नेपाल वायु सेवा निगमका अध्यक्ष असक्षम, तत्काल हटाएर सक्षम नेतृत्व ल्याउनुपर्छ: पूर्व उपप्रधानमन्त्री रायमाझी

Sharing is caring!

जेठ २१, २०७६ ।  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य एवम् पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले नेपाल वायु सेवा निगमको वर्तमान नेतृत्व असक्षम भएको भन्दै तत्काल नयाँ नेतृत्व ल्याउनुपर्ने स्पष्ट पारेका छन् ।

मंगलबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै रायमाझीले वाईडबडी सुविधासम्पन्न जहाज भएकोले यसलाई लामो दुरीमा चलाउनुपर्ने पनि सुझाए । उनले भने,‘वाईडबडीलाई भारतको नयाँ दिल्ली, मुम्बई र कलकत्तामात्रै उडाएर हुँदैन, यदि त्यसो गरियो भने कुनै फाईदा हुँदैन् ।’ निगमका वर्तमान अध्यक्षले किन वाईडबडीलाई लामो दुरीमा उडान भर्ने वातावरण बनाउन नसकेको भन्दै रायमाझीले प्रश्न गरे ।

साक्षात्कारमा बोल्दै उनले भने,‘सरकारी संस्थानहरु किन कमजोर हुन्छन् ? यस विषयमा सरकारले अब सोच्नुपर्छ । प्राईभेटहरुले चलाउन सक्ने अनि सरकारीले किन नसक्ने ? यदि यस्तै अवस्था रहिरहे निगमको नेतृत्व नै असफल हुन्छ, अब नयाँ सक्षम नेतृत्वलाई ल्याउनुपर्छ । अहिलेको अध्यक्षले काम गर्न नसके तत्काल फेर्नुपर्छ ।’

रायमाझीले यो वर्षको बजेट गत वर्षको भन्दा धेरै राम्रो आएको टिप्पणी गरे । उनले भने,‘अघिल्लो वर्षको बजेट राम्रो आएको थिएन । तर, यो वर्ष राम्रो बजेट आएको छ । पूर्वाधार विकासको क्षेत्रमा र सामाजिक सुरक्षा कार्यक्रम हेर्दा अघिल्लो वर्षको बजेटभन्दा यो वर्षको बजेट तुलनात्मक रुपमा धेरै राम्रो छ ।’

उनले यो वर्षको बजेट विकास र समृद्धिमा टेवा पुग्ने खालको रहेको पनि दाबी गरे । उनले सांसदहरुलाई दिईएको ६ करोड बजेट राम्रो भएको प्रंशसा गर्दै अझै अपुग रहेको आवश्यकत्ता औंल्याए । उनले भने,‘सांसदहरुलाई दश करोड दिएको भए राम्रो हुन्थ्यो ।’

नेपालको संसद अमेरिकाको सिनेट र युरोपियन युनियको संसदजस्तो नभएको भन्दै पूर्वाधार विकास र आर्थिक समृद्धिको सवालमा नेपाल धेरै पछाडि रहेको पनि उनको भनाई थियो । कानून र ऐन बनाउन जान्छौं भन्यो भने जनताले भोट नदिने तर विकास र समृद्धि गर्छु भनेर मच्चिएर भाषण गर्दा मात्रै भोट दिएर जिताउने पनि रायमाझीले सुनाए ।
नेपालको विकासलाई एउटा स्तरमा माथि पुर्याउनको लागि पनि स्थानीय विकास पूर्वाधार कोषलाई राख्नुपर्ने उनको भनाई छ । उनले सांसदलाई दिईने पैसा यदि दुरुपयोग हुन्छ भन्ने लाग्यो भने त्यसलाई कानून तथा नियमावली बनाएर नियन्त्रण गर्नुपर्नेमा जोड दिए ।

नेकपाभित्र अहिले कुनै विवाद नरहेको पनि उनले जिकिर गरे । रायमाझीले नेकपाभित्र औपचारिक रुपमा दुई अध्यक्षबीच आलोपालो सरकार सञ्चालन गर्ने विषय नआएको बताए । उनले भने,‘यो विषय हाम्रो पार्टीभित्र औपचारिक प्रस्तावको रुपमा आएको छैन् । नेताविशेषको कुरामा लागेर हुँदैन । यसमा बहस गरिरहनुपर्ने म आवश्यकत्ता ठान्दिन्।’

आफू यो वा त्यो अध्यक्षको पक्षमा नभई दुवै अध्यक्षको पक्षमा रहेको पनि रायमाझीको दाबी छ । दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको गोप्य सहमति आफूहरुलाई थाहा नभएको पनि रायमाझीको भनाई छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *