चेन्नई सुपर किङ्सलाई आईपीएलको तेस्रो उपाधि

Sharing is caring!

जेठ १४, २०७५ । दोस्रो पटक उपाधि उचाल्ने सनराइजर्स हैदरावादको सपना अधुरो बनाउँदै चेन्नई सुपर किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि जित्न सफल भएको छ ।

मुम्बईमा भएको फाइनल भिडन्तमा हैदरबादले दिएको १७९ रनको चुनौती चेन्नईले ९ बल बाँकी छँदै २ विकेटको क्षतिमा भेट्टाएर महेन्द्रसिंह धोनीको टोली उपाधि उचाल्न सफल भएको हो ।

चेन्नईलाई उपाधि दिलाउन शेन वाट्सनले विस्फोटक पारी खेले । उनले नटआउट रहँदै ५७ बलमा ११७ रन बनाए । आईपीएलको फाइनलमा सतक बनाउने पहिलो खेलाडी पनि वाट्सन बनेका छन् ।

वाट्सन फाइनल भिडन्तमा लक्ष्य पछ्याउँदै शतक बनाउने पहिलो ब्याट्सम्यान पनि बनेका छन् । यसअघि हैदराबादको तर्फबाट कप्तान केन विलियम्सनले ४७ र यूसुफ पठानले ४५ रन बनाएपछि स्कोर १७८ रनसम्म पुगेको थियो ।

उपाधि भिडन्तका क्रममा टस हारेर पहिले ब्याटिङमा उत्रेको सनराइजर्स हैदराबादको टीमले २० ओभरमा ६ विकेट गुमाउँदै १७८ रन बनाएर चेन्नई सुपर किङ्सलार्इ १७९ रनको चुनौती दिएको थियो ।

विलियमसनले ३६ बलको सामना गरेका थिए । उनले पाँच चौका र दुर्इ छक्का हाने । शिखर धवनले २६ र शकिब अल हसनले २३ रनको योगदान दिए । अन्तिममा कार्लोस ब्रैथवेटले १०बलमा ३ छक्का हानेर २१ रन बनाए। चेन्नईका लागि लुङ्गी नगिदी, रवीन्द्र जडेजा, शार्दुल ठाकुर, कर्ण शर्मा, ब्राभोले एक-एक विकेट लिए ।

जवाफमा चेन्नई सुपर किङ्सले शेन वाट्सनको विस्फोटक ब्याटिङको सहयोगमा ९ बल बाँकी रहँदै १८१ रन बनाएर तेस्रो पटक आईपीएल ट्रफीमा कब्जा जमायो ।  फाइनलमा शेन वाट्सनले ५१ बलमा सतक बनाएर चेन्नईको जित सहज बनाइदिए । चेन्नईका लागि शेन वाट्सन ५७ बलमा ११ चौका र ८ छक्का मद्दतमा ११७ रनमा क्रिजमा रहे ।

अहिलेसम्म सात पटक फाइनलमा पुगिसकेको चेन्नईले तेस्रो पटक उपाधि उचालेको हो । आईपीएल इतिहासमा चेन्नई मुम्बई इन्डियन्सपछि तीन पटक उपाधि उचाल्ने दोस्रो टिम बनेको छ ।

मुम्बई इन्डियन्सले सन् २०१३ , २०१५ र २०१७ मा आईपीएलको उपाधि जितेको थियो । यी तीनै उपाधि मुम्बर्इले रोहित शर्माको कप्तानीमा जितेको थियो । रोहितपछि अब धोनीले पनि चेन्नई सुपर किङ्सलार्इ तीन पटक आईपीएल च्याम्पियन बनाएका छन् ।

चेन्नर्इले योसँगै आईपीएलको उपाधि तीन पटक जितेको छ। चेन्नर्इले मुम्बर्इले तीन पटक उपाधि जितेको कीर्तिमानमा पनि बराबरी गरेको छ ।  चेन्नर्इले यसअघि सन् २०१० र २०११ मा लगातार २ सिजन उपाधि उचालेको थियो । सनराइजर्सले भने सन् २०१६ मा एक पटक मात्रै  उपाधि जित्न सफल भएको छ । यो खबर आजको अन्नपुर्ण पोस्टमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *