महिला मन्त्रीको अवस्था: फुलमन्त्री भन्दा राज्यमन्त्री धनी

Sharing is caring!

जेठ १०, २०७५ । केपी ओली सरकारमा महिला मन्त्रीको आर्थिक अवस्था पुरुषको भन्दा कमजोर रहेको पाइएको छ । सार्वजनिक गरिएको सम्पत्ति विवरणमा महिला मन्त्रीहरु गरिब देखिएका हुन् । यता अधिकांश मन्त्रीका श्रीमती भने करोडौँ सम्पत्तिका मालिक देखिएका छन् ।

मन्त्रीका श्रीमतीहरु करोडपति हुँदा महिला मन्त्रीहरु भने गरिब भएको सम्पत्ति विवरणले देखाएको हो । ओली सरकारका ४ महिला मन्त्रीमध्ये तीनजनाले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा, खानेपानी मन्त्री विना मगर र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पदमकुमारी अर्यालले सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

थममाया गरिब मन्त्री 

पुरुष मन्त्रीको तुलनामा महिला मन्त्रीको सम्पत्ति न्यून देखिएको छ । मन्त्री थममाया थापाको म्यादीको बेनी-८ मा ७ रोपनी एकाना ८ दाम जग्गा र १ तोला तथा बैंकमा १५ हजार रुपैयाँ रहेको उल्लेख छ । सम्पत्ति विवरण अनुसार थापा सबैभन्दा गरिबमन्त्री भएकी छन् ।

त्यस्तै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी खानेपानी मन्त्री मगरसँग ५ तोला सुन र १६ तोला चाँदी तथा श्रीमान स्वर्गीय प्रकाश दाहालको नाममा रहेको एउटा स्कुटर रहेको उल्लेख छ ।

मगरले सार्वजनिक गरेको सम्पत्ति विवरणमा भरतपुर महानगरपालिका-१४ मा श्रीमान प्रकाशको नाममा २ कठ्ठा  र सासू सीता दाहालको नाम भरतपुर-१२ मा एक कठ्ठा जग्गा रहेको उल्लेख छ ।

राज्यमन्त्री धनी

दुई मन्त्री भन्दा राज्यमन्त्री पद्मा अर्याल धनी रहेको सम्पत्ति विवरणले देखाएको छ । स्याङ्जाको वालिङमा १२ आना जग्गामा घर रहेको अर्यालको सम्पत्ति विवरणमा उल्लेख छ । त्यसैगरी कृषि विकास बैंकमा ८ लाख रुपैयाँ बचत रहेको उल्लेख छ ।

उनको नाममा मेगा बैकमा ९३३ वटा, जनता टिभीमा एक लाख, विभिन्न सहकारीमा ७५ हजार सेयर छ ।  राज्यमन्त्री अर्यालको नाममा एसबीआई बैंकमा ५ लाख ऋणसमेत छ ।

रुपन्देहीको देवदहमा १७ कठ्ठा २ धुर, बर्दियाको कालिकामा ५ कठ्ठा जग्गा हालै बिक्री गरेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ । मन्त्री आर्यालका श्रीमान लक्ष्मीपति पौडेलको नाममा कीर्तिपुरमा साढे ९ आना, रुपन्देहीमा साढे १८ कठ्ठा, स्याङ्जाकै वालिङमा २ रोपनी ७ आना र अर्जुनचौपामा ६५ रोपनी जग्गा छ । श्रीमानकै नाममा ३ वटा ट्याक्टर समेत रहेका छन् ।

मन्त्री अर्यालसँग १५ तोला सुन र २० तोला चाँदी  रहेको सम्पत्ति विवरणमा उल्लेख छ । कृषि, भूमि व्यवस्था तथा सहकारी रामकुमारी चौधरीले भने सम्पत्ति विवरण सार्वजनिक गरेकी छैनन् ।यो खबर आजको अन्नपुर्ण पोस्टमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *