भोलि देशभरि शैक्षिक हड्ताल गर्ने राहत शिक्षकको घोषणा

Sharing is caring!

फागुन २०, २०७५ । सामूदायिक विद्यालयमा विगत लामो समयदेखि कार्यरत राहत तथा बालविकास शिक्षकहरुले शान्तिपूर्ण आन्दोलन गरिरहँदा आफूहरुलाई प्रहरीले हातपात गरेको आरोप लगाएका छन् ।

राहत शिक्षक केन्द्रिय समिति र बालविकास शिक्षक केन्द्रिय समितिले संयुक्त रुपमा सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर यस्तो आरोप लगाएका हुन् । यसको विरोधमा समितिले भोलि फागुन २१ गते देशव्यापी रुपमा सामूदायिक विद्यालय बन्द गर्दै आम शैक्षिक हड्तालमा उत्रिने घोषणा गरेको छ ।

आज साँझ नयाँ बानेश्वरमा शान्तिपूर्ण आन्दोलन गर्दा प्रहरीले आफूहरुमाथि ज्यादती गरेको र महिला शिक्षकहरुमाथि दुव्र्यवहार गरेको राहत शिक्षक केन्द्रिय समितिका अध्यक्ष खेमराज अधिकारीले जानकारी दिए । उनले भने,‘देशव्यापी रुपमा सामूदायिक विद्यालय बन्द गरेर शैक्षिक हड्ताल गर्दापनि हाम्रो माग पूरा भएन भने हामी आउँदै गरेका विद्यालयका वार्षिक परीक्षा र एसईई परीक्षासम्म अवरोध गर्न बाध्य हुन्छौं ।’
उनले भने,‘हामीले शान्तिपूर्ण रुपमा आन्दोलन गर्दा पनि प्रहरीले हस्तक्षेप, ज्यादती गर्यो । अब हामीलाई संघीय राजधानी काठमाडौंमा शान्तिपूर्ण आन्दोलन गर्न दिँदैन भने हामी बाध्य भएर काठमाडौं प्रवेश गर्ने नाकाहरुमा धर्ना बस्छौं ।’

उनकाअनुसार प्रहरीले आज साँझ गरेको दुव्र्यवहार तथा धरपकडमा परी दर्जनौं शिक्षकहरु सख्त घाईते भएका छन् । अधिकारीले भने,‘हिजो र आज गरेर हाम्रा सयौं साथीहरु प्रहरीको ज्यादती र दुव्र्यवहारबाट सख्त घाईते हुनुभएको छ । कतिपयको अस्पतालमा अहिलेपनि उपचार भैरहेको छ । केही साथीहरुलाई अहिले पनि प्रहरी हिरासतमा राखिएको छ।’

बलजफ्ती गरेर पक्राउ गरिएका आफ्ना सहकर्मी साथीहरुलाई तत्काल रिहाई गर्नसमेत उनले माग गरे । पक्राउ पर्नेहरुमा गोकुल रोकाय, कृष्णराज विष्ट, जनक भण्डारी, दुर्गा शाक्य र गोविन्द ढाँट रहेका छन् । उनीहरुलाई अहिले काठमाडौंको भृकुटीमण्डपस्थित् नेपाल पुलिस क्लबमा राखिएको छ ।

पत्रकार सम्मेलनमा बालविकास शिक्षक केन्द्रिय समितिकी केन्द्रीय अध्यक्ष कृष्णकुमारी थापामगरले आफू स्वयमसमेत घाईते भएको बताईन् । उनले शान्तिपूर्ण आन्दोलन गर्दा पनि आफूहरुमाथि प्रहरीले अमानवीय व्यवहार देखाएको भन्दै आक्रोश पोखिन् ।
उनले थपिन्,‘हामी शान्तिपूर्ण आन्दोलनलाई निरन्तरता दिन्छौं । आन्दोलनको लागि अहिलेपनि विभिन्न जिल्लाबाट हजारौंको संख्यामा बालविकास शिक्षकहरु काठमाडौं आउने क्रम जारी छ ।’ थापा प्रहरीले प्रहार गरेको अश्रुग्याँसबाट घाईते भएकी छिन् ।

कार्यक्रममा नेपाल राहत शिक्षक केन्द्रिय समितिका उपाध्यक्ष शारदा तिमिल्सिना र समितिका बरिष्ठ सह–अध्यक्ष वीरेन्द्र कुमार मल्ल, सल्लाहकार संयोजक गणेश ओझाले पनि प्रहरीको ज्यादती र दमनको विरोध गरेका थिए । उनीहरुले आफूहरुको माग पूरा नभएसम्म आन्दोलन जारी रहने उद्धघोषसमेत गरेका छन् ।
त्यस्तै कार्यक्रममा संयुक्त समितिको तर्फबाट प्रेस विज्ञप्ती भने नेपाल राहत शिक्षक केन्द्रिय समितिका महासचिव कर्ण बहादुर मगरले वाचन गरेका थिए ।

८० हजार राहत र बालविकास शिक्षकहरु पेशागत गुणस्तर र सुरक्षाको खातिर विगत लामो समयदेखि विभिन्न मागहरु राख्दै संघर्षरत रहेको पनि उनीहरुले जनाएका छन् । उनीहरुले जारीगरेको विज्ञप्तीमा भनिएको छ,‘२०६२-६३ पछाडि देशमा विकास भएको राजनैतिक घट्नाक्रमबाट भएका उपलब्धिलाई संस्थागत गर्नेक्रममा हाल हामी संघीय लोकतान्त्रिक गणतन्त्र राज्य व्यवस्थामा छौं । यसरी मुलुक संघीयतामा प्रवेश गरेसँगै शासकीय स्वरुप पनि परिवर्तन हुने क्रममा नेपालको शिक्षा क्षेत्रमा शिक्षा ऐन २०२८ खारेज भई नयाँ संघीय शिक्षा ऐन २०७५ आउने संघारमा हामी उभिएका छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *