त्रिवि सेवा आयोग परीक्षामा अनियमितता, अध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टचार मुद्धा

Sharing is caring!

असार १९, २०७६ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्षसहित १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । त्रिवि सेवा आयोगले प्रशासनिक तथा प्र्राविधिक पदको स्थायी पदपूर्तिका लागि लिएको लिखित परीक्षामा प्राप्तांक नम्बर फेरबदल गरी कर्मचारीका आफन्तलाई उत्तीर्ण गरेको अनुसन्धानमा खुल्न आएपछि उनीहरूविरुद्ध मुद्दा दर्ता गरिएको अख्तियारका प्र्रवक्ता प्र्रदीप कोइरालाले जानकारी दिए ।

अख्तियारले त्रिवि सेवा आयोगका अध्यक्ष चैतन्यप्रसाद शर्मा, सदस्य चिन्तामणि पोखरेल, आयोगको कार्यालयका प्रशासन प्रमुख परशुराम कोइराला, मुख्य कार्यालय सहायक बच्चुराम पाण्डे, आयोगका कर्मचारी इन्दिरा तिवारी भन्तना, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक टेकनाथ ढकाल, प्राध्यापक गोविन्द ढकाल, सह–प्राध्यापक राजेश्वर न्यौपाने, सह–प्राध्यापक ताराप्रकाश पौडेल र रामबहादुर पाण्डे क्षत्री गरी १० जनाले पदीय मर्यादाअनुरुप कर्तव्य पूरा नगरी उक्त पदहरूको लिखित परीक्षाको परिणाममा फेरबदल गरे गराएको देखिन आएको भन्दै उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । २८ फागुन २०७३ मा प्रकाशित विज्ञापन नं १८÷ २०७३÷०७४ अन्तर्गत विभिन्न १६ किसिमका प्रशासनिक तथा प्राविधिक पदका लागि विज्ञापन गरी परीक्षा भएको थियो ।

शाखा अधिकृत पदका लागि कूल पदसंख्या २४ का लागि भएको लिखित परीक्षामा सम्मिलित परीक्षार्थीमध्ये ६ जनाको उत्तरपुस्तिकामा शंकास्पद किसिमले केरमेट गरेर अंक थपघट गरी परीक्षाको परिणाम फेरबदल गराएको पाइएको अख्तियारले दायर गरेको आरोपपत्रमा उल्लेख छ ।

एक परीक्षार्थीको प्रथम पत्रमा १७ र तृतीय पत्रमा १६ अंक थपेर उसलाई उत्तीर्ण गराइएको, अर्को परीक्षार्थीको द्वितीय पत्रमा ४ अंक थपिएकोे, परीक्षार्थीको तृतीय पत्रमा १४ अंक थपेर मेरिटमा ल्याएको, अर्को परीक्षार्थीको द्वितीय पत्रमा ६ अंक थपेर मेरिटमा ल्याएको गरी चार जनाको उत्तरपुस्तिकामा अंक थपेर उनीहरूलाई उत्तीर्ण गराएको पाइएको थियो । एकजना परीक्षार्थी पास हुनुपर्नेमा नाम छुटाई अनुत्तीर्ण गराएको र अर्को एकजना परीक्षार्थीको प्रथम पत्रमा ९ र तृतीय पत्रमा १४ अंक घटाएर अनुत्तीर्ण गराएको पाइएको थियो । आयोगको अनुसन्धानमा उत्तरपुस्तिका परीक्षक गोविन्द ढकाल र टेकनाथ ढकालको प्रत्यक्ष संलग्नतामा अंक फेरबदल गरेको फेला परेको जनाइएको छ ।

लेखा अधिकृत पदका लागि कूल पदसंख्या २४ का लागि भएको लिखित परीक्षामा सम्मिलित परीक्षार्थीमध्ये एक जनालाई द्वितीय पत्रमा ९ अंक थपी मेरिटमा पारिएको थियो । तीन जना परीक्षार्थीको द्वितीय पत्रमा क्रमशः १०, ३ र ७ अंक थपेर मेरिटमा पास गराएको पाइएको छ । त्यस्तै, अन्य दुई परीक्षार्थीको द्वितीय पत्रमा २, ३ र ९ नम्बर घटाइ मेरिटमा तल पारेको पाइएको छ ।

एक परीक्षार्थीको द्वितीय पत्रमा २ अंक थपी मेरिटमा पारेको गरी ७ जनाको उत्तर पुस्तिकामा शंकास्पद किसिमले केरमेट गरेर अंक थपघट गरी परीक्षाको परिणाम फेरबदल गराएको भेटिएको छ । यीमध्ये सबै जनाको दोस्रो पत्रको उत्तरपुस्तिकामा २ देखि १० अंकसम्म थप गरी उत्तीर्ण गराइएको थियो । यस कार्यमा उत्तरपुस्तिका परीक्षक राजेश्वर न्यौपाने र सम्परीक्षक टेकनाथ ढकालको प्रत्यक्ष संलग्नता रहेको अख्तियारले दायर गरेको अभियोग पत्रमा उल्लेख छ ।

सहायक कानुनी सल्लाहकार पदका लागि पदसंख्या एकका लागि भएको लिखित परीक्षामा सम्मिलित परीक्षार्थीमध्ये एक परीक्षार्थीको द्वितीय पत्रमा १५ अंक थपी पाँचौंलाई पहिलो मेरिटमा पारेको पाइएको छ । एक परीक्षार्थीलाई द्वितीय पत्रमा २ अंक घटाई दोस्रोलाई चौथो मेरिटमा पारेको र अर्को परीक्षार्थीको द्वितीय पत्रमा ८ अंक घटाई पहिलोलाई दोस्रो मेरिटमा पारेको गरी तीन जनाको उत्तरपुस्तिकामा शंकास्पद किसिमले केरमेट गरेर अंक थपघट गरी परीक्षाको परिणाम फेरबदल गराइएको पाइएकोे थियो । तीन जनामध्ये ३७ अंक आएकोलाई १५ अंक थपिदिएर ५२ पु¥याएको र अन्य दुई जनाको प्राप्तांक घटाई ५० मा झार्ने काममा सम्परीक्षक तारा प्रकाश पौडेलको प्रत्यक्ष संलग्नता गरेकोे पाइएको अख्तियारले जनाएको छ ।

मुख्य लेखा सहायक पदका लागि कूल पदसंख्या २४ का लागि भएको लिखित परीक्षामा एकजना परीक्षार्थीको प्रथम पत्रमा १५ र द्वितीय पत्रमा १३ अंक थप गरी उत्तीर्ण गराएको भेटिएको छ । दोस्रो पत्रका लागि परीक्षामा फेल भएका परीक्षार्थीलाई द्वितीय पत्रमा १३ अंक थपी उत्तीर्ण गराएको पाइएको छ ।
‘केहीलाई परीक्षामा उत्तीर्ण गराइरहँदा आयोगले तीनजना परीक्षार्थीलाई दोस्रो पत्रमा ६ देखि १४ अंक घटाएर अनुत्र्तीण गराएको देखिन आयो,’ अख्तियारले दायर गरेको आरोपपत्रमा उल्लेख छ ।
आयोगले गरेको अनुसन्धानमा ६ जनाको उत्तरपुस्तिकामा शंकास्पद किसिमले केरमेट गरेर अंक थपघट गरी परीक्षाको परिणाम फेरबदल गराएको पाइएको छ ।

यीमध्ये एक जनाको प्रथम र दोस्रो गरी दुवै पत्रमा अंक थपेको पाइयो भने अन्य पाँचजनाको दोस्रो पत्रको उत्तरपुस्तिकामा ६ देखि १५ अंकसम्म थपघट गरी नतिजा फेरबदल गराएको भेटिएको छ । उक्त फेरबदल गराउनेमा उत्तरपुस्तिका परीक्षक राजेश्वर न्यौपाने र सम्परीक्षक टेकनाथ ढकालको प्रत्यक्ष संलग्नता रहेको देखिएको अख्तियारले जनाएको छ ।

