देशभरका विद्यालयको लगत तयार गर्दै सरकार

Sharing is caring!

असार २३, २०७५ । सरकारले ६३ जिल्लाका सबै विद्यालयको अवस्थाबारे अध्ययन गर्ने भएको छ । भूकम्पले क्षति बनाएका १४ जिल्लाबाहेक सबै जिल्लाका विद्यालयको अवस्थाबारे अध्ययन गर्न लागेको हो ।

केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा) ले आगामी वर्ष विद्यालय भवनको अवस्था अध्ययन गर्न लागेको हो । विश्व बंैकको सहयोगमा ६३ जिल्लाका विद्यालय भवनको अनुगमन गरी त्यसको अवस्थाबारे जानकारी दिन लागिएको एकाइ प्रमुख इमनारायण श्रेष्ठले जानकारी दिनुभयो । ‘कति भवन ढुंगामाटोले बनेका होलान्, कतिपय भवनको अवस्था अत्यन्तै नाजुक भएका होलान्, सबै विषयमा अध्ययन गरी सरकारलाई प्रतिवेदन बुझाउनेछौ’ –उहाँले भन्नुभयो ।

एकाइले भूकम्पले क्षतिग्रत जिल्लाका अधिकांश भवनको अवस्थाबारे अध्ययन गरिसकेको छ । एकाइले जीर्ण रहेका विद्यालय भवनको रेक्ट्रोफिट गर्ने वा पुनर्निर्माण गर्नुपर्नेलगायतका विषयमा अध्ययन गर्ने भएको हो । स्थानीय निकायको सहयोगमा अध्ययन गर्न लागेको एकाइले देशभरको विद्यालयको अवस्थाबारे लगत तयार गर्नेछ ।

‘भूकम्प वा कुनै विपद् आइपर्दा मानवीय र भौतिक क्षति पुग्न नदिन ६३ जिल्लाका विद्यालय भवनको अवस्थाबारे पहिचान गर्न लागेका हौं’ –श्रेष्ठले भन्नुभयो । २०७२ सालको भूकम्पबाट ३२ जिल्लाका ७ हजार ९ सय २३ वटा विद्यालयमा क्षति पुगेको थियो । २१ हजार १ सय ६९ कक्षाकोठा पूर्ण र १२ हजार ५ सय २२ कक्षा कोठामा बढी रुपमा क्षति पुगेको थियो । १५ हजार ९ सय ९० विद्यालयमा आंशिक क्षति पुगेको थियो । पुनः क्षति कम गर्न अध्ययन गर्न लागेको एकाइको भनाइ छ ।

यसैबीच भूकम्पले क्षतिग्रस्त उपत्यकाका अधिकांश विद्यालय भवनको पुनर्निर्माण सम्पन्न भइसकेको छ । काठमाडौंका जिल्ला आयोजना एकाइ प्रमुख गणेश ढकालले भूकम्पले क्षतिग्रस्त विद्यालयमध्ये गत वर्षसम्म १६ र चालू वर्षमा ३९ वटा विद्यालको पुनर्निर्माण भइसकेको जानकारी दिदनुभयो । उहाँका अनुसार जाइका, यूएसएडलगायत दातृ निकायको सहयोगमा पुनर्निर्माण भइरहेका विद्यालय अन्तिम चरणमा पुगेका छन् ।

भूकम्पले काठमाडौ जिल्लामा २ सय ८६ वटा विद्यालयमा क्षति पुगेको थियो । क्षतिग्रस्त विद्यालयमध्ये झन्डै ४० विद्यालय पुनर्निर्माण गर्न नसक्ने अवस्थामा पुगेको छ । गुठी, मन्दिर परिसरमा बनेका र मर्ज गर्ने तयारीमा रहेका विद्यालय भवन पुनर्निर्माण गर्न नसकिने काठमाडांै एकाइले जनाएको छ ।

ललितपुरमा एकाइ प्रमुख भगवान् पौडेलले विद्यालय व्यवस्थापन समिति, गैरसरकारी संस्था र दातृ निकायका सहयोगमा ललितपुरमा विद्यालय भवन पुनर्निर्माण हुने क्रम अन्तिम अवस्थामा पुगेको बताउनुभयो । उहाँले यो वर्ष २६ वटा विद्यालय भवन निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । ललितपुरमा १ सय ६९ विद्यालय भवनमा क्षति पुगेको थियो । तीमध्ये हालसम्म ६९ विद्याल भवन निर्माण सम्पन्न भइसकेको छ ।

भक्तपुरका एकाइ प्रमुख देवकुमार बरालले गैरसरकारी संस्थाले ५ वटा विद्यालय भवन निर्माण गर्ने सम्झौता भएकोमा हालसम्म ३ वटा निर्माण सम्पन्न भइसकेका छन् । जिल्लामा ९७ विद्यालयमा क्षति पुगेको थियो । तीनै जिल्लाका एकाइ प्रमुखले दरबार र भित्री क्षेत्रमा रहेका विद्यालय भवन पुनर्निर्माण गर्न नसकेको गुनासो गरेका थिए । स्थानीय निकायले सहयोग नगरेसम्म ध्वस्त र क्षतिग्रस्त विद्यालय भवन बनाउन नसकिने जनाएका छन् ।यो खबर आजको नेपाल समाचारपत्रबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *