नेपालमा पहिलोपटक अश्वमेध महायज्ञ आयोजना हुँदै

Sharing is caring!

फागुन १३, २०७५ । नेपालमा पहिलोपटक यही फागुन १९ गतेदेखि २२ गतेसम्म (३–६ मार्च, २०१९) अश्वमेध महायज्ञको आयोजना हुने भएको छ । साँस्कृतिक तथा व्यापारिक महानगर वीरगन्जको आर्दशनगर रंगशालामा उक्त महायज्ञ हुने भएको छ ।

सोमबार अश्वमेध गायत्री महायज्ञ मूल आयोजक समितिले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर यस्तो जानकारी गराएको हो । अखिल विश्व गायत्री परिवारको अयाोजना तथा वीरगन्ज महानगरपालिकाको सहयोग र समन्वय साथै विभिन्न धार्मिक, आध्यात्मिक, सामाजिक संघ-संस्थाहरुको सहभागितामा सनातन विधिविज्ञानसहित २५१ कुण्डीय भव्य यज्ञशाला स्थापना गरी यो महायज्ञ सम्पन्न हुने आयोजकले विश्वास दिलाएको छ ।

उक्त महायज्ञको उद्धघाट्न सम्मानीय राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम रहेको छ भने महायज्ञको समापन प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २२ गते दिउँसो १२ बजे सोही स्थानमा गर्ने कार्यक्रम रहेको छ । आयोजकका अनुसार फागुन १९ गते विहान ८ बजेदेखि विहान ११ बजे कलश र विभिन्न झाँकीसहितको कलशयात्रा हुनेछ । त्यस्तै विश्व गायत्री परिवारका प्रमुखद्धय डा. प्रणव पण्ड्या र शैलवाला पण्ड्ये सम्बोधन गर्ने कार्यक्रम रहेको छ । फागुन २० गते विहान बजेदेखि अश्वमेध देवपुजन एवं महायज्ञ हुने पनि आयोजकले जनाएको छ । सोही दिन साँझ ५ बजेदेखि सत्संग, प्रवचन एवं सांस्कृतिक कार्यक्रम पनि रहेको छ ।

त्यस्तै, आयोजकका अनुसार फागुन २१ गते विहान बजे अश्वमेध यज्ञ एवं १२ संस्कारको कार्यक्रम राखिएको छ । सोही दिन साँझ एक लाख बत्तिकको भव्य दीप महायज्ञको कार्यक्रम राखिएको छ । फागुन २२ गते विहान ८ बजेदेखि यज्ञ संस्कार एवम् अश्वमेध महापूर्णाहुति दिने कार्यक्रम राखेको छ ।

मूल आयोजक समितिका अध्यक्ष तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले यो यज्ञ आयोजना गर्नुको मुख्य उद्देश् नै राष्ट्रलाई सक्षम, समर्थ एवं समृद्ध बनाउने उधेश्य प्रर्वद्धन गर्नको लागि भएको विश्वास दिलाए । महतोले थपे,‘यसको साथै यो एउटा आध्यात्मिक प्रयोग पनि हो ।’ उनले भने,‘मान्छे शक्तिशाली बन्नको लागि पहिले आफ्नो क्षमता थाहा पाउनुपर्छ, आफ्नो क्षमता थाहा नभए केही पनि गर्न सकिँदैन् । नेपाल तपोभुमी हो, देव भुमी हो । ऋषिमुनिहरुको भूमि हो । यो कुरा हामीले पढेका छौं। अब यसलाई पुरा विश्वमा चिनाउनको लागि महायज्ञ फलदायी हुनेछ । यो साँच्चै देशको नाम चिनाउने कार्यक्रम हो।’

आफूले विश्वका धेरै विकसित राष्ट्रहरुको भ्रमण गर्दा ती देशहरुमा धर्म भनेको विज्ञान हो भन्ने कुरामा कहीँकतै भीन्नता नपाएको पनि महतोले सुनाए । उनले भने,‘वास्तवमा धर्म विज्ञानभन्दा बाहिरको कुरा होईन् । हाम्रो देश अध्यात्मिक रुपमा, सामाजिक–साँस्कृतिक रुपमा धेरै धनी छ र संस्कारको कुरा गर्नुहुन्छ भने हामी नेपालीहरु पनि धेरै अगाडि छौं ।’

उनले नेपालीहरुले नेपाललाई अमेरिकाजस्तो बनाउने कुरा गरेपनि अमेरिकाको पैसामा ‘ईन गड, वी ट्रष्ट’ भनेर लेखिएको कुरामा पनि नेपालीहरुले ध्यान दिनुपर्ने बताए । उनले उक्त महायज्ञमा पुरै देशवासीहरुको सहभागिता हुनुपर्नेमा जोड दिए ।

उनले भने,‘सहभागिताको अर्थ हामीले अर्थ दान गरेर पनि गर्न सक्छौं, श्रम दान गरेर पनि सहभागिता जनाउन सक्छौं । अर्को भनेको वाकदान पनि गर्न सक्छौं ।’ यो महायज्ञले विशेष शक्ति प्रदान गर्नेपनि उनले जिकिर गरे । उनले भने,‘जुन ठाउँमा महायज्ञ भएको छ, त्यहाँ विशेष प्रभाव पर्छ नै, अरु ठाउँमा पनि यसको प्रभाव पर्छ ।’ महायज्ञका कारण नेपालमा आन्तरिक तथा बाहृय पर्यटकहरु नेपालमा धेरैभन्दा धेरै आउने पनि आफूहरुले विश्वास लिएको महतोको भनाई छ ।

उनले भने,‘यो महायज्ञले नेपालमा पर्यटन विकासमा ठूलो फड्को मार्नेछ ।’ महायज्ञमा ५ लाखभन्दा बढिको सहभागिता रहने उनले जनाए ।
महतोले महायज्ञमा कति लागत लाग्ने ? भन्ने विषयमा आफूहरुले कुनै हिसाबकिताब नगरेको स्पष्ट पारे । उनले भने,‘कति खर्च लाग्छ ? भन्ने कुरा हामीले हिसाब गरेका छैनौं ।’ उक्त कार्यक्रम कुनै धर्म विशेषलाई लक्षित नभएको उनले जिकिर गरे । उनले भने,‘यो महायज्ञमा सबै धर्ममा विश्वास गर्नेहरुको सहभागिता हुन्छ। कुनै धर्मविशेषको यो कार्यक्रम होईन् ।’

महायज्ञमा ६० हजारले बसेर हवन गर्ने र ‘फस्ट कम, फस्ट सिट’ गर्नेपनि उनले जनाए । उनले भने,‘हाम्रो लागि सबै श्रद्धालुहरु उत्तिकै महत्वपूर्ण हुनुहुन्छ।’ उनले आफूले यसअघि पनि काठमाडौंमा तिरुपति बालाजीको कार्यक्रम सम्पन्न गरिसकेको सुनाउँदै यो महायज्ञ पनि सफल रुपमा सम्पन्न हुन्छ भन्नेमा विश्वस्त रहेको सुनाए ।

उनले भने,‘तिरुपति बालाजीको कार्यक्रममा ३० हजारको सहभागिता हुन्छ होला भनेका थियौं, तर डेढ लाखको सहभागिता भयो, हामीले त्यसलाई सफल रुपमा सम्पन्न गर्यौं ।’ महायज्ञमा ६ लाखभन्दा बढिको सहभागिता हुने र आफूहरुले सबैलाई व्यवस्थित गर्ने उनले विश्वास दिलाए ।

उनले भने,‘महायज्ञ कार्यक्रम अनियन्त्रित र अव्यवस्थित् हुँदैन् । शान्त वातावरणमा हुन्छ।’ नेपाल र नेपालीहरुको क्षमता अभिवृद्धिको लागि पनि यो महायज्ञ फलदायी हुनेमा आफूहरु पूर्ण विश्वस्त रहेको महतोको भनाई थियो ।

कार्यक्रममा अश्वमेध गायत्री महायज्ञ मूल आयोजक समितिका संयोजक एवम् वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले तीन वर्षको अथक मेहनत र लगातार प्रयासपछि नै पहिलोपटक नेपालमा उक्त महायज्ञ आयोजना गर्न लागेको सुनाए ।

उक्त महायज्ञको समुद्धघाट्न राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने उनले जनाए । उनले भने,‘सम्मानीय राष्ट्रपतिज्यू २ घण्टा महायज्ञमा बसेर काठमाडौं फर्कने कार्यक्रम छ ।’ उनले उक्त महायज्ञ आयोजनाको लुकेको उद्देश्य भनेको नै वातावरीय पर्यावरणको रक्षा गर्नुपनि रहेको सुनाए ।
उक्त महायज्ञमा सबै श्रद्धालु र भक्तालुहरुलाई निःशुल्क खाना र बस्नको व्यवस्था गरिएको पनि संयोजक सरावगीले जनाए । उनले भने,‘अहिलेपनि २ लाखले अनलाईन रजिष्ट्रेशन गरिसक्नुभएको छ।’

सरावगीले उक्त अश्वमेध एक दुर्लभ आध्यात्मिक एवं सांस्कृतिक दिग्विजयको अभियान भएको पनि स्पष्ट पारे । उनले भने,‘विशुद्ध विज्ञानसम्मत् विधिबाट सम्पन्न गरिने यस अश्वमेधको माध्यमबाट सांस्कृतिक एकता, सामाजिक सहिष्णुता एवम् पर्यावरणीय सन्तुलन स्थापना हुने कुरा वैदिक ग्रन्थहरुमा उल्लेख छ ।’

अश्वमेध महाप्रयोगबाट प्रस्फुटन हुने यज्ञ उर्जाबाट समस्त देशबासीमा सद्गुण, सद्भाव, सद्विचार, सत्कार्य र समताभावको प्रेरणा मिल्नेपनि आयोजकले विश्वास लिएको छ । विज्ञप्तीमा थप भनिएको छ,‘यस्ता विराट अनुष्ठानहरुले राष्ट्रदेवता र जीवनमूल्यप्रति विश्वास जागृत गर्दै जीवन जिउने कला समेत सिकाउँछन्।’

नेपाल र भारतलगायत विभिन्न ४० देशबाट महायज्ञमा श्रद्धालुहरुको उपस्थिति हुने उक्त महायज्ञ प्रचार प्रसार समितिका सह–संयोजक डा. राजु अधिकारीले जानकारी दिए ।

मूल समितिले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘महायज्ञको सम्पूर्ण तयारीको संयोजन अखिल विश्व गायत्री परिवार नेपालले गरिरहेका छ। समस्त देशवासीमा साहस एवम् बल वृद्धि गर्नु र राष्ट्रलाई नै समर्थ बनाउनु अश्वमेधको मूल उद्देश्य हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *