डेमोक्रेटिक सोसलिस्ट एलायन्सले एउटै चुनाव चिन्ह लिएर लड्ने

Sharing is caring!

भदौ ५, २०७९ ।  विभिन्न १० दल आबद्ध डेमोक्रेटिक सोसलिस्ट एलायन्स (डि. एस. ए.) ले आगामी निर्वाचनमा गोलाकारभित्रको गीतार साझा चुनाव चिन्ह लिएर चुनाव लड्ने घोषणा गरेको छ ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा ‘गीतार’ चिन्ह लिएर जाने जानकारी दिईएको हो ।

डिएसएका अध्यक्ष सिबी गहतराजको अध्यक्षतामा गत भदौ १ गते बसेको बैठकले साझा चुनाव चिन्ह गोलाकारभित्रको गितारलाई बनाउने निर्णय गरेको जनाईएको छ । डिएसएले संयुक्त कार्यक्रम र भेलाहरूको समेत आयोजना गरेको छ ।
डिएसएमा आबद्ध दलहरुले साझा चुनाव चिन्ह गोलाकारभित्रको “गितार’’लाई आफ्नै पार्टी, दल वा मोर्चाको चुनाव चिन्हका रूपमा आफ्ना मतदाता, शुभेच्छुक, समर्थक तथा आम जनतामाझ व्यापक रूपमा चिनाउन र प्रचारप्रसार गर्न समेत आग्रह गरिएको छ । साथै, केन्द्रीय कार्यक्रमअन्तर्गत काठमाडौंको प्रज्ञा भवनमा गरिने कार्यक्रममा प्रत्येक प्रदेशबाट ब्यापक सहभागी गराउनले समेत निर्णय गरेको छ ।

अध्यक्ष गहतराजले अहिले देशमा गणतान्त्रिक व्यवस्था कायम भएपनि फोटोकपिको रुपमा मात्र काम भइरहेको बताएका छन् । उनले अहिलेको व्यवस्थाले राष्ट्रिय गणतन्त्रको अनुभुति जनतालाई गराउन नसकेको गुनासो पोखे । संविधानमा धर्मनिरपेक्षता भन्ने शब्द उल्लेख भएपनि जनताले अनुभुति गर्न नसकेको टिप्पणी गरे । संविधानतः देशमा समानुपातिक प्रणालीको संरचना बनेपनि त्यो वास्तविक रुपले कार्यान्वयन हुन नसकेको बताए ।

‘देशको अबस्था बिग्रिएको छ, अब निकास दिन डेमोक्रेटिक भित्रका पनि प्रगतिशिल विचार तथा समाजवाद र साम्यवादभित्रका प्रगतीशील, नैतिकवान विचार बोकेका समुहबीच एकता भएको छ। प्रगतिशिलहरुको उत्कृष्ट विचार बोक्ने नैतिकवान समूहहरु मिलाएर डिएसए निर्माण गरेका छौं । डि. एस. ए.ले राष्ट्रियता, स्वाधिनता र जनजीविकाको सवालमा कटिवद्ध भएर दुवै विचार राख्नेहरुको एउटै नयाँ फ्युजनको रुपमा अभ्यास गरिरहेको छ ।’

उनले डिएसए अब नेपालको विकासको लागि अपरिहार्य गठबन्धन भएको पनि बताए । उनले भने,‘यो अपरिहार्य गठबन्धन हो । यसले नै देशलाई निकास दिने अठोट गरेको छ ।’ उनले विभिन्न दल र मोर्चाहरुको समुहको एलाएन्स निर्माण गरेर ‘गितार’ चिन्ह बोकेर जनताबीचमा जाने निर्णय गरेको समेत जानकारी दिए ।

प्रवक्ता राजु कार्कीले डिएसएले आगामी दिनमा जनताको समस्या र गुनासा सुनेर त्यसको जवाफ दिने गरि जनतामाझ जान लागेको जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *