नेपाल र कुवेतबीचको खेल स्थगित,भुटानमा गर्न प्रस्ताव
कात्तिक २१, २०७६ । कतारमा हुने विश्वकप फुटबल २०२२ का लागि दोस्रो चरणको छनोट प्रतियोगिता अन्तर्गत नेपाल र कुवेतबीच काठमाडौंमा हुने भनिएको खेल स्थगित गरिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले विज्ञप्ती जारी गर्दै मंसिर ३ गते काठमाडौंस्थित दशरथ रंगशालामा तय गरिएको खेल स्थगित गरेको हो।
नेपाल र कुवेतबीच काठमाडौंस्थित दशरथ रंगशालामा अखिल नेपाल फुटबल संघले फिफा र एएफसीसँग प्रस्ताव गरेको थियो। प्रस्तावपश्चात रंगशाला अवलोकनका लागि आएका एएफसी प्रतिनिधिले रंगशाला मापदण्ड अनुसार नभएकोले खेल स्थगित गरिएको हो।
खेल भुटानमा गर्न फिफा र एएफसीसँग प्रस्ताव गरिएको एन्फाले जनाएको छ। एन्फाले खेल भुटानको राजधानी थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा गर्न प्रस्ताव गरेको हो।
एन्फाले भूकम्पबाट क्षतिग्रस्त एकमात्र अन्तर्राष्ट्रिय रंगशाला समयमै पुनर्निर्माण नहुँदा प्रतिष्ठित खेल गुमाउनुपरेको भन्दै क्षमायाचना समेत गरेको छ।