मुख्य कार्यालय सहायक पदका लागि १२ जनाको माग भएकोमा अनुत्र्तीण भएका एक परीक्षार्थीलाई ४ अंक थपी उत्तीर्ण गराएको पाइएको छ । चार जना परीक्षाथ्र्रीको तीनदेखि चार अंक थपेर उत्र्तीण गरेको भेटिएको छ । उत्तरपुस्तिका परीक्षक रामबहादुर पाण्डे र सम्परीक्षक टेकनाथ ढकालको प्रत्यक्ष संलग्नतामा ५ नम्बर आएको परीक्षार्थीलाई ११ नम्बर थपेर पास गराएको पाइएको छ । दुई परीक्षाथीलाई क्रमशः ५ र ८ अंक थपेर उत्तीर्ण गरेको भेटिएको छ । परीक्षामा फेल भएका एक परीक्षार्थीको २२ अंक थपेर समेत पास गरेको पाइएको छ । एकै परीक्षार्थीलाई पास गराउन पाँच पटकसम्म नम्बर सच्चाएर पास गराएको भेटिएको छ । आफन्तलाई पास गराउनकै लागि एक परीक्षार्थीको १० नम्बर घटाएर मेरिटमा नपारेको भेटिएको छ । यसरी ११ जनाको उत्तरपुस्तिका केरमेट भएको पाइएको छ ।

तीमध्ये दुईजनाको प्रथम र दोस्रो दुवै पत्रमा अंक थपेको पाइयो भने अन्य ८ जनाको दोस्रो पत्रको उत्तरपुस्तिकामा २ देखि ३० अंकसम्म थप गरी नतिजा फेरबदल गराएको भेटिएको छ । एकजनालाई १० अंक घटाई नियतवश मेरिटबाट हटाएर अनुत्तीर्ण गराएको समेत पाइएको छ । यस कार्यमा कार्यालय सहायक पदका लागि कूल पदसंख्या १४ का लागि भएको लिखित परीक्षामा सम्मिलित परीक्षार्थीमध्ये दुई जना परीक्षार्थीको खुलामा नआउनेलाई अंक थपी मेरिटमा ल्याई २ जनाको उत्तर पुस्तिकामा शंकास्पद किसिमले केरमेट गरेर अंक थप गरी परीक्षाको परिणाम फेरबदल गरी दुवै जनाको दोस्रो पत्रको उत्तरपुस्तिकामा ४ देखि ५ अंकसम्म थप गरी नतिजा फेरबदल गराएको पाइएको छ ।
उत्तरपुस्तिका परीक्षण गर्दा परीक्षकले कुल प्राप्तांक केरमेट नगरी लेख्नुपर्ने उल्लेख छ । केरमेट गर्नुपर्ने नै भएमा सुरु अंक बुझिने गरी एकपटक मात्र काटेर अक्षरमा समेत लेखी दस्तखत गर्नुपर्ने, भित्रबाट बाहिर अंक सार्दा केरमेट नगरी फरक नपारी उतार्नुपर्ने भन्ने कुरा उत्तरपुस्तिका परीक्षकलाई दिइएको नियुक्तिपत्रमा स्पष्ट उल्लेख छ । यति हुदाँ हुँदै परीक्षकले जथाभावी अंक केरमेट गरेको देखिनु र त्यस्तो केरमेट गरी सच्याउने काम सबैजसो उत्तीर्ण भएका परीक्षार्थीका उत्तरपुस्तिकामा भएको देखिनुले परीक्षकले एकपटक उत्तरपुस्तिका परीक्षण गरेर बुझाइसकेपछि डिकोडिङपश्चात् पास गराउनुपर्ने व्यक्तिलाई उनीहरूका उत्तरपुस्तिकामा अंक थपघट गरी नतिजा फेरबदल गराएको भन्ने पुष्टि भएको छ ।

परीक्षकबाट परीक्षण भई प्राप्त भएका उत्तर पुस्तिकाहरू रुजु गर्दा कुनै त्रुटि देखिएमा वा शंकास्पद लागेमा त्यस्ता उत्तरपुस्तिकामध्ये सबै वा त्रुटि देखिएका उत्तरपुस्तिकाहरूको सम्परीक्षण गराउनुपर्नेछ । सामान्यत कम्तीमा ३३ प्रतिशत उत्तरपुस्तिकाहरू सम्परीक्षण गराउनुपर्ने भन्ने त्रिभुवन विश्वविद्यालय सेवा आयोग, सेवा आयोगको आन्तरिक कार्यविधिको दफा १९ मा भएको व्यवस्थाविपरीत शंकास्पद सबै वा रुजु गर्दा त्रुटि देखिएका उत्तरपुस्तिकाहरूको सम्परीक्षण गरिएको छैन ।

३३ प्रतिशत उत्तरपुस्तिकाहरू सम्परीक्षण गराउनुपर्नेमा केही उत्तरपुस्तिकाको सम्परीक्षण गराएको पाइएको छ । आयोगको आन्तरिक कार्यविधिको दफा १८ मा भएको व्यवस्थाबमोजिम परीक्षकबाट परीक्षण भई प्राप्त भएका उत्तरपुस्तिका निश्चित आधारमा रुजु गराउने र रुजु गर्दा केही छुट देखिएमा सम्बन्धित परीक्षकलाई नै बोलाई सच्याउन लगाउनुपर्नेछ ।

आयोगको आन्तरिक कार्यविधि दफा ३६ मा भएको व्यवस्थाबमोजिम आयोगमा कार्यरत कुनै शिक्षक र कर्मचारीको कुनै नातेदार वा आफू स्वयं आयोगद्वारा सञचालन हुने कुनै विज्ञापनमा उम्मेदवार भएमा सोको लिखित जानकारी सम्बन्धित शिक्षक र कर्मचारीले अध्यक्षसमक्ष अनिवार्य रुपमा दिनुपर्नेछ । यसबमोजिम सूचना प्राप्त भएमा त्यस्तो कर्मचारीलाई त्यस्तो परीक्षा सञ्चालनसम्बन्धी कामबाट अलग राख्ने व्यवस्था गर्नुपर्नेछ भन्ने बेहोरा उल्लेख भएकोमा सोको पालना भएको पाइँदैन ।

विज्ञापनमा डबल कोडिङ गरेको देखिए तापनि उनै व्यक्तिहरू दुवै कोडिङमा संलग्न भएको देखिन आएकोले डबल कोडिङ गर्नुको कुनै औचित्य नरहेको लिखित परीक्षाको विश्वसनीयता र गोपनीयता कायम रहेको देखिएको छैन ।

त्रिवि सेवा आयोगद्वारा लिइएको उक्त विज्ञापनअन्तर्गतका प्राविधिक तथा प्रशासनिक तर्फका विभिन्न १६ पदमध्ये शाखा अधिकृत, लेखा अधिकृत, सहायक कानुनी सल्लाहकार, मुख्य लेखा सहायक, मुख्य कार्यालय सहायक र कार्यालय सहायक गरी ६ पदको स्थायी पदपूर्तिका लागि भएको लिखित परीक्षा सञ्चालनतर्फ ३५ थान उत्तरपुस्तिकाको कोडिङ र डिकोडिङ, परीक्षण, सम्परीक्षण, रुजुलगायत नतिजा प्रकाशनमा समेत थुप्रै अनियमितता भएको देखिन आएकोमा यस अनियमिततामा त्रिवि सेवा आयोगका पदाधिकारी, सेवा आयोगका कर्मचारी, परीक्षक तथा सम्परीक्षक संलग्न रहेको संकलित प्रमाणबाट पुष्टि भएको अख्तियारले जनाएको छ । यो खबर आजको राजधानी दैनिकमा निराजन पौडेलले लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *