जातीय भेदभाव तथा छुवाछूत पहिलो संशोधन विधेयक स्वीकृत

Sharing is caring!

भदौ १८, २०७५ । प्रतिनिधिसभाको आजको बैठकले ‘जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) पहिलो संशोधन विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रस्तुत गर्नुभएको उक्त प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको हो ।

मन्त्री पण्डितले जातीय भेदभावलाई जरैदेखि अन्त्य गरेर समतामूलक समाज निर्माण गर्ने ध्येयका साथ सरकारले उक्त विधेयक ल्याएको बताउनुभयो । सांसदले उठाएको प्रश्नको जवाफ दिँदै उहाँले सो विधेयक पारित भई कार्यान्वयनमा आएपछि सामाजिक भेदभाव गर्नेलाई कानूनअनुसार कारवाही गरिने र अपराधीलाई कुनै पनि छुट नदिइने स्पष्ट पार्नुभयो ।

त्यसअघि सांसदले जातीय भेदभाव र छुवाछूत सामाजिक समस्या भएकाले यसलाई व्यावहारिक र कानूनी रुपमै समाधान खोजिनुपर्ने खाँचो औँल्याउनु भएको थियो । सामाजिक अपराधका रुपमा रहेको जातीय भेदभावलाई अन्त्य गर्न सामाजिक रुपान्तरण, जनचेतनाको अभिवृद्धि गर्नुपर्नेमा समेत सांसदको जोड थियो । सांसदले दलित भन्ने शब्दकै विकल्प खोज्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसदहरु कृष्णभक्त पोखरेल, प्रेम सुवाल, दुर्गा पौडेल, लक्ष्मणलाल कर्ण, महेश्वर गहतराज, सूर्य पाठक, आशाकुमारी विक, निर्मला विक, सुजाता परियारलगायतले जातीय भेदभाव गर्नेलाई कडा कानूनी कारवाही गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *