दाङमा रगतको अभाव, बिरामी समस्यामा

Sharing is caring!

साउन ४, २०७५ । जिल्लामा रगतको अभाव देखिएको छ । रक्त सञ्चार केन्द्र घोराहीले पछिल्लो दुई महिना जिल्लामा ब्लड डोनेशनका कार्यक्रम नभएका कारण ब्लड बैंकमा रगतको समस्या देखिएको बताएको छ ।

‘‘नियमित ब्लड दिने कार्यक्रम भइरहँदा ब्लडको समस्या देखिदैन,तर पछिल्लो केही महिनायता ब्लड डोनेशनका कार्यक्रम जिल्लामा नहुँदा समस्या देखिएको छ’, रक्त सञ्चार केन्द्र घोराहीका इन्चार्ज दिलीप न्यौपानेले भने । उनले ब्लड बैंकमा अहिले अत्यावश्यक ब्लड मात्र रहेको बताए’ । उनले भने, ‘ब्लड बैंकमा अहिले अत्यावश्यक बिरामीको लागि आवश्यक पर्ने विभिन्न ग्रुप ब्लड मात्र रहेको छ ।’ त्यसैले अहिले हामीले सामान्य बिरामीलाई ब्लड दिन सकेका छैनौं ।’

पछिल्लो समय मासिक दुईसय बढी प्वाइन्ट जिल्लामा आवश्यक पर्ने गरेको छ । रक्त सञ्चार केन्द्रका अनुसार गत आर्थिक वर्ष जिल्लाका विभिन्न सरकारी तथा निजी अस्पतालमा गरी करिब दुई हजार ५०० प्वाइन्ट ब्लड खपत भएको छ । जसमध्ये करिब दुई हजार एक सय घोराही, दुई सय ५० प्वाइन्ट तुलसीपुर र अन्य ब्लड लमहीलगायतका निजी अस्पतालमा खपत भएको इन्चार्ज न्यौपानेले बताए ।

जिल्लामा वर्षेनी ब्लडको माग बढ्दै 

जिल्लामा घोराही र तुलसीपुर गरी दुई स्थानमा ब्लड बैंक नेपाल रेडक्रसले सञ्चालन गर्दै आएको छ । रक्त सञ्चार केन्द्रबाट घोराहीको राप्ती उपक्षेत्रीय अस्पताल, गोर्खा अस्पताल, दिपज्योति अस्पताल, तुलसीपुरमा रहेको राप्ती अञ्चल अस्पताल, लमहीमा रहेको फलोरेन्स अस्पताल लगायतका जिल्ला बाहिर समेत जाने गरेको छ ।

जिल्लामा करिब ७० देखि ८० वटा विभिन्न संघ संस्था र करिब ४० जनाले वार्षिक रुपमा नियमित रुपमा ब्लड दिने गरेका छन् । जिल्लामा एकै समयमा धेरै ब्लड आउने तर केही महिनादेखि ब्लड डोनेशनका कार्यक्रम नहुँदा ब्लड बैंकमा प्रत्येक वर्ष अभाव देखिने गरेको न्यौपानेले बताए ।

रक्त सञ्चार केन्द्रमा ब्लड नपाइने गरेपछि बिरामीका आफन्त तथा सहयोगीले सामाजिक सञ्जालको समेत सहायता लिने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *