पशुपतिनाथमा फूलमालाको सजावटले दर्शनार्थीको विशेष आकर्षण

Sharing is caring!

फागुन ९, २०७६ । महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा गरिएको फूलमालाको सजावट दर्शनार्थीको विशेष आकर्षण बनेको छ ।  यसवर्ष विभिन्नथरीका फूलले पशुपतिनाथ मन्दिर क्षेत्र सिँगारिएको छ । मन्दिर क्षेत्रको सजावटका लागि केही भक्तजनले विदेशबाट समेत फूल मगाएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

पशुपतिनाथको दर्शनमा आएकी रमा शर्माले यसपटक विगतभन्दा बढी व्यवस्थित देखिए पनि स्वयंसेवक भनी बस्नेले आफ्ना मान्छे सहजै लाइनबाट छिराएको देखिएको बताइन् । आफन्त छिराउनकै लागि केही मानिसले स्वयंसेवकको बिल्ला लिएको अनुभव उनले सुनाइन् ।

कोषले विसं २०७४ को शिवरात्रिदेखि शुरु गरेको जुन लाइनबाट छिरयो त्यसै लाइनबाट बाहिर निस्कने व्यवस्था यस वर्ष बढी प्रभावकारी बनेको छ । कोषका प्रशासकीय अधिकृत रेवतीरमण अधिकारीले विगत दुई वर्षको अनुभवले यो नियमलाई कार्यान्वयन गर्न सहज भएको बताइन् । स्वयंसेवकका नाममा केही मानिसले बदमासी गरेको प्रमाणित भए अर्कोपटकदेखि कारवाही गरिने उनले सुनाइन् ।

दिउँसो २:३० बजेसम्म करिब चार लाख दर्शनार्थीले पशुपतिनाथ मन्दिर प्रवेश गरी दर्शन गरेको अनुमान गरिएको जानकारी पनि प्रशासकीय अधिकृत अधिकारीले बताइन् । यस वर्ष शिवरात्रिमा १० लाख बढी धार्मिक पर्यटक पशुपतिनाथको मूल मन्दिरभित्र प्रवेश गरी दर्शन गर्न सक्ने व्यवस्था मिलाइएको छ । आज रातभर दर्शनार्थीका लागि पशुपतिका चारै ढोका खुला हुनेछ ।

कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आज पशुपति क्षेत्रमा यस वर्ष भक्तजन प्रवेशमा गरिएको व्यस्थाको निरीक्षण गरेका छन् । कोषले यस वर्ष भ्रमण वर्षसँग जोडेर महाशिवरात्रि पर्व मनाउने निर्णय गरेको थियो । पशुपति क्षेत्रमा मेला भर्न आएका भक्तजनको सुविधाका लागि आज बिहान ३ बजेदेखि नै पशुपतिका चार ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.प्रदीप ढकालले जानकारी दिए ।

पशुपतिमा दर्शनका लागि बाहिरी क्षेत्रबाट प्रवेश गर्ने पाँच वटा मूल लाइनको व्यवस्था गरिएको कोषले जनाएको छ । भित्र प्रवेश गरेपछि भने १० वटासम्म लाइनको व्यवस्था गरी दर्शनार्थी प्रवेश गरेको आधा घण्टामा फर्कने गरी बिहानको व्यवस्थापन गरिएको उनले सुनाए । बिहान आधा घण्टामै दर्शन गरेर फर्केका दर्शनार्थीले दिउँसो भने एक घण्टासम्म समय लागेको बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *