त्रिवि ‘पेपरलेस’ हुँदा विद्यार्थी ‘वर्कलेस’ हुने चिन्ता

Sharing is caring!

वैशाख १८, २०७५ । त्रिभुवन विश्वविद्यालयले प्रदान गर्ने सेवा कागजविहीन (पेपरलेस) बनाउने गरी उपकुलपति प्रा.डा. तीर्थराज खनियाँले ‘भिजन २०३०’ अगाडि बढाइरहेका बेला त्रिविका कतिपय विभाग प्रमुखले भने विद्यार्थीहरु रोजगारविहीन हुनुपर्ने अवस्था आउने भन्दै चिन्ता व्यक्त गरेका छन् । कतिपय विभागका प्राध्यापकहरूलाई विद्यार्थी पढाउन नपाएको चिन्ता पनि रहेको बताइएको छ । विभागमा विद्यार्थी पढ्न नआउनुलाई प्राध्यापकको दोष देखाएर उनीहरूको रोजगार गुम्नसक्ने संकेत गरिरहेका बेला त्रिविका प्राध्यापकहरूले यस्तो गुनासो गरेका हुन् ।
त्रिविको ‘भिजन २०३०’ निर्माण गर्न सक्रिय भई विभिन्न ठाउँमा नीति प्रसार तथा कार्यान्वयन कार्यशाला गोष्ठीसमेत गर्दै आएका कुलपति खनियाँले यसबारे विभिन्न क्याम्पस प्रमुखसमक्ष विद्यार्थी पाउन गाह्रो हुने र विभागका प्राध्यापकहरूको जागिर जान सक्ने बताए । उनले भने, “कतिपय क्याम्पसहरूमा पठनपाठन हुने विषयहरुमा विद्यार्थी संख्या न्यून रहेको पाइएको छ । विद्यार्थीले किन विषय छोडे भनेर सम्बन्धित विषय शिक्षकले समीक्षा गर्नुपर्ने अवस्था छ । विद्यार्थीले छोडेका विषय शिक्षकहरुलाई त्रिविले पनि छोड्दै जानुपर्ने बाध्यता छ ।”
त्रिविले उपलब्ध गराइआएको शिक्षाको स्तर खस्किँदै गएकोमा चिन्ता व्यक्त भएकाले यसको स्तर सुधार गर्न उच्च शिक्षा सुधार परियोजनालाई अगाडि बढाएको छ । यससम्बन्धी नीति नियम र यसको कार्यान्वयनका लागि त्रिविले सम्बद्ध क्याम्पसका प्रमुख तथा प्राध्यापकहरूसँग छलफल गरिरहेको छ ।
त्रिविलाई विश्वका उत्कृष्ट हजार विश्वविद्यालयमा समावेश गराउन आफू प्रयत्नशील रहेको बताउँदै कुलपति खनियाँले भने, “त्रिविले अथाह सम्भावना बोकेको र यससँग सबल पक्ष रहेर पनि पछाडि परिरहेको छ । यसको उपयोग र प्रचारप्रसार गर्न सकिएको छैन ।”
प्रविधिको विद्यमान युगमा त्रिविबाट उपलब्ध सेवाहरूमा प्रयोग गरिने कागजको विस्थापन आवश्यक भएको बताउँदै उनले उनले भने, “अब विश्वविद्यालयलाई पेपरलेस बनाउनुपर्ने आवश्यकता छ । पूर्णरूपमा पेपरलेस नभए पनि आफ्नो कार्यकालमा लेस पेपरको व्यवस्था गर्छु ।”
त्रिविबाट शिक्षित जनशक्तिको रोजगारमुखी भविष्यको लागि चिन्तित सरकार नभएको कतिपय प्राध्यापकहरूको गुनासो छ ।
त्रिवि अन्तर्गत जुलोजीका प्राध्यापक डा. श्यामनारायण लाभले यस्तो चिन्ता व्यक्त गरे । उनले भने, “विज्ञान संकायको जुलोजीमा पढ्ने विद्यार्थीहरूका लागि रोजगारीको समस्या छ । अहिले पढिरहेका जुलोजीका विद्यार्थीहरूले प्रमाणपत्र लिएर कुन क्षेत्रमा रोजगार पाउने हुन् त्यसको टुंगो छैन ।”सरकारले पढाएर मात्र होइन, शिक्षितहरूको रोजगार विस्तारका लागि पनि ध्यान दिनुपर्ने उनको भनाइ छ ।
यसैगरी शिक्षाध्यक्ष प्रा.डा. सुधा त्रिपाठीले विद्यावारिधिको उपाधिलाई गुणस्तरीय बनाउन पहल भइरहेको बताइन् । उनले भनिन्, “वर्तमान शैक्षिक कार्यक्रमको गुणस्तर मापन गर्ने संयन्त्र खडा भइसकेको छ । ”यो खबर आजको कारोबारमा धर्मेन्द्र कर्णले  लेखेका हुन्  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *