलिटरी लिडरका रुपमा पृथ्वीनारायण शाहको योगदानको चित्रण गर्दै प्रधानसेनापति थापाले भने, ‘नेपाली सेनाको राजनीति निरपेक्ष चरित्रलाई जगेर्ना गर्नु हाम्रो दायित्व हो । यसबाट विचलित हुने छुट कसैलाई पनि हुँदैन ।’यो खबर आजको अन्नपूर्ण पोस्टबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *