बाँस्कोटाको अडियो प्रकरणले वर्तमान सरकार संस्थागत भ्रष्टाचारमा कति लिप्त छ भन्ने कुरा प्रष्ट: महत

Sharing is caring!

फागुन ११, २०७६ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले गोकुल प्रसाद बाँस्कोटाको अडियो प्रकरणले वर्तमान सरकार संस्थागत भ्रष्टाचारमा कति लिप्त छ ? भन्ने कुरा पुष्टि भएको स्पष्ट पारेका छन् ।

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै महतले वर्तमान सरकारको भ्रष्टाचारबारे बाँस्कोटाको टेप प्रकरण त सानो ईपिसोडमात्रै भएको टिप्पणी गरे । उनले भने,‘यो सरकारको अरु धेरै काण्डहरु छन् । अहिले एकपछि अर्को काण्ड बाहिरिएसँगै नेपाली जनताले पनि अब त भूल गरिएछ भनेर सोच्न थालेका छन् । सरकारले जनतालाई नारामात्रै देखाएको रहेछ भन्ने कुरा अहिले आएर पुष्टि भयो ।’

साक्षात्कारमा बोल्दै उनले वर्तमान सरकार फोरजी काण्ड, यति काण्डदेखि अनेकौं काण्डमा फसेको आरोप लगाए । उनले भने,‘गोकुल बाँस्कोटालाई माथिबाट निर्देशन र संरक्षण भएको छ । यो प्रकरणमा गम्भिर छानबिन हुनुपर्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि जवाफ दिनुपर्छ । हामीले यो प्रकरणमा विरोध गरिरहेका छौं । प्रधानमन्त्रीले यो प्रकरणमा मात्रै होईन, सबै भ्रष्टाचारका काण्डबारे संसदमा स्पष्ट जवाफ दिनुपर्छ । समग्र काण्डमा निश्पक्ष र स्वतन्त्र छानबिन हुनुपर्छ ।’

महतले एमसीसी नेपालको हितमा रहेको बताउँदै यसलाई संसदबाट अनुमोदन गर्नुपर्ने आफूहरुको भनाई रहेको सुनाए । उनले भने,‘यसमा कुनै सैन्य गठबन्धनको कुरा छैन् । तर, नेपालमा त नभएको कुरा अफवाह फैलाउने गरिएको छ । यो दुःखद् कुरा हो ।’ अमेरिकी सहयोग एमसीसीमार्फत नेपालमा आउने सहयोग अनुदान भएको सुनाउँदै यो नेपालले प्राथमिकता गरेको क्षेत्रमा खर्च हुने महतको भनाई छ । उनले भने,‘नेपालको विकासमा यति ठूलो रकम अनुदान आएको यो पहिलो हो, त्यो पनि नेपालले नै छनौट गरेको योजनामा लगानी गर्ने कुरा छ । यसमा आपत्ति मान्नुपर्ने केही कारण छैन् ।’

उनले एमसीसीको अनुदानले नेपालको प्रशारण लाईनमा ठूलो टेवा पुग्ने विश्वास दिलाए । उनले एमसीसीको बारेमा अनावश्यक विरोध गर्न नहुने धारणा राखे । उनले भने,‘नेपालले आफ्नो देश हेरेर विदेश नीति अख्तियार गर्ने हो, अरु देश हेरेर विदेश नीति बनाउने होईन् । के हामीले भारत, चीन र अमेरिकासँग बेग्ला–बेग्लै मापदण्ड राख्ने हो ?, एमसीसी अहिलेदेखि सुरु भएको कुरा होईन, यसमा सबै दल संलग्न छन् । सबैको सहभागिता छ । सन् २०१७ मा एमसीसीको कम्प्याक्ट सम्झौता भएको हो, सन् २०२० मा आएर उहाँहरुले राष्ट्रघाती देख्नुभयो । तीन वर्ष के हेरेर बस्नुभयो ? समस्या त मानसिकतामा छ ।’

उनले एमसीसीमा कुनैपनि कुरा आपत्तिजनक नभएको जिकिर गरे । उनले भने,‘यसलाई संशोधन गर्नुपर्छ भन्ने हामीलाई लाग्दैन् । हामीले त्यो अनुदान सहयोगलाई सदुपयोग गर्नुपर्छ । यसमा पारदर्शीता अपनाउनुपर्छ ।’

विगतमा अरुण तेस्रो विद्युत परियोजना तुहाईएको जस्तै एमसीसी पनि गुमाउने खतरा आएको उनको भनाई छ । उनले नेकपाले सरकारमा हुँदा एउटा कुरा र सरकारमा नहुँदा अर्कै कुरा गरेको टिप्पणी गरे । उनले भने,‘हामी त राष्ट्रहित देख्छौं । यहाँ ऋषिजीले एमसीसी पारित गर्न कांग्रेसलाई किन हतार ? भन्नुभयो, हामी जे कुरा हो, त्यही भन्छौं । जनतालाई दिग्भ्रमित पार्दैनौं । हामी प्रचार र प्रोपोगाण्डामा विश्वास गर्दैनौं ।’ उनले अहिले एमसीसी तुहाउने प्रपञ्च भैरहेको गम्भिर आरोप लगाए ।

गोकुल प्रसाद बाँस्कोटाको बारेमा प्रधानमन्त्रीले तुलोको एकातिर गोकुल र अर्कोतिर सबै राख्दापनि गोकुल नै भारी हुने भनेर बोलेको कुरााबट पनि भ्रष्टाचारमा गोकुल एक्लैको हात नभएको उनको टिप्पणी छ । उनले भने,‘अहिले त प्रधानमन्त्रीलाई आफ्नो बोली आफैंलाई भारी भएको छ । यो सरकार काम चाहीँ उल्टो उल्टो गरिरहेको छ । कामभन्दा बढि गफ गरिरहेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *