देउवा सरकार आफ्नै कारणले ढल्ने महेश बस्नेतको दाबी

Sharing is caring!

असार ७, २०७९ । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री महेश बस्नेतले वर्तमान सरकार र गठबन्धन आफ्नै कारणले ढल्ने दाबी गरेका छन् । बस्नेतले अहिले आफूहरु सरकार परिवर्तन गर्ने र पाँच दलीय गठबन्धन भत्काउने खेलमा नलागेको स्पष्ट पारे ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले वर्तमान सरकारको एक वर्ष पुग्न लागेको उल्लेख गर्दैै यो एक वर्षमा सरकारले कुनै राम्रो काम गर्न नसकेको पनि दाबी गरे ।
उनले भने,‘सरकारको बारेमा गम्भीर समिक्षा गर्न जरुरी छ । यो सरकार जनमतको कारण जन्मिएको होईन, यो परमादेशबाट जन्मिएको सरकार भएकोले यसबाट हामीलाई कुनै आशा र अपेक्षा थिएन । तर, जनतामा यो सरकारले केही गर्ला कि भन्ने भ्रम थियो । यो सरकार आएपछि पेट्रोलियम पदार्थको मूल्य ह्वात्तै बढेको छ । यति धेरै बेथिति र भद्रगोल छ । मूल्यवृद्धि नेपालको इतिहासमा अहिले धेरै भएको छ । निर्माणको क्षेत्रमा पनि २५ प्रतिशतको दरले मूल्य बढेको छ। सरकारले घोषणा गरेका राहतका कार्यक्रम पनि सान्दर्भिक छैनन् । इण्डक्सन चुलोको कुरा गर्दापनि यो खर्चिलो छ ।’

उनले बजेटको अघिल्लो दिन विषय विज्ञका नाममा ठूलो घरानाका मान्छे मन्त्रालय छिरेर करको दर हेरफेर गरेको भन्दै अर्थमन्त्री जनार्दन शर्माले गम्भीर अपराध गरेको आरोप लगाए ।
उनले भने,‘हिजो ओम्नी, यति भन्नेहरु आज मुखमा पट्टी बाँधेर बसेका छन् । बजेट निर्माणको बेला भएको चलखेल अपराधको विषय हो, त्यसमा कमिसनको ठूलो खेल देखिन्छ । वायर र स्यानिटरी प्याडमा ठूलो छुट दिईएको छ। नेपाली स्वदेशी उद्योग बन्द गर्ने अवस्थामा पुर्याईएको छ । आज उद्योगी तथा व्यवसायीहरु सबै निराश हुने अवस्थामा पुगेका छन् ।’

एमालेले अर्थमन्त्रीको राजीनामा मागेर सदनमा सशक्त आवाज उठाएको स्मरण गराउँदै उनले मूल्यवृद्धिको विरोधमा आफ्नो पार्टीनिकट विद्यार्थी संगठन आन्दोलनमा उत्रिएको सुनाए । तर, विद्यार्थी आन्दोलनमा सरकार दमनमा उत्रिएको उनको आरोप छ ।

बस्नेतले वर्तमान सरकार बनेपछि मुलुकमा महिला हिंसा व्यापक रुपमा बढेको पनि उल्लेख गरे । उनले संस्कृति, पर्यटन तथा नागरिक उड््ययनमन्त्री प्रेम आलेले नेपाल वायु सेवा निगमका निवर्तमान अध्यक्ष युवराज अधिकारीलाई अश्लील गाली गरेको र दुव्र्यवहार गरेको कुरा बाहिर आउँदापनि पार्टी र प्रधानमन्त्रीले आलेलाई कारबाही गर्न नसकेको गुनासो पोखे ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *