ठाकुरको अध्यक्षतामा जसपा लोकतान्त्रिक

Sharing is caring!


भदौ ३, २०७८ । गठन भएको १६ महिनामै जनता समाजवादी पार्टी (जसपा) विभाजित भएको छ। जसपाको अध्यक्षबाट हटाइएका महन्थ ठाकुरले बुधबार जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्।

२०७७ वैशाख १० गते मध्यरातमा हतारहतारमा तत्कालीन राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच एकीकरण गरी जनता समाजवादी पार्टी गठन गरिएको थियो। गठन भएको एक वर्ष नबित्दै पार्टीभित्र गम्भीर विवाद सिर्जना भयो। केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत पुगेको भए ठाकुर पक्षले एक महिनाअघि नै नयाँ पार्टी गठन गर्ने थियो। अहिले सरकारले पार्टी विभाजन र गठनका लागि सजिलो हुनेगरी राजनीतिक दलसम्बन्धी ऐन अध्यादेशबाट संशोधन गरेपछि ठाकुर पक्षले नयाँ पार्टी गठन गरेको हो।

जसपा आधिकारिकता विवादमा निर्वाचन आयोगले साउन ११ गते उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएपछि राजनीतिक दलसम्बन्धी ऐनमा भएको प्रावधानका कारण ठाकुर पक्ष नयाँ पार्टी खोल्न पनि नसक्ने र जसपामा पनि बस्न नसक्ने अवस्थामा पुगेको थियो। त्यति बेला नयाँ पार्टी घोषणा गर्नेबित्तिकै उनीहरूको सांसद पद जाने थियो। त्यसैले ठाकुर पक्षले जसपामै रहेर नयाँ पार्टीको अभ्यास गरिरह्यो। पार्टी अध्यक्ष यादवले ठाकुर पक्षलाई निरन्तर पेल्दै गए। सुरुमा यादवले ठाकुरलाई अध्यक्षबाट हटाए। त्यसपछि ठाकुर र उनीनिकट नेताहरूलाई कार्यकारिणी समितिबाट हटाइयो। निर्वाचन आयोगमा हेडकाउन्ट हुँदा ठाकुरलाई साथ दिएका १६ जनालाई केन्द्रीय सदस्य पदबाट समेत हटाइयो।

यस्तै अप्ठेरो परेका बेला सरकारले दल विभाजन र गठनका लागि सहज हुनेगरी ल्याएको अध्यादेशले ठाकुर पक्षका नेताहरूलाई ठूलो राहत मिल्यो। उनीहरूले बुधबार नयाँ दल गठनका लागि निर्वाचन आयोगमा निवेदन दिए। नयाँ दल दर्ताका लागि निवेदन दिएपछि ठाकुर पक्षका नेता केशव झाले भने्, ‘राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न अध्यादेश ल्याएकोमा शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विशेष धन्यवाद छ।’ देउवालाई अध्यादेश ल्याउन आग्रह गर्न ठाकुर पक्षका नेताहरू मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए।

ठाकुर पक्षले निर्वाचन आयोगमा दल दर्ताका लागि दिएको निवेदनमा कार्यकारिणी समिति २४ सदस्यीय हुने उल्लेख छ। जेलमा रहेका रेशम चौधरीको नाम पनि कार्यकारिणी समितिमा राखिएको छ। यसअघि उनी उपेन्द्र यादव पक्षमा थिए। ठाकुर पक्षले जनता समाजवादी पार्टी नेपाल ९लोकतान्त्रिक० मा प्रतिनिधिसभा र राष्ट्रियसभाका गरी १४ सांसद रहेको दाबी गरेको छ। पार्टीमा एकल अध्यक्षको व्यवस्था गरिएको छ। राजेन्द्र महतोलाई वरिष्ठ नेता बनाइएको छ। तत्कालीन राजपामा जस्तो अध्यक्षमण्डल राखिएको छैन। चुनाव चिह्न साइकल प्रस्ताव गरिएको छ। जसपा नेपाल ९लोकतान्त्रिक० को कार्यकारिणी समितिका अधिकांश सदस्य तत्कालीन राजपा खेमाका छन्। तत्कालीन समाजवादी पार्टीबाट आएका उमाशंकर अरगरैया र विमल श्रीवास्तवलाई पनि ठाकुरले कार्यकारिणी समितिमा राखेका छन्।

विभाजनको शृंखला

तराई मधेस केन्द्रित भएर गठन गरिएका दल डेढ दर्जनभन्दा बढी पटक फुटिसकेका छन्। २०४७ साल वैशाख ३ गते गजेन्द्रनारायण सिंहले नेपाल सद्भावना पार्टी गठन गरेका थिए। त्यसयता तराई मधेस केन्द्रित भएर गठन भएका दल पटकपटक फुटेका छन्। नेपाल सद्भावना पार्टी गठन भएको एक वर्षमै २०४८ सालमा रामजनम तिवारीले नेपाल सद्भावना पार्टी ९आर० गठन गरेका थिए। त्यसपछि २०५२ सालमा रामेश्वर राय यादव र हृदयेश त्रिपाठीले नेपाल सद्भावना पार्टी फुटाएर समाजवादी जनता दल गठन गरेका थिए। २०५९ सालमा नेपाल सद्भावना पार्टी र समाजवादी जनता दलबीच एकीकरण भयो। २०५९ चैत ११ गते नेपाल सद्भावना पार्टी ९आनन्दीदेवी० बनाइयो। यसमा विभाजन भई दुईवटा सद्भावना पार्टी भए।

नेपाल सद्भावना पार्टीको अध्यक्ष बद्री मण्डल भए भने नेपाल सद्भावना पार्टी ९आनन्दीदेवी० को अध्यक्ष आनन्दीदेवी सिंह भइन्। २०६२र६३ सालको आन्दोलनपछि नेपाल सद्भावना पार्टी ९आनन्दीदेवी० मा फेरि एकीकरण र विभाजनको क्रम सुरु भयो। २०६४ सालमा उपेन्द्र यादवले मधेसी जनता अधिकार फोरम नेपाल दर्ता गराए। फोरम गठन भएपछि एक दर्जनभन्दा बढी पटक फुटिसकेको छ।

२०७४ साल वैशाखमा तत्कालीन तराई मधेस केन्द्रित ६ दलबीच एकीकरण भई राष्ट्रिय जनता पार्टी ९राजपा० गठन भयो। त्यसपछि तराई मधेस केन्द्रित दुईवटा मात्रै दल भए। २०७७ वैशाख १० गते दुई दल राजपा र समाजवादी पार्टीबीच एकीकरण भई जसपा गठन भयो। अन्ततः जसपा पनि विभाजित भयो। तराई मधेस केन्द्रित दल पटकपटक विभाजित हुनुमा सत्ता र व्यक्तिगत स्वार्थ प्रमुख कारण भएको जसपा नेता मनिष सुमन बताउँछन्। यो खबर नागरिकमा भुवन शर्माले लेखेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *