कुनैपनि हालतमा नेकपालाई फुट्न दिँदैनौं : देवेन्द्र पौडेल

Sharing is caring!

असार २०, २०७७ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा सांसद देवेन्द्र पौडेलले नेकपालाई कुनैपनि हालतमा फुट्न नदिने बताएका छन् । उनले भने,‘हाम्रो पुस्ताको खासगरी आफ्नो तहका साथीहरुबाट कुनैपनि हालतमा नेकपालाई फुट्न दिँदैनौं । यो प्रतिबद्धता म तपाईहरुलाई व्यक्त गर्न चाहन्छु । त्यो किनभने जनताको हितमा पनि छैन् । स्वयम सिनियर नेताहरुको हितमा पनि छैन् । संविधानको प्रस्तावनामा लेखिएका पाँच वटा कुराहरु त्यो कार्यान्वयनको हितमा पनि छैन् । र, संविधानको प्रस्तावनामा लेखिएको अन्तिम कुरा समाजवादउन्मुख राज्यप्रणाली ल्याईनेछ भनिएको छ । त्यो प्राप्ति गर्नको निम्ति पनि पार्टी टुटफुट र विभाजनले त्यहाँ लैजाँदैन ।’

शनिबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफूहरुलाई फुट र विभाजन कुनैपनि हालतमा स्विकार्य नभएको बताउँदै पार्टी एकताका लागि देशैभरिका साथीहरुले खबरदारी गर्ने काम गरिरहेको पनि जनाए । उनले थपे,‘यसको लागि साथीहरुले केन्दीय कार्यालयमा गएर धर्ना बस्ने, अपिल गर्ने र अनुरोध गर्ने काम गरिरहनुभएको छ । म पनि दृढतापूर्वक त्यही मतको पक्षमा छु ।’

उनले अहिले पार्टीमा देखिएको समस्या मिलाउन सक्ने कुरा भनेको अब नयाँ आधारमा नयाँ एकता गर्नुपर्ने पनि आवश्कत्ता औंल्याए । उनले जारी स्थायी कमिटीको बैठकमा प्रकट भएका विषयहरुलाई बढि प्रोभोक गरेर तन्काएर भन्दा कार्यविभाजनमा सन्तुलित जिम्मेवारीहरुको बाँडफाँड गरेर जानुपर्नेमा जोड दिए । उनले भने,‘जस्तो सिनियर साथीहरुको हकमा त्यसको साथसाथै दुई अध्यक्षको बीचमा पार्टी एकता हुँदाका सहमतिहरु, पार्टी एकतापछि विभिन्न चरणमा भएका डिसिजनहरु, सहमतिहरु र सहकार्यका निम्ति यसरी जाउँ भनेर एकले–अर्कोलाई विश्वस्त पारेको कुरातिर फर्केर हामीले नयाँ आधारमा नयाँ एकता खोज्नुपर्छ ।’

सरकार गठन भएपछि पार्टी एकतामा देखा परेका समस्याका कारण पार्टीले नयाँ आधारमा नयाँ एकता खोजेको उनको तर्क छ । ‘अहिले विकसित भएका परिस्थितिहरूलाई सम्बोधन गर्नको निम्ति, कुटनीतिक प्रणालीलाई अझै सुदृढ र व्यवस्थित बनाउनको निम्ति, देशभक्ति भावनालाई अझै जगेर्ना गर्नको निम्ति नेकपा अझै मझबुद र नयाँ आधारमा अझ बढि चाहीँ एकीकृत हुन आवश्यक छ ।’–उनले प्रष्ट्याए ।
नेता पौडेलले आफूहरु नयाँ आधारमा नयाँ एकता गर्ने दिशामा अघि बढिरहेको विश्वास दिलाए । उनले भने,‘सबैको चाहना एकता नै हो । त्यसको पक्षमा हामीले लविङ्ग गरिरहेका छौं । हिजो (शुक्रबार) पनि दुई अध्यक्षबीच तीन घण्टा कुरा भएको छ । उहाँहरुबीच कुरा हुनु । बैठक र छलफल हुनु भनेको पनि अब मिल्ने दिशामा अघि बढ्नु हो । आजपनि विभिन्न चरणमा छलफल भएका छन् । पार्टीलाई जोगाउनुपर्छ । बचाउनुपर्छ । एकीकरणबाट तलमाथि हुन दिनुहुन्न भन्नेमा नै हामी छौं ।’

अब हुने भनिएको ‘नयाँ आधारमा नयाँ सहमति’ भनेको के हो ? भनेर पत्रकारले सोधेको प्रश्नमा उनले संविधानमा लेखिएका कुरा कार्यान्वयन गर्ने, कोरोनापछिको अर्थतन्त्रलाई बलियो बनाउने भन्नेतर्फ अब पार्टीको बहस हुनुपर्ने स्पष्ट पारे । उनले विदेशबाट फर्किएर आउने लाखौं युवाहरुलाई रोजगारी सिर्जना गर्ने कुरातर्फ पार्टी र नेताहरु बढि गम्भीर र जिम्मेवार बन्नुपर्ने बताए । अबपनि पार्टीलाई कुर्सी र पदको खेलमा लैजान नहुने उनको तर्क छ ।

उनले भने,‘फेरि पनि पदको निम्तिमात्रै छलफल गरेर जनताले छुट दिँदैनन् । कम्युनिष्ट पार्टी स्थापनाको यो ७० वर्षको ईतिहासमा धेरै जना साथीहरुको योगदान छ । त्यो कुरालाई कसैले पनि नजरअन्दाज नगरौं ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *