चिनीको अभाव र बजार भाउपनि नबढेको मन्त्री यादवको दाबी

Sharing is caring!

असोज २१, २०७५ । उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री मातृका यादवले अहिले चिनीको अभाव नभएको र बजार भाउपनि नबढेको स्पष्ट पारेका छन् ।
आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री यादवले उपभोक्ताले सस्तो मुल्यमा आवश्यक सामाग्री खोज्नु स्वभाविक भएको बताउँदै अहिले चिनीको कुनै अभाव नरहेको बताएका हुन् । उनले भने,‘बजारमा चिनीको कुनै अभाव छैन । र, बजार भाउ पनि बढेको छैन् ।’
मन्त्री यादवले पत्रकारहरुले चिनीको अभाव भयो भनेर समाचार लेखेकोप्रति कडा आपत्ति जनाए । उनले आक्रोश पोख्दै भने,‘चिनीको अभाव छ भनेर समाचार लेख्नेहरुलाई कति चाहियो ? चिनीको बोरा नै जीउमा हालेर पठाईदिन्छौं । त्यसैले अनर्गल प्रचार गर्नुहुँदैन् । यस्तो अनर्गल प्रचारले देश कहिल्यै बन्दैन् ।’
यादवले बजारमा कुनै मुल्यवृद्धि नभएको भन्दै ढुक्क हुन सबैलई आग्रह गरे । उनले भने,‘हामी अहिले अनुगमन गरिरहेका छौं । बजार अनुगमन गरिएन भनेर भनिएको छ । भोलि गृह, अर्थ, सामान्य प्रशासन र हाम्रो मन्त्रालयबीच आपसी छलफल छ । हामी एउटा बलियो संयन्त्र बनाएर काठमाडौंमा मात्रै होईन, पुरै देशमा बजार अनुगमन गर्छौं।’ यद्धपी उनले भन्नेबित्तिकै छु मन्तर नहुने स्पष्ट पारे । यादवले भने,‘विगतमा सरकार थिएन, तर अहिले हामी बजारमा पुगिरहेका छौं । बजार अनुगमन गर्न हाम्रो निरन्तर प्रयास छ।’
उनले आफूले अहिले आपुर्ति सहज गर्ने, बजार भाउ नियन्त्रण गर्ने र कालोबजारी हटाउन कोशिश गरिरहेको सुनाए । त्यस्तै उनले चिनी आयात बढाउन एक अर्ब ६९ करोडको चलखेल भएको भनेर आरोप लगाउँदै हल्ला भएको सुनाउँदै भने,‘अहिलेको जमानामा त्यति सजिलो छ र ? यत्रो पैसा चलखेल गर्नलाई, ट्रकबिना त्यत्रो पैसा चल्दैन् । जीपमा बोकेर हुँदैन् । एउटा ट्रकलेमात्रै पनि हुँदैन् । त्यत्रो ट्रक बोक्न दुई वटा ट्रक चाहिन्छ। अर्बोंको कारोबार हुँदा बैंकमा थाहा हुन्छ नि। यसमा निश्पक्ष छानबिन हुनुपर्यो भनेर सभामुखलाई मैले पत्रपनि लेखेको छु।’
उनले पत्रकारहरुलाई न्युज लेख्दा आफ्नो भ्युज नघुसाउन समेत आग्रह गरे । यादवले भने,‘या त प्रमाणित गर्नुपर्यो । या त जसले भ्रष्टाचार गर्छ, उ जेल जान्छ । आफ्नो कुरा लेख्नै मन लागे आर्टिकल लेखे हुन्छ । भ्रष्टाचार गर्यो भनेर ठूलो ब्यानर बनाएर न्यूज लेख्छ, तर त्यही न्यूजको खण्डन पठायो भने कुनामा यत्रो सानो अक्षरमा लेख्छ । मातृका आएपछि खानी बेच्यो भनेर समाचार लेख्यो । तर मातृकाले कुनै खानी बेचेको छैन । त्यो समाचार लेख्ने नै अपाराधी हो । या त त्यसले कसैको पैसा खाएर लेखेको हो ।’
त्यस्तै उनले फरक प्रसँगमा चिनीको मुल्य सार्वजनिक लेखा समितिले निर्धारण गरेको विषयप्रति टिप्पणी गर्दै भने,‘यो सार्वजनिक लेखा समितिको अधिकार कतिको हो ? मलाई थाहा छैन । लेखा समितिले सबै वस्तुको भाउ लेखेर दिए हामीलाई धेरै मेहनत गर्नुपर्ने थिएन । यो रेटमा बेच्नुहोला भनेर हामी माईकीङ गराउँछौं ।’
यादवले संविधान, कानून र ऐनले दिएको अधिकार सबैले प्रयोग गर्नुपर्ने सुझाए । यद्धपी उनले आफू र समितिबीच कुनै झगडा नरहेको पनि स्पष्ट पारे । उनले भने,‘समितिले हाम्रो मन्त्रालयलाई सहयोग गरिरहेको छ।’ ६३ रुपैयाँमै चिनी पाए त उपभोक्ताको लागि खुशीको विषय हुने उनले बताए ।
जनताका चाहनाहरु पूरा गर्न सरकार सचेत रहेको उनले स्पष्ट पारे । नेपालमा चिनी उत्पादन १ लाख ८० हजार मेट्रिक टन रहेको र अहिले आवश्यकत्ता २ लाख ३० हजार मेट्रिक रहेको पनि यादवले बताए । उनले भने,‘चिनीका मालिकहरुले उखु किसानका पैसाहरु दिएका थिएनन् । तर, म आएपछि अहिले दिन थालेका छन् । सुरुमा मैले पनि हात जोडेर किसानलाई पैसा दिन आग्रह गर्दा दिएनन् । तर, अलिक कडा रुपमा प्रस्तुत हुँदा दिए । अझै सबा अर्ब जति पैसा किसानलाई दिन बाँकी नै छ ।’
देशको अर्थतन्त्रलाई मजबुद बनाउनको लागि आफ्नो उत्पादनलाई सुरक्षित गर्नुपर्ने मन्त्री यादवको भनाई छ । उनले भने,‘मागेर खाएर अर्थतन्त्र मजबुद हुँदैन् ।’ चाडपर्वको मौका छोपेर बजारमा कालोबजारी, अनियमितता, कृत्रिम अभाव र मुल्य वृद्धि गरेको थाहा पाए तुरुन्त आफूहरुलाई सम्पर्क गर्न आग्रह गर्दै डिजी योगेन्द्र गौचनको मोवाईल नम्बर ९८२३–२३७५८८ पत्रकारहरुलाई टिपाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *