महिलामाथि भएका अपराधका घट्नाका दोषीलाई कारबाही नगरिए देशव्यापी आन्दोलन गर्ने चेतावनी

Sharing is caring!

साउन ११, २०७७ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघले देशमा भएका विभिन्न महिला हिंसाका घट्नाका प्रत्यक्ष दोषीहरूलाई कुनैपनि हालतमा उन्मुक्ति दिन नहुने र घट्नामा संलग्नहरूलाई कडाभन्दा कडा कारबाही नगरीए देशव्यापी रूपमा सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ ।

आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै नेपाल महिला संघले श्रीमतीको हत्या गरेको प्रमाणित भएपछि सर्वस्वसहित जन्मकैद सजाय भोगिरहेका रञ्जन कोइरालालाई सजाय घटाईएको घट्ना, निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज दुई वर्ष पुग्दापनि सरकारले दोषीलाई कारबाही गर्न नसकेको र हिट एण्ड रन मुद्दामा अभियुक्त पृथ्वी मल्ललाई पाँच लाख धरौटीमा रिहाई गरिएको र युवतीमाथित एसिड आक्रमणलगायतका घट्नाको विरोध गर्दै माथि उल्लेखित सबै घट्नाका दोषीहरूलाई कारबाही गरिनुपर्ने माग गरेको हो ।

कार्यक्रममा नेपाल महिला संघकी महासचिव तथा पूर्व सांसद धना खतिवडाले नेपालमा पछिल्लो समय महिला हिंसाका घट्नाहरु दिनप्रतिदिन बढिरहेको बताउँदै घट्नामा संलग्न दोषीहरूलाई कडाभन्दा कडा कारबाही गरिनुपर्ने माग गरिन् ।

उनले निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज दुई वर्ष पूरा हुँदासमेत सरकारले दोषीलाई कारबाही गर्न नसकेको र पीडित परिवारलाई न्याय दिलाउन नसकेको गुनासो पोखिन् । उनले भनिन्,‘आज दुई वर्ष हुँदासमेत सरकारले निर्मलाको हत्यारालाई पक्राउ गर्न सकेको छैन् । देशमा कानूनी राज्यको उपहास भएको छ ।’ बलात्कारपछि हत्याजस्तो जघन्य अपराधमा संलग्न दोषीहरूमाथि कडा कानूनी कारबाही नहुँदा अपराध गर्नेहरुको मनोवल बढेको उनको टिप्पणी छ ।

वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख भएकोले यतिवेला आम जनता सचेत हुनुपर्ने अवस्था समेत आएको उनको जोड छ । खतिवडाले हालै ओखलढुंगा स्थायी घर भई काठमाडौंमा बस्ने २२ वर्षीया पवित्रा कार्कीमाथि भएको एसिड आक्रमण भएको घट्नाको पनि कडा निन्दा गरिन् ।

उनले एसिड आक्रमण गर्ने अपराधीहरुलाई कडा कारबाही गरिनुपर्ने जोडदार माग गरिन् । त्यस्तै, आफ्नै श्रीमती गीता ढकालको हत्या गरेको आरोपमा सर्वस्वसहित जन्मकैद पाएका पूर्व डिआइजी रञ्जन कोइरालालाई सर्वोच्चले कैद मिनाह गरेको फैसलाप्रति उनले घोर आपत्ति जनाईन् । सर्वोच्चको पछिल्लो फैसलाले देशमा न्याय मरेको आभाष भएको पनि उनको तर्क थियो ।

महिलामाथि हुने हिंसाका घट्नाहरू जति निन्दा गरेपनि कमै हुने उनको भनाई छ । आफूले विगतदेखि नै महिलामाथि हुने जघन्य अपराध र हिंसाका घट्नामा संलग्नहरूलाई कानुन संशोधन गरेर भएपनि कडाभन्दा कडा कारबाही गरिनुपर्ने आवाज उठाउँदै आएको स्मरण गराउँदै खतिवडाले भनिन्,‘अन्तर्राष्ट्रिय कानून संशोधन गरेर भएपनि बलात्कारपछि हत्या गर्नेजस्तो जघन्य अपराध गर्ने, जिउँदै जलाउनेलगायतका घट्नामा संलग्न दोषीहरुलाई मृत्युदण्ड नै दिनुपर्छ भन्ने मेरो मान्यता हो ।’

नेपालमा पछिल्लो समय पैसामा न्याय बेचिने गरेको पनि उनको टिप्पणी छ । उनले भनिन्,‘नेपालमा अझैपनि ठूलालाई चैन र सानालाई ऐन भनेजस्तै छ, संविधान र कानूनमा लेखिएपनि व्यवहारमा अझैपनि लागु हुन सकेका छैनन् । यसतर्फ सरकारले गम्भीर ध्यानुपर्छ ।’

अझैपनि नेपालमा महिलालाई दोस्रो दर्जाको नागरिकको रुपमा व्यवहार गरिने गरिएको उनको दुःखेसो छ । खतिवडाले रञ्जन कोइराला जेलबाट रिहा हुँदै गर्दा उनलाई लिन कारागारमै गाडी लिएर महिला जानु अर्को विडम्बना भएको टिप्पणी गरिन् । महिलामाथि हुने हिंसा, अपराधका घट्नामा सबै एकजुट हुनुपर्ने उनको धारणा छ ।

उनले प्रतिशोध साँध्ने हतियारको रुपमा एसिड हान्ने प्रवृत्ति मौलाएको सुनाउँदै एसिडको बिक्रि–वितरणमा नै प्रतिबन्ध लगाउनुपर्नेमा जोड दिईन् । उनले भनिन्,‘पछिल्लो सात वर्षमा १९ युवती र तीन पुरुषमाथि एसिड प्रहारका २१ घट्ना भएका छन् ।’ उनले २०७६ साल साउन २६ गते सम्मानित सर्वोच्च अदालतले एसिड नियमन गर्नेबारे गरेको आदेश सरकारले किन कार्यान्वयन गरेन ? भन्ने प्रश्नसमेत गरिन् ।

उनले भनिन्,‘यदि सरकारले सर्वोच्च अदालतले गरेको आदेशको पूर्ण कार्यान्वयन गरेको भए आज युवतीहरुमाथि यसरी एसिड आक्रमण हुने थिएन् । यसमा सरकारको गम्भीर कमजोर भएको देखिन्छ ।’ खतिवडाले न्यायलयमाथि पछिल्लो समय जनविश्वास घट्दै गएको आफूलाई आभाष हुन थालेको पनि बताईन् ।

कार्यक्रममा जनता समाजवादी पार्टी, नेपालकी केन्द्रीय सदस्य पवित्रा तिमिल्सिनाले देशमा स्थानीय तहदेखि राष्ट्रपतिसम्म महिला हुँदापनि महिलामाथि हिंसाका घट्ना नरोकिएको दुःख व्यक्त गरिन् । उनले आफूहरु सबै मिलेर महिलामाथि हुने अन्यायको विरुद्धमा संघर्ष गर्नुपर्ने पनि बताईन् । एसिड आक्रमण, गीता ढकालको हत्यादेखि निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणका दोषीहरुलाई कानूनी कठघरामा उभ्याईनुपर्ने उनको माग छ ।

कार्यक्रममा नेपाल विद्यार्थी संघकी केन्द्रीय उपाध्यक्ष तुलसा पन्तले पछिल्लो समय न्यायलयप्रति जनविश्वास घटेको बताईन् । र, न्यायलयका तुलोको एकातर्फ न्याय र अर्कोतर्फ पैसा देखिएको भन्दै आफूहरुलाई यसले लज्जाबोध भएको उनको भनाई छ ।

महिलामाथि भएका हिंसाका घट्नामा संलग्न दोषीहरुलाई किन कारबाही हुँदैन् ? भन्ने उनले प्रश्न गरिन् । उनले भनिन्,‘म नेपाल सरकारसमक्ष प्रश्न गर्न चाहन्छु–देशमा न्याय कहाँ गयो ? अपराधीलाई चोख्याउने काम न्यायलयबाट हुनुहुँदैन् । हामी यहीँबाट खबरदार गर्न चाहन्छौं ।’
वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीमा दुई तिहाई बहुमतको दम्भ देखिएको पनि उनको आरोप छ ।

‘दुई तिहाईकै दम्भमा तपाईले न्यायलयलाई पनि आफ्नो बशमा लिनुभयो । तपाईका कारण यो प्रणाली र व्यवस्थामाथि आक्रमण भएको छ । हामी यो व्यवस्था टिकाईराख्न तपाईविरुद्ध आन्दोलनमा उत्रिनुपर्ने अवस्था आएको छ ।’–उनले भनिन् । पत्रकार सम्मेलनको संयोजन भने तरुण दलकी नेतृ ईन्दिरा निरौलाले गरेकी थिईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *