प्रधानमन्त्री ओली बिहीबार भारत जाँदै, मोदीसँग द्धिपक्षीय महत्वबारे  छलफल हुन्छ: डा. भट्टराई

Sharing is caring!

जेठ १४, २०७६ । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले प्रधानमन्त्री ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण कार्यक्रममा सहभागी हुन जाँदा द्धिपक्षीय महत्वबारे छलफल हुने स्पष्ट पारेका छन् । ओली बिहीबार दिउँसो भारत जाँदैछन् ।

मंगलबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै सल्लाहकार डा. भट्टराईले यस्तो जानकारी गराएका हुन् । उनले भने,‘भारतीय प्रधानमन्त्री मोदीको सपथग्रहणमा सहभागी हुनको लागि निम्तो आएको छ । विमस्टेक राष्ट्रका सबै सदस्य सहभागी हुने कार्यक्रम छ ।

त्यसबाहेक किजिकिस्तानका राष्ट्रपति र मोरिससका प्रधानमन्त्रीपनि आउने कार्यक्रम छ भन्ने जानकारीमा आएको छ ।’ बिहीबार साँझ हुने सपथग्रहणमा सहभागी भएर ओली भोलिपल्ट (शुक्रबार) स्वदेश फर्कने कार्यक्रम रहेको भट्टराईले जनाए ।

साक्षात्कारमा बोल्दै उनले त्यही बिचमा मोदी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता हुनेपनि स्पष्ट पारे । उनले भने,‘यो प्रधानमन्त्रीको छोटो भ्रमण हो । नेपाल–भारत द्धिपक्षीय महत्वका विषयमा उहाँहरुबीच सामान्य छलफल हुन्छ ।’ नेपाल र भारतबीच सदियौंदेखि घनिष्ठ सम्बन्ध रहेकोले आगामी दिनमा पनि सम्बन्ध सुमधुर हुने उनको विश्वास छ ।

भट्टराईले नेपाल र भारतबीच अरुको भन्दा बढि नै चासो रहेको पनि सुनाए । उनले भने,‘हामीबीच बहुआयामिक सम्बन्ध छ । धेरै विषय भएकोले समस्यापनि छन् । पछिल्लो समय समस्याहरुपनि समाधानतर्फ उन्मुख छन् ।’ सन् २०१८ मा तीन चार वटा विषयहरु समाधान गर्न सफल भएको उनको दाबी छ । उनले थपे,‘बाँकी विषयहरु पनि द्धिपक्षीय वार्ता गरेर समाधान गर्नेतर्फ नै हामीहरु अघि बढिरहेका छौं ।’

उनले नेपाल र भारतबीच अब २१ औं शताब्दीअनुसार युग सुहाउँदो सम्बन्ध कायम गर्नुपर्ने पनि जनाए । उनले भने,‘नेपाल र भारतबीच अब उदाहरणीय सम्बन्ध राख्नुपर्छ ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *