भाटभटेनी मन्दिर परिसरमा २ करोडको सत्तल निर्माण हुने

Sharing is caring!

असार १५, २०७७ । भाटभटेनी ग्रुपले नक्सालस्थित भाटभटेनी मन्दिर परिसरमा २ करोड लागतमा सत्तल निर्माण गर्ने भएको छ ।

भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले भाटभटेनी माताको मन्दिर परिसरमा स्वर्गीय बुबा बृषबहादुर गुरुङ र आमा धनमाया गुरुङको स्मृतिमा उक्त भवन निर्माण गरिन लागेको जानकारी दिए ।
उक्त भवनको शिलान्यास उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले गरेका छन् । कार्यक्रममा सम्बोधन गर्दै मन्त्री पोखरेलले व्यवसायी गुरुङको प्रशंसा गरेका थिए ।

उनले भने, “मीनबहादुरजी धनमात्रै होइन मन पनि भएको व्यक्ति हुनुहुन्छ । हामीले मीनबहादुरजीलाई के पाएका छौं भने धन र मन दुवै भएको व्यक्तिका रुपमा । हामीले त्यसरी चिन्छौं । उहाँजस्तै निजी क्षेत्रमा क्रियाशील धेरैजना हुनुहुन्छ । उहाँलाई अनुसरण गर्दै उहाँहरु पनि अघि बढ्नुपर्छ । लगनशील भएर काम गरिरह्यो भने प्रगति गर्न सकिन्छ भन्ने उदाहरण उहाँले दिनुभएको छ ।”

उनले सरकारले व्यवसायीलाई सहजीकरण गरिदिने बताउँदै भने, “हाम्रा पुर्खाहरुले निर्माण गरेको चिजहरुलाई नष्ट हुनबाट हामीले नै बचाउनुपर्छ । हाम्रा पुर्खाहरुले धेरै कुरा निर्माण गरे । हाम्रा कारणले नष्ट हुँदैछन् । तर मीनबहादुरजीले त्यसको निर्माण गर्दै हुनुहुन्छ । सत्तलमा विगतमाजस्तो कोही यात्रुहरु आएर नबसे पनि यसले संकेतको काम गर्छ । दृष्टान्तको रुपमा यो सत्तल रहन्छ । हाम्रा पुराना चिजहरुको संरक्षण हामी आफैँले नै निर्माण गर्नुपर्ने हुन्छ ।”

सम्बोधनमा उनले कोरोनासँग भाग्ने नभइ लड्ने बताए । “कोरोनासँग भाग्ने होइन लड्ने हो । यो आयो भनेर त्रसित भएर भाग्यौं भने कहाँ जाने ? आज हामी भागौंला भोलि भोकमरीबाट मर्ने अवस्था आयो भने के गर्ने ? हामीले हाम्रो आर्थिक गतिविधि बढाउनैपर्छ । कोरोनासँग लड्नु व्यक्तिव्यक्तिको जिम्मेवारी हो । हामी बचेर देश र समाजलाई बचाउने हो ।”

कार्यक्रममा प्रदेश सांसद नारायण सिलवालले पनि गुरुङले गरेको योगदानको चर्चा गर्दै प्रसंशा गरेका थिए ।
उक्त वडाका अध्यक्ष रमेश डंगोलले पनि भाटभटेनी मन्दिरमा सत्तल निर्माण गरिनु राम्रो काम भएको बताएका थिए ।
उक्त सत्तल भाटभटेनी ग्रुपका अध्यक्ष मीनबहादुर गुरुङ र भाइ पहल गुरुङले निर्माण गर्न लागेका हुन् ।

“भाटभटेनी मन्दिरकै नामबाट हामीले सुपरमार्केट्स खोल्यौं,” उनले भने, “अहिले देशका विभिन्न स्थामा भाटभटेनी खुलेका छन् । यहाँको मन्दिरमा हामीले पहिलेदेखि नै संरक्षण गर्दै आएका थियौं । अहिले यसको आडैमा नयाँ भवन बनाउन लागिएको हो ।”
सोमबार नयाँ भवन निर्माणका लागि भूमि पुजन गरिएको छ ।
“आज हामीले भूमि पुजन गरेका हौं,” उनले भने, “यस मन्दिरको संरक्षण गर्ने दायित्व पनि हाम्रै हो । त्यसैले यहाँ भवन निर्माणको काम थालिएको हो ।”
काठमाडौंमा बाँच्न र भविष्य सुनिश्चित गर्नका लागि आफूले सुरु गरेको व्यवसाय अहिले यहाँसम्म विस्तार भएको अध्यक्ष तथा प्रबन्ध निर्देशक गुरुङले बताएका थिए ।

“अहिले हामीसँग सात हजार भाइबहिनी आवद्ध हुनुहुन्छ । निर्माणका लागि १५ सय व्यक्तिहरु आवद्ध हुनुहुन्छ । ठेक्कापट्टामा नगइ इनहाउस गर्ने गरेका छौं,” उनले भने, “यहाँसम्म आउनुको पछाडि भाटभटेनी माताको कृपा हो । हामीले यहाँ चारतलाको सत्तल बनाउन लागेका थियौं तर केही व्यक्तिहरुको सुझावका आधारमा दुईतला बनाउन लागेका हौं ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *