प्रदेश ३ को राजधानी तोक्न अलमल, सरकार मौन, विपक्षी आक्रोशित

Sharing is caring!

कात्तिक ६, २०७६ । प्रदेश ३ को राजधानी तोक्ने विषयमा अन्योल बढेको छ । तेस्रो अधिवेशनमा ‘जसरी पनि राजधानी टुंगो लगाउने’ सदनमा नै घोषणा गरेको प्रदेश सरकारले चौथो अधिवेशन सकिसक्दासमेत यो विषय अघि बढाउन सकेको छैन । प्रदेशको अर्को अधिवेशन अनिश्चित भएको अवस्थामा प्रदेश राजधानी तोक्ने विषय पेचिलो बनेको हो । प्रदेशसभाको चौथो अधिवेशनको सुरुवातमा विपक्षी दलको दबाबपछि राजधानी टुंगो लगाउने अपुरो कार्यविधि पारित भएको थियो ।

प्रतिपक्षी कांग्रेसले सदन अवरुद्ध गरेपछि वैशाख ३० गते प्रदेश सरकारले राजधानी टुंगो लगाउने कार्यविधि ल्याए पनि स्थायी राजधानीका लागि मतदान गर्ने मिति तोकेको थिएन । राजधानीको विषयमा सभामुख सानुकुमार श्रेष्ठ आफैंले अग्रसरता देखाएर कार्यविधि ल्याए पनि सरकारलाई दबाब दिन सकेका छैनन् । सदनमा प्रस्तुत हुने कार्यसूचीमा सम्पूर्ण अधिकार सभामुखलाई दिइएको छ । तर, सरकारको सहजताकै लागि सभामुखले राजधानीको विषय अघि नसारेको विपक्षीहरूको आरोप छ ।

प्रदेश ३ मा नेकपाको स्पष्ट बहुमत भए पनि राजधानीको विषय पेचिलो बनिरहेको हो । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले यसबीच राजधानीको विषय टुंगो लगाउने कसरत गरेको बुझिएको छ ।

‘नेकपाको एकमत रहेमा जुनसुकै स्थानमा पनि राजधानी तोकिन सक्छ,’ प्रतिपक्षी दल कांग्रेसका नेता इन्द्रबहादुर बानियाँ भन्छन्, ‘दुई तिहाइ बहुमत रहेको सरकारले चाहे विपक्षी दलको कुनै भूमिका हुन्न । प्रदेशसभा गठन भएको दुई वर्ष पुग्न लाग्दा पनि राजधानी टुंगो लगाउन नसक्नु लज्जास्पद विषय हो ।’

प्रदेशसभामा रहेको कुल एक सय नौ सांसदमध्ये नेकपाको ८० मत रहेको छ भने कांग्रेसको २१ र अन्य दलको आठ मत रहेको छ । यो खबर कान्तिपुरबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *