चार्टर्ड उडानको नाममा व्यापक ठगी

Sharing is caring!

असार २, २०७७ ।  विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन चार्टर्ड उद्धारको नाममा व्यापक ठगी भएको भन्दै सरकारले ठगी नियन्त्रणका लागि तेस्रोपटकसम्म भाडादर घटाए पनि साविकको भन्दा तीन गुणा महँगो भएको सम्बन्धित सरोकारवालाको भनाइ छ । उनीहरूले आफूहरूको उद्धारमा प्रयोग भएको चार्टर्ड हवाई भाडामा सरकारको भूमिका खसी व्यापारी जस्तो भएको भन्दै गुनासो गरेका छन् ।

सरकारले केही दिनअघि पहिलोपटक विदेशबाट नेपालीलाई उद्धार गर्ने समय तालिका र हवाई भाडादरको सूची निकालेको थियो । त्यो भाडादर देखेपछि खाडी क्षेत्रलगायत विभिन्न मुलुकमा अलपत्र परेका नेपाली कामदार निकै अत्तालिए । कोरोना भाइरसको प्रभावका कारण लामो समयदेखि रोजगारी खोसिएर बेखर्ची भई विदेशमा दुःख पाएर बसेका कामदारलाई निःशुल्क उद्धार गरी ल्याइदिनुपर्नेमा उल्टै सरकारले चार्टर्ड उद्धारका नाममा साविकको भन्दा चार गुणासम्म बढी भाडा असुल्न खोजेपछि उनीहरू थप पीडामा परेका थिए । विभिन्न मुलुकमा अलपत्र कामदारको पीडामाथि सरकारले साविकको भन्दा बढी भाडा तिराएर नेपाल फर्काउन लागेको भन्दै सर्वत्र दबाब भएको थियो । सोही दबाबपछि बल्ल सरकारले पटक–पटक गरी पुनः तेस्रोपटक हवाई भाडा केही घटाएर नयाँ भाडादर निर्धारण गरेको छ ।

भाडादरमा पनि अझै विभिन्न मुलुकमा दुःख पाइरहेका नेपाली कामदार सन्तुष्ट छैनन् । उनीहरूले सरकारले पछिल्लोपटक निर्धारण गरेको चार्टर्ड उडानको भाडादर पनि अझै साविकको भन्दा तीनगुणा महँगो भएको बताइरहेका छन् । विभिन्न मुलुकमा समस्यामा परेका अधिकांश कामदार एवं सम्बन्धित सरोकारवालाले लामो समय अर्काको भूमिमा बेखर्ची भई दुःख पाइरहेका नेपालीलाई जतिसक्दो छिटो निःशुल्क रूपमा स्वदेश फर्काउनुपर्नेमा सरकारले उल्टै यति धेरै भाडा उठाई नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सलाई राम्रो कमाइ गराउन चार्टर्ड उडानको अवसर दिलाउन खोजेको आरोप लगाएका छन् ।

उनीहरूको यस्तो आरोपसँगै सामाजिक सञ्जाल लगायत विभिन्न माध्यामबाट चौतर्फी दबाब एवं व्यापक आलोचना भएपछि सरकारले आइतबार पुनः तेस्रोपटक हवाई भाडा घटाएको थियो ।

विदेशमा अलपत्रको उद्धारमा चार्टर्ड उडानको भाडा महँगो भएको भन्दै व्यापक आलोचना भएपछि सरकारले गत शुक्रबार केही भाडा घटाएको थियो । त्यसपछि पुनः आइतबारदेखि लागु हुने गरी तेस्रोपटक भाडा घटाएको हो । यसपटक सरकारले मेलेसिया र खाडीका प्रमुख श्रम गन्तव्यहरूको मात्रै हवाई उडान भाडा घटाइएको छ । अहिले दुईपटक गरी सरकारले करिब ३० प्रतिशत भाडा घटाएको छ ।

भाडा घटाउन संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सका अधिकारीहरूसँग छलफल गरेका थिए । प्रतियात्रु सय डलर नबढ्ने गरी २० प्रतिशतसम्म भाडा घटाउन नेपाल वायुसेवा निगम र निजी वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले सहमति जनाएर अलपत्र नेपाली ल्याउने तयारी गरेको पर्यटन मन्त्रालयले बताएको छ ।

पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले चार्टर्ड उडानका लागि यताबाट रित्तो विमान उडाएर उताबाट एकतर्फी यात्रु ल्याउन आवश्यक विमानको लागत खर्चभन्दा एक रुपैयाँ पनि बढी नलिएको दाबी गरे । उनले अलपत्र कामदारलाई निःशुल्क ल्याउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयसँग मात्र सम्बन्धित भएकाले यस मन्त्रालयले केही गर्न नसकिने बताए ।

पर्यटन मन्त्रालयले पछिल्लोपटक घटाएको नयाँ भाडादरअनुसार मलेसिया र खाडीका गन्तव्यमा ९० देखि १०० डलरसम्म भाडा घटाइएको छ । यस अनुसार अहिले मलेसियाको भाडा ४६५ डलरबाट ३७२ डलर कायम भएको छ । यसैगरी, कतारको दोहाबाट आउँदा यसअघि ४९० डलर लाग्ने भनिएकोमा अहिले ३९२ डलर कायम भएको छ । त्यसैगरी, दुबईबाट नेपाल फर्किँदा ३६० डलर तिर्नुपर्ने हुन्छ । यसअघि यहाँको भाडा प्रतियात्रु ४५० डलर थियो ।

साउदीको दमामको भाडा ५३० बाट ४३०, ५६५ बाट ४६५ र जेद्दाको ६९० बाट ५९० डलरमा झारिएको छ । ओमानको भाडा ४६० बाट ३६८ मा झारिएको छ । बहराइनबाट फर्किने यात्रुले ३९२ डलरमा नेपाल वायुसेवा निगमको टिकट पाउनेछन् । यसअघि बहराइनबाट फर्किने भाडादर ४९० डलर थियो । कुवेतको भाडा ५१० डलरबाट ४१० मा झारिएको छ । त्यसैगरी, जोर्डनको भाडा ७७५ बाट ६७५ र साइप्रसको भाडा ८३० बाट ७३० डलर तोकिएको छ ।

पर्यटनमन्त्री भट्टराईले नेपाल वायु सेवा निगम र हिमालय एयरलाइन्सका अधिकारीहरूसँग छलफल गरेपछि सरकारले साउदी, कुवेत, मलेसियालगायतका देशबाट आउने नेपालीका लागि हवाई भाडा घटाएको हो । अन्य गन्तव्यका लागि भने पहिलोपटक निर्धारण भएकै उडान तालिका कायम रहने मन्त्रालयले जानकारी दिएको छ । पहिलो चरणमा सरकारले विभिन्न देशबाट २५ हजार नेपालीलाई स्वदेश फर्काउने तयारी गरेको छ । यसका लागि कुल ६७ चार्टर्ड उडान भर्ने योजना बनाएको सरकारले नेपाली वायुसेवा कम्पनीलाई ४३ र विदेशी कम्पनीलाई २४ उडानको अनुमति दिइने मन्त्रालयले यसअघि नै निर्णय गरिसकेको छ ।

पहिलोपटक सरकारले तोकेको भाडादर निकै महँगो भएको भन्दै ओमानस्थित नेपाली दूतावासले सरकारले निर्धारण गरेको भन्दा धेरै सस्तो टिकटमा करिब साढे ३ सयजना नेपालीलाई स्वदेश फर्काउँदै छ । यसअघि सरकारले प्रतियात्रु ६२ हजार भाडा तोकेको अवस्थामा ओमानको दूतावासले सलाम एयरमार्फत जम्मा ३४ हजार रुपैयाँमा नै कामदारलाई काठमाडौं ल्याउने बताएको छ । दूतावासले समेत सरकारले तोकेको भन्दा आधा सस्तोमै चार्टर्ड उडान भर्ने भनेपछि अहिले सरकारप्रति थप जनआक्रोश बढेको हो । सो आक्रोस एवं चौतर्फी दबाबकै कारण अहिले सरकारले थप केही प्रतिशत भाडादर घटाएको हो ।

सरकारले पछिल्लोपटक घटाएको भाडामा पनि अझै विदेशमा अलपत्र कामदार र तिनका परिवारले चित्त बुझाएका छैनन् । अहिले उनीहरूले सरकारले उद्धार नै गर्ने भनेपछि निःशुल्क उद्धारको माग गरिरहेका छन् । अझै पनि भाडादर साविकको भन्दा झन्डै तेब्बरसम्म रहेकाले चित्त बुझाउन सक्ने वातावरण नबनेको उनीहरूको गुनासो छ ।

वैदेशिक रोजगार विज्ञ गणेश गुरुङ विदेशमा अलपत्र नेपाली कामदार निःशुल्क स्वदेश फर्किन पाउनुपर्ने बताउँछन् । विदेश जाने समयमा सरकारले उनीहरूलाई अप्ठ्यारो प¥यो भने कल्याणकारी कोषबाट खर्च गर्ने भनेर प्रति व्यक्ति १ हजारका दरले लिएको वैदेशिक रोजगार कल्याणकारी कोषमा ६ अर्ब जम्मा भइसकेको भन्दै गुरुङले अहिले सरकारले त्यही कोषको पैसा उपयोग गरेर उद्धारको काम गर्नुपर्ने बताए । यो खबर राजधानीबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *