कमल थापाको प्रस्ताव: राजादेखि विप्लवसम्म अटाउने नेपाली संस्करणको मौलिक प्रजातन्त्र स्थापनाको लागि बहस आरम्भ गरौं

Sharing is caring!

असोज १, २०७६ ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले धर्मका बीचमा समानता (सबै धर्मलाई बराबरीको स्वतन्त्रता कायम राख्दै) सनातन हिन्दूराष्ट्र कायम गर्ने, तथा राजादेखि विप्लव माओवादीसम्म अटाउनसक्ने नेपाली संस्करणको मौलिक प्रजातन्त्र स्थापनाका निमित्त बहस आरम्भ गर्न प्रस्ताव राखेका छन् ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष थापाले यस्तो प्रस्ताव राखेका हुन् । उनले भने,‘नेपालको संविधान–२०७२ जारी भएको चार वर्ष पुरा भएर पाँचौं वर्ष प्रवेश गर्न लागेको यस अवसरमा म राजनीतकि दल, नागरिक समाज, र आम जनतासमक्ष राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट एउटा गम्भिर प्रस्ताव राख्न चाहन्छु, १३ वर्षको राजनीतिक अभ्यास र चार वर्षको संवैधानिक अनुभवलाई दृष्टिगत गर्दै सबै धर्मका बीचमा समानता, सबै धर्मलाई बराबरीको स्वतन्त्रता कायम राख्दै सनातन हिन्दूराष्ट्र कायम गर्ने, तथा राजादेखि विप्लव माओवादीसम्म अटाउनसक्ने नेपाली संस्करणको मौलिक प्रजातन्त्र स्थापनाका निमित्त बहस आरम्भ गरौं । र, राष्ट्रिय सहमति कायम गरि अघि बढौं भन्ने प्रस्ताव म राजनीतिक दल, नागरिक समाज र आम नागरिक जनतासमक्ष राख्न चाहन्छु ।’

संविधान जारी भएर नयाँ संविधानबमोजिम करिब दुई तिहाई बुहमतको सरकार गठन भैसकेका दुई वर्ष पुग्न लाग्दापनि आम जनताले सकारात्मक परिवर्तनको अनुभति गर्न नपाएको अध्यक्ष थापाको भनाई छ । क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले भ्रष्टाचार, बेरोजगारीको समस्या, गरिबी, धर्म परिवर्तन, सबर्वसत्तावादका प्रारम्भिक संकेत, राष्ट्रिय अखण्डतामाथिको चूनौति र माओवादीको पूनरत्थानजस्ता समस्याहरु हाल मुलुकसामु देखा परेको पनि टिप्पणी गरे ।

उनले भने,‘विकसित घटनक्रमबाट स्पष्ट हुन्छ कि हामीले विगत १२, १३ वर्षदेखि अवलम्बन गर्दै आएको मार्गचित्रमा, संवैधानिक अभ्यासमा कहीँ–कतै त्रुटिहरु छन् । त्यसर्थ, कसैलाई पनि निषेध नगरी सबै अटाउनसक्ने नेपाली संस्करणकै मौलिक प्रजातन्त्रको विकास गरौं । पश्चिमा मुलुक वा छिमेकी मुलुकको अन्दानुकरण गरेर जानुको सट्टा नेपालको प्राचिन गौरव, वैदिक कालदेखिका मूल्य र मान्यताहरुबाट समेत अभिप्रेरणा लिएर राजनीतिक–सामाजिक व्यवस्था स्थापना गर्नु उपयुक्त हुन्छ भन्ने हामीलाई लागेको छ ।’

थापाले आफ्नो पार्टीको बारेमा प्रकाश पार्दै संविधान निर्णयार्थ प्रस्तुत हुँदा विपक्षमा मतदान गर्ने एकमात्र पार्टी तत्कालिन राप्रपा नेपाल रहेको सुनाए । उनले थपे,‘तर, ९० प्रतिशतभन्दा बढि बहुमतबाट संविधान पारित भएपछि जनताको सर्वोच्चता, प्रजातान्त्रिक मूल्य र मान्यतालाई आत्मसात् गर्दै आफ्ना फरक मतलाई कायम राखेर राप्रपाले संविधानलाई आलोचनात्मक समर्थन गरेको हो । संविधान र संवैधानिक व्यवस्थासँग सहकार्य गरेर अघि बढ्ने नीति अवलम्बन गर्यो । संविधानमा हस्ताक्षर गरेर आफ्नो पनि स्वामित्व कायम गरेको छ । हाम्रो केही मूलभुत मान्यताहरुमा मतभेद छ । हिन्दूराष्ट, राजसंस्था, सुदृढ स्थानीय स्वायत्तताजस्ता विषयमा हामी अहिलेपनि प्रतिबद्ध छौं ।’

तर, आफूहरु यी मूल्य र मान्यताहरु स्थापनाको लागि विद्रोहको बाटो नभई संविधानकै परिधिभित्रबाट जनताको अभिमत प्राप्त गरेर प्रजातान्त्रिक ढंगबाटै गर्ने पक्षमा रहेको पनि थापाले विश्वास दिलाए । ‘यो हाम्रो मान्यता हो । यो मान्यतामा हामी अहिलेपनि निरन्तर प्रतिबद्ध छौं ।’–थापाले भने,‘फरक मतका बावजुद संविधान निर्माणमा हामीले रचनात्मक र सकारात्मक भूमिका निर्वाह गर्यौं । अब संविधान कार्यान्वयनमा पनि आफ्नो फरक मत कायम गर्दै हाम्रो सकारात्मक सहयोग हुने कुरा म विश्वास दिलाउन चाहन्छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